नेपालमा अत्यन्त सुस्त इन्टरनेट

काठमाडौं, २६ फागुन । इन्टरनेट सुस्त गतिमा चल्ने देशहरूमध्ये नेपाल विश्वकै दोस्रो नम्बरमा पर्छ । करिब २२ वर्ष अघि नेपाल इन्टरनेटमार्पmत् विश्वसँग जोडिन पुगेको हो । पछिल्लोसमय नेपालमा इन्टरनेट प्रदायक कम्पनीहरू १ दर्जनभन्दा बढी छन् तर आधादर्जन जतिले मात्र सेवा दिइरहेका छन् ।

२ सय ५६ एमबिपिएस स्पिडको इन्टरनेट जोडेकोमा त्यसको आधा स्पीडमा पनि नचल्ने भन्दै सेवाग्राहीले धेरै नै गुनासो गर्ने गरेका छन् । नेपालमा अहिले वल्र्डलिंक, सुबिसु, भायानेट, वेभसर्पmर, ब्रोडलिंक, आइटेललगायतका कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् ।

ग्राहकको गुनासोको विषयमा कुरा गर्दा उनीहरू इन्टरनेटको गतिमा कुनै पनि समस्या नभएको दाबी गर्छन् । नेपालमा झन् लोडसेडिङको बेला धेरै नै सुस्त गतिमा चल्ने गरेको छ । कहिलेकाहीँ प्रविधिक समस्याका कारण मात्र प्रयोगकर्ताले समस्या खेप्नुपरेको तर सेवाग्राहीले माग गरे बमोजिमको स्पिडमा कमी नआएको कम्पनीहरूको दाबी छ ।

सेवाग्राहीले भने बिहानभन्दा साँझ इन्टरनेट नै नचल्ने गरेको बताउँदै आएका छन् । जावलाखेलका अमित महर्जनले आफूले साँझपख कहिल्यै सहज तरिकाले इन्टरनेट चलाउन नपाएको गुनासो गरे ।

‘लोडसेडिङ भएको समयमा पनि हामीले आफ्ना ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएका छौँ,’ भायानेटका म्यानेजर अजिज श्रेष्ठले भने, ‘फाइबर अप्टिक्स भएका कारण लोडसेडिङले खासै असर पारेको छैन ।’ उनले ग्राहकले भने बमोजिमकै स्पिडमा नेट प्रदान गरेको दाबी गरे ।

‘हाम्रो समस्या भनेको कहिलेकाहीँ हुने प्राविधिक गडबडीमा मात्र हो,’ उनले भने, ‘यस्तो समस्या भएमा हामी ग्राहकलाई खबर गर्छौं । साथै कुनै कारणले इन्टरनेटको केबल चुँडिएमा भने स्थिति हेरेर समस्याको समाधान गर्ने गरेका छौँ ।’

आइटेलले पनि लोडसेडिङका कारण केबल र फाइबर इन्टरनेट प्रयोगकर्ताले हालसम्म कुनै प्रकारको समस्या भोग्नु नपरेको बताएको छ । आइटेलका एक कर्मचारीले भने, ‘अन्तर्राष्ट्रियस्तरमा इन्टरनेटमा कुनै समस्या भएमा मात्र हाम्रा ग्राहकलाई केही असहजता हुन्छ । नत्र भने कुनै प्रकारको समस्या छैन ।’

केबल इन्टरनेट प्रयोगकर्ताले भने ‘ब्याकअप’ समस्याका कारण कहिलेकाहीँ अप्ठ्यारो हुने उनले बताए । ‘बत्ती नभएका बेला केबल इन्टरनेटमा कहिलेकाहीँ समस्या हुने गरेको छ’ सुबिसुकी सुपरभाइजर संगीता खड्काले भनिन, ‘अप्टिकल फाइबर इन्टरनेट प्रयोग गर्दा समस्या छैन । प्राविधिक कारणले मात्र ग्राहकलाई समस्या हुन्छ । लोडसेडिङ बढेपछि धेरैजसो ग्राहकले इन्भर्टर प्रयोग गर्दै आएका छन् । त्यसैले कुनै खासै समस्या छैन ।’

साथै कम्पनीसँग १० घन्टासम्मको ब्याकअप सुविधा भएका कारण प्रयोगकर्ताले कुनै प्रकारको समस्या झेल्नु नपर्ने खड्काले बताइन् । उनले भनिन्, ‘कुनै कारणले केबलमा समस्या आएमा पर्याप्त जनशक्ति भएका कारण छिटोभन्दा छिटो समस्या समाधान गर्न हामी तत्पर छौँ । कुनै पनि प्रकारको समस्याको हामी २४ घन्टाभित्र नै समाधान गर्छौं ।’

‘लोडसेडिङले सेवामा खासै असर गरेको छैन,’ वल्र्डलिंककी रिजु शाक्यले भनिन्, ‘नाकाबन्दीका समयमा केही असहता भएको थियो । हाल हामी जेनेरेटरले ब्याकअप दिइरहेका छौँ । प्रयोगकर्ताले पनि राउटर चलाउन इन्भर्टरको प्रयोग गर्ने गरेका छन् ।’

‘ब्याकअप भएका कारण इन्टरनेट सेवा दिन त्यस्तो खासै समस्या छैन,’ वेबसर्फरका संचित खड्काले भने, ‘हामीले निरन्तर सेवा दिँदै आएका छौँ ।’ इन्टरनेट प्रदायक कम्पनीहरूले सेवामा समस्या नभएको र कहिलेकाहीँ प्राविधिक समस्या मात्र आउने गरेको दाबी गरे पनि सेवाग्राही भने उनीहरूको सेवाबाट सन्तुष्ट छैनन् । पैसा खर्च गरेर नेट जोडे पनि आपूmले चाहे जति स्पिडमा नचलेका कारण दिक्क भएका छन् ।

एउटा ग्राहकलाई दिएको लाइनबाट नै अर्को ग्राहकलाई सोही स्पिडको सेवा दिने गरेका कारण सुस्त हुन पुगेको एक इन्टरनेट प्रदायक कम्पनीमा काम गरेर हाल कतारमा रहेका एक नेपालीले भने । उनले इन्टरनेट प्रदायक कम्पनीहरूलाई अनुगमन गरी यस्ता प्रकारका काम बन्द गर्नुपर्नेमा सबैको ध्यान जानुपर्ने बताए । उपभोक्ता ठगेको आरोपमा केही कम्पनीमाथि सेवाग्राहीले कारबाहीको माग गर्दै प्रहरीमा समेत उजुरी दिएका छन् । इन्टरनेट प्रदायक संस्थाहरूमा प्रहरीले छिट्टै छापा मारेर इन्टरनेट स्लो हुनुको कारण माग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया