१२औँ दक्षिण एसियाली खेलकुद

phupu copyकाठमाडौं, ३ फागुन । भारतमा जारी १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले दोस्रो स्वर्णपदक जितेको छ । जुडोतर्फको खेलले नेपालको लागि दोस्रो स्वर्णपदक दिलाएको हो । नेपालकी फुपु ल्हामु खत्रीले सोमबार जुडोमा स्वर्णपदक जितेकी हुन । फुपूले ६३ किलोमुनिको तौल समूहमा स्वर्ण जितिन् । ताप्लेजुङकी खत्रीले राउन्ड रोबिन स्पर्धामा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।

फुपूले यसअघि थाइल्यान्डमा भएको चौथो एसियाली युथ गेम्समा कांस्य पदक प्राप्त गरेकी थिइन । उनले २०१३ मा भएका एसियाली युथ गेम्स र २०१४ मा भएको एसियाली खेलकुदमा ६३ किलोमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । स्वर्ण पदक दिलाउने खत्रीका बाबु दोर्जे खत्रीकोे सगरमाथा आरोही थिए । उनको हिम पहिरोमा परेर दुई वर्षअघि ज्यान गएको थियो । २ दिनअघि मात्र हंगेरीको बुढापेस्टमा प्रशिक्षण सकेर सिलोङ आएकी थिइन् । स्वर्ण पदक जितेपछि ताप्लेजुङ हेलेक नौ गुच्छाकी फुपू भन्छिन्, ‘मेरो स्वर्ण पदक मेरो बाबाप्रति समर्पित छ तर यो मेरो जिन्दगीको अन्तिम उपलब्धी होइन । सुरुआत हो । ओलम्पिक मेरो लक्ष्य हो । सबैल अनुमान गरेभन्दा राम्रो गर्ने चाहना छ ।’ बाबु दोर्जेको स्मृतिमा भएको रक क्लाइमबिङ एन्ड माउन्टेनियरिङ प्रतियोगितामा समेत

उनी पाँचौँ भएकी थिइन् । त्यस्तै जुडोकी अन्य खेलाडीले पनि पदक दिलाए । नेपालकी लीला अधीकारी र मनीता प्रधान श्रेष्ठले १२औँ सागमा रजत पदक जितेका छन् । महिला ५२ किलो तौल समुहमा प्रतिस्र्धा गरेकी लीला र ५७ किलोमा प्रतिस्पर्धा गरेकी मनीताले राउन्डरोबीन स्पर्धामा भारतीय खेलाडीसँग पराजयको सामना गरेका थिए भने अन्य सम्पूर्ण प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।

तेक्वान्दो स्वर्णविहीन

नेपालमा आयोजना भएको आठौँ सागदेखि स्वर्ण पदक प्राप्त गर्दै आइरहेको तेक्वान्दो १२औँ दक्षिण एसियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ प्रतियोगिताको ११औँ दिन तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित हुँदै रजतमा सीमित हुन पुगिन् । उनले आफ्नो तौल समूहको  पहिलो खेलमा श्रीलंकाली खेलाडी एस गुणवर्दनेलाई पराजित गरेकी थिइन् भने दोस्रो खेलमा अफगानी खेलाडीलाई ६–५ले पराजित गरेकी थिइन् ।

यस्तै ६२ केजी तौल समूहमा सागकी स्वर्ण विजेता आयशा शाक्य भारतीय खेलाडी मार्गेरिता रेगीसँग सर्घर्षपूर्ण पराजय भोग्न बाध्य भइन् । पहिलो र दोस्रो चरणमा २–१ले अग्रता लिएकी शाक्यले तेश्रो चरणको खेलमा ३–६को अन्तरमा रहेको अवस्थामा महत्वपूर्ण ३ अंक बटुल्दै ६–६ अंकको बराबरीमा खेल टुंगाउँदै गोल्डेन प्रतिस्पर्धामा खेललाई पु¥याइन् । गोल्डेन अंकको लागि भएको खेलमा उनले रेगीलाई ०–३ अंक दिँदै स्वर्णबाट वञ्चित हुन पुगिन् ।

सिलोङको नेगरिम्स कभर्डहलमा भएको पुरुषतर्फको ८० केजी तौल समूहमा सक्षम कार्की भारती खेलाडी नवजित मानसँग पराजित हुँदै रजतमा खुम्चिए । उनी नवजितसँग ७–१ अंकले पराजित भए । उनले अफगानिस्तानका खेलाडी जि. काफायातुल्लाहलाई २–० र भुटानी कुसुङ वांगदीलाई १०–३ ले पराजित गरेका थिए । यस्तै पुरुषको ६३ केजीमा वीरबहादुर महरा अफगानी अहमद अली बक्सीसँग पराजित भए । श्रीलंकाका दिलान संजिवा र भुटानका छिमी वाङचुकलाई पराजित गरेका उनी बक्सीसँग ९–१२ अंकले पछि पर्दै रजत पदकलाई आत्मसाथ गर्न बाध्य भए । यसका साथै तेक्वान्दो ७ रजतका साथै ३ कांस्य पदकमा सीमित हुन पुग्यो ।

महिला फुटबलमा लज्जास्पद हार 

सागअन्तर्गत महिला फुटबलबाट स्वर्ण ल्याउने सपना हारसँगै अधुरै रहने भएको छ । सोमबार भएको फाइनलमा नेपाल भारतसँग फराकिलो हार पराजित भएसँगै स्वर्ण सपना अधुरै रह्यो । नेपालले हारपछि रजतमा चित्त बुझाएको छ । भारतसँगैको समूह चरणमा नेपालले गोलरहित बराबरी खेलेको थियो । सोही अनुरूप नेपालले फाइनलमा भारतलाई हराउने अनुमान गरिए पनि पूरा भएन । नेपालले भारत सामू ४–० को फराकिलो हार बेहोरेको छ । जवाहरलाल नेहरू स्टेडियम सिलोङमा भएको खेलमा भारतले पहिलो हाफमा एक गोल गरेको थियो ।  तर, दोस्रो हाफमा पनि नेपाललाई स्तब्ध पार्दै भारतले ३ गोल थप्यो ।

यसअघि खेलको ३२औँ मिनेटमा भारतले पहिलो गोल गरेको थियो । पहिलो हाफमा भारत १–० ले अगाडि रह्यो । भारतले दोस्रो हाफको ५०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पा¥यो । पुनः भारतले खेलको ७३औँ र ८०औँ मिनेटमा थप २ गोल गरेको हो ।  ५ देश सहभागी खेलमा राउन्ड रोबिनका आधारमा शीर्ष स्थानमा नेपाल र दोस्रो स्थानमा रहेर भारत फाइनलमा प्रवेश गरेका थिए । लिग चरणमा नेपालले श्रीलंकालाई ४–०, बंगलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । नेपालले सागमा अहिलेसम्म २ स्वर्ण, २३ रजत र २४ कास्य गरी ४८ पदक जितेको छ ।

प्रतिक्रिया