झापा–११ सेमिफाइनलमा

इलाम । इलाममा जारी अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनलमा सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ ले सेमिफाइनलको यात्रा तय ग¥यो । झापाका लागि खेलको १४औँ मिनेटमा योगेस गुरुङले गोल गरे । त्यसपछि झापा १–० गोलले अगाडि रह्यो । तथापि खेलको ३४औँ मिनेटमा साहाराका अफ्रिकन खेलाडी भिक्टोले गोल गर्दै बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटमै झापाका विशाल राईले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।

जितपछि झापाका प्रशिक्षक भगिरथ आले (मामा)ले पाएको अवसरलाई सदुपयोग भएका कारण खेलमा जित हात पारेको प्रतिक्रिया दिए । साहारा क्लबका प्रशिक्षक किरण श्रेष्ठले प्राप्त अवसर सदुपयोग हुन नसक्नु नै मुख्य हारको कारण भएको बताए । झापा–११ ले २० गते रुपन्देही–११ सँग सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र शेर क्लब दार्जीलिङ भारतबीच पतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टिमले ३ लाख ५० हजार र उपविजेता टिमले १ लाख ७५ हजार प्राप्त गर्नेछ । (सौस)

प्रतिक्रिया