ला–लिगामा रियलको सहज जित

मड्रिड । स्पेनिस ला–लिगाअन्तर्गत बुधबार राती भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले पुछारको लेभान्टेलाई ३–१ ले हराएको हो । पहिलो हाफको ३४औँ मिनेटमा रियलले अग्रता लियो । पेनाल्टीको अवसरलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै मड्रिडलाई सुरुआती अग्रता दिलाए । ३८औँ मिनेटमा मारिनोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसको १ मिनेटपछि ब्रुम सिल्भा एकोस्टाले लेभान्टेका लागि १ गोल फर्काए । पहिलो हाफमा २–१ को अग्रता लिएको रियलका लागि इन्जुरी समयमा इस्कोले गोल गर्दै ३–१ को जित दिलाए । जितपछि तेस्रो स्थानको रियल मड्रिडको २७ खेलबाट ५७ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ । १ खेल कम खेलेको बार्सिलोनाको ६६ अंक छ ।

दोस्रो स्थानको एथलेटीको मड्रिडको २७ खेलबाट ६१ अंक छ । पुछारको लेभान्टेको भने २७ खेलबाट मात्रै २० अंक छ । बुधबार राती नै भएका खेलमा भिल्ला रियल र सेल्टा डी भिगोले गोलरहित बराबरी खेले । ५३ अंकसहित भिल्लारियल चौथो तथा ४२ अंक जोडेको सेल्टा छैटौँ स्थानमा छन् । यस्तै अरू खेलमा एथलेटीको बिल्बाओले डिप्रोटिभो डी ला कोरुनालाई ४–१, भ्यालेन्सियाले मालागालाई २–१ र सेभिल्लाले एइबरलाई १–० ले हरायो । (सौस)

प्रतिक्रिया