तीन सहसचिव महावाणिज्यदूत

काठमाडौं, १९ फागुन । सरकारले तीनजना सहसचिवलाई महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले सूचना तथा संचार मन्त्रालयका सहसचिव एकनारायण अर्याललाई कलकत्ता, पर्यटन मन्त्रालयका सहसचिव गोविन्द कार्कीलाई ल्हासा र सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईलाई हङकङको महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले भुकम्प प्रभावितहरूलाई २ लाख रूपैयाँ अनुदान दिने र पुनर्निमाणका लागि जग्गा प्राप्ति सम्बन्धी कार्यविधि तथा पुनर्निमाण सम्बन्धी नियमावली स्वीकृत गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए । सरकारले एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव ढुंगेललाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको छ । परिषद्को उपाध्यक्ष नियुक्त ढुंगेल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

अख्तियारको ध्यानाकर्षण
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महावाणिज्य दूत नियुक्तिको विषयलाई लिएर परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

अख्तियारले के मापदण्ड र कुन प्रक्रियाको आधारमा महावाणिज्य दूतहरूको नियुक्ति गरिएको हो वा हैन स्पष्ट पार्न भन्दै पत्राचार गरेको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए । यसअघि नै आयोगले नेपाल सरकारलाई महावाणिज्य दूतजस्तो पदमा नियुक्ति गर्दा मापदण्ड, ज्ञान, सीप, अनुभवलगायत आधारमा देश र जनताको अधिकतम हितमा हुने किसिमले नियुक्ति गर्न सुझाएको थियो । ‘तर मन्त्रिपरिषद्को बैठकले मापदण्डविपरीत गरेको भन्ने कुरा आएपछि ध्यानाकर्षण गराइएको हो,’ प्रवक्ता पुष्करले भने ।

प्रतिक्रिया