छिचिमिराको एक दिन

kirati spandan copy

वर्षौदेखि माटो भित्रै दबिएर कति बस्छौ ?
आउ ! वर्षातले जमिन भिजाएको छ
स्वतन्त्र भएर, एक छिन पखेटा फिजाएर
माथिमाथि उड
कति सहन्छौ यो माटोको गन्ध
तिम्रो पनि रहर होलान् आकाश छुने
सिर्फ, आज एक दिन पखेटा पलाएको छ
चाहे जति उड्न सक्छौ !
चाहे जति आकाश र जमिनको दुरी नाप्न सक्छौ
धमिराले खाइसकेको
वर्षौदेखिको अस्तित्वलाई मुक्त गर्न सक्छौ ।
न पलाउनु थियो पखेटा पलाइसकेपछि
उड्नु नै तिम्रो जित हो !

त्यसैले, तिम्रो पखेटा पलाएको दिन
मुक्तिदिन हो तिम्रो
वर्षातले जमिन भिजाएको छ
आउ ! पखेटा फिजाएर माथिमाथि उड
अन्तिम दिन अर्थात्
तिम्रो पखेटा पलाएको दिन
तिमी स्वतन्त्र उड्नु नै भ्यागुताहरूको मृत्यु हुनु हो !

प्रतिक्रिया