लघुकथा : कुकुर्नीको कथा

चिसो रात । शहरभन्दा धेरै पर । बजारभन्दा पनि धेरै पर । गाउँको कुनै एकान्त कुनामा । आफ्ना छाउराहरूलाई लाम्टामुनि लपेटेर एउटी कुकुर्नी सुतिरहेकी थिई । तर आँखामा निँद थिएन । सोचमग्न थिई ऊ ‘आफ्नै जातका तर रूप रङ्ग र आकारमा फरक केही कुकुरहरू महलमा बस्छन् रे । आरामदायी जीवन बिताउँछन् रे । माया, ममता र स्याहार राम्रो पाउँछन् रे ।’ यस्तै सुनेकी थिई, उसले । आफ्नो जीवनमात्र यस्तो किन भयो होला…भन्ने बारेमा राम्रो सोच्नै पाएकी थिइन, छाउराछाउरी काइँकाइँ–कुइँकुइँ गर्न थालिहाले । “के भो तिमेर्लाई ?” उसले बुझ्न खोजी । कुनै निदाएका रहेनछन् । ‘आमा कथा भनन’ भनेर कर गर्न थाले । जाडोको मौसम,उसमाथि रातको समय । कुनै कथा भन्दिन पाए छाउराछाउरीलाई निदाउने मेलो त हुन्थ्यो । तर के कथा भन्ने ? उसलाई आफ्नो जीवन भोगाइ पनि त एउटा कथा नै हो नि जस्तो लाग्यो । र, त्यही कथा भन्न सुरु गरी ।

“नानी, हो । आज म मेरै कथा भन्छु ,सुन । म सानै थिएँ । हामी एकचोटि जन्मेका ५ जना यस्तै चिसा रातहरूमा जाडाले काइँकाइँ –कुइँकुइँ गर्दै हुर्कँदै थियौँ । ‘जिमाराजले रातभरि करा’र सुत्न दिएनन्..’ भन्दै घरका मान्छेले हामीलाई लाने मान्छे खोजे । मलाई छाउरी भनेर कसैले लगेनन् । त्यो दिन म जोगिएँ । अरू ४ वटा सन्तानको बिछोडमा आमा रातभरि रोइन् । म पनि रोएँ । भोलिपल्ट अलच्छिन लायो भनेर आमालाई आग्लै आग्लाले कुटेर लखेटे । लात सहेर पनि घात सहेर पनि आजीवन एक गाँस जुठोमा यो घरको सेवा पु¥याइ रहेकी मेरी आमा त्यो दिनदेखि फर्किनन् ।

त्यो रात मेरो जीवनको कति कष्टपूर्ण रात थियो । म कसरी बयान गरुँ । त्यसको भोलिपल्ट खोलापारिको जङ्गलमाथि गिद्धहरू घुमेका देखिए । मेरी आमा कुटाइको चोटले त्यहाँ गएर मरेकी कुरो मैले बेलुकी सुनेँ । म टुहुरी अबलाले त्यसपछि कति हण्डर खेप्नु प¥यो भनेर साध्यै छैन । सृष्टि आमाबिना चल्दैन । अचेल छोरी नभइ पछि आमा हुँदैन । तर यी मान्छेहरू छोरी जन्मँदा दुःख मान्छन् । छोरीलाई हेला गर्छन् । सृष्टिको यो शास्वत नियमलाई कुकुर जति पनि नबुझेको देख्ता यी मान्छेका जातलाई थुक्न मन लाग्छ ।

नानीहरू हो, सुनिराख । मान्छेका पनि दुई खाले वर्ग हुन्छन् । कोही अर्काको रगत पसिनामा मोटाउँछन् । कोही आफ्ना रगत पसिना लुटाउँछन् । चुसाहाहरू अर्काको श्रम चुसेर विलासी जीवन बिताउँछन् । धनीमानीका घरमा ,खेतमा र फ्याक्ट्रिहरूमा काम गर्ने कुनै पनि नोकर, खेताला र मजदुर जस्ता मान्छेहरूको उन्नति मैले आजसम्म कतै देखेकी छैन । एकथरि मान्छेकै जातको त त्यो हाल छ भने हामी कुकुरहरूको दिन त कहिले आउला र खै । यी विलासी जीवन बिताउने मान्छेका जातको कुरा जति गरे पनि थोरै हुन्छ । कसैलाई धेरै उच्छृङ्खल भनेर दाँज्नु प¥यो भने ‘कस्तो कुकुर जस्तो छाडा’ भनेर हामीसँग दाँज्छन् । हेर नानी हो , प्रकृतिलाई नबुझ्ने अप्राकृतिकहरू यस्तै कुरा गर्छन् । कुकुरसँग कुकुरको सम्बन्ध के अनैतिक हो ? पशुकरणी गर्ने र समलिङ्गी सम्बन्ध गाँस्ने मान्छेका जातहरू नैतिक ? छिः भन्नै पनि लाजमर्दो कुरा । मैले तिमीहरूलाई पाउनु थियो । यो सृष्टिलाई चलाउनु थियो । मैले कुकुरसँग सम्पर्क गरेँ। त्यो कदापि मेरो रोमान्स थिएन । एउटा प्राकृतिक निरन्तरता थियो । कैयौँ कुकुरहरूको सङ्घर्षबाट छनौट भएको वीर कुकुर सन्तान उत्पादनका लागि योग्य ठहरिन्छ, हाम्रो कुकुर समाजमा ।

हामी उत्कृष्ट काम गरिरहेका हुन्छौँ त्यो समयमा । खास सृष्टिकालमा । हामीलाई लाज लाग्दैन । उचित कामका लागि डराउनु पर्ने र लुक्नु पर्ने बाध्यता हामी देख्तैनौँ । यसैलाई उनीहरू अश्लिल भन्छन् । कस्ता छन् उनीहरू ? हस्तमैथुनका लागि एकान्त खोज्ने, मुख मैथुन, गुदा मैथुन र असुहाउँदा हरकतहरू देखाउने, भिडियो कि के जाति बनाउने र फिँजाउने । के उनीहरू चाहिँ श्लिल ? भन्न थालि त हालेँ । हेर न, तिनीहरूको जातमा न समय छ , न सन्तुष्टि छ । बेला न कुबेला ,ठाउँ कुठाउँ तिनीहरू छिल्लिन्छन् । के तिनीहरूको संसर्ग सन्तान उत्पादनको छेक पारेर मात्र हुन्छ ? लौ भनुन् । म तिनीहरूलाई चुनौति दिन्छु । बेश्यालय खोलेका छन् , तिनीहरूले । घाटको निम्तो पाइसकेको बूढो बालिका बिहे गर्न अघि सर्छ । एउटीको लोग्ने अर्काकी स्वास्नी पछ्याउँछ । एउटाकी स्वास्नी अर्कीको पोइसँग सल्किन्छे । के यो सन्तान उत्पादनको लागि हो ? सृष्टिका खातिर हो ? तेरिमा, यो त रासलीला हो । तिनेर्का भगवान खाल पनि यस्तै थिए रे । उस्तैले त बनाका ।

मान्छेका जोडीले छोराछोरीलाई छातिमा टाँसेर, ‘बाबु, हामीले तिमीलाई जन्मायौँ..’ भन्दै गालामा च्वाक्क म्वाइँ खाको देख्ता हाँस पो उठ्छ मलाई त । त्यो त रासलीलाको परिणाम हो । त्यही भएर त यी भातेहरूले गर्भपतनलाई बैधानिक बनाए । यति नगरे त जति बेला पायो त्यति बेला जहाँ पायो त्यहीँ कसरी लठारिनु । थुक्क, मुर्दारहरू । लुक्नु –लुकाउनु , छिप्नु–छिपाउनु , पर्दा पछाडि गलत काम गर्नु र दोष जति अर्कालाई थोपर्नु मान्छेको चरित्र हो । आफू अनैतिकताको भड्खालामा टुपीसम्म जाकिएर अरूलाई गलत देख्नु ? चोरले अर्कालाई पनि चोरै देख्छ भनेर उखान बनाउने पनि तिनै हुन् है हुन त । कन्दनी खुस्केको था’ नपाउने । त्यस्ताका कुरा पनि के गर्नु । सम्झिँदा पनि वाक्क लाग्छ ।…. ए सुन्दै त छौ ?” त्यस्ता नाथे मान्छेका कुरा के सुन्नु भनेर हो कि किन हो, छाउराछाउरी अघि नै निदाइसकेछन् ।

प्रतिक्रिया