अलैँचीमा आकर्षण बढ्दै

elainchi copyइलाम, २१ पुस । पूर्वी इलामको प्याङका कृषकमा अलैँची खेतीको आर्कषण बढ्दै गएको छ । केही वर्षअघि मकै, कोदोलगायत फलाउने बारीमा अलैँची देखिन थालेको छ । यसअघि मरेर सखाप भएको अलैँची पुनः पलाउन थालेपछि कृषकको त्यसतर्फ आकर्षण बढेको हो ।

प्याङ–४ का प्रायः सबै घरपरिवारले आफ्ना बारीमा अलैँची खेती गर्न थालेका छन् । उनीहरू अन्य बालीभन्दा सजिलो र आर्कषक मूल्यमा बिक्री हुने भएकोले अलैँची खेतीमा लागेका हुन् । प्याङ–४ का मनप्रसाद सोङ्मीले २५ रोपनी बारीमा अलैँची लगाएका छन् । उनले यो वर्ष अलैँचीको विरुवा बेचेर मात्र ४ लाख हात पारेका छन् । फलबाट ७ लाख बढी कमाउने उनको अपेक्षा छ ।

अघिपछि रमाइलोमा दिन कटाउने गाउँका युवासमेत अचेल अलैँची खेतीमा लागेका ओडारेका शिक्षक सुकवीर राई बताउँछन् । राईले १५ रोपनीमा अलैँची लगाएका छन् । राम्रो आम्दानी लिन सकिने भएपछि राई अलैँची खेतीमा लागेका हुन् । राम्रो आम्दानीको स्रोत भएकोले अलैँची खेतीलाई जोड दिएको उनी बताउँछन् ।

यस्तै मझुवाका लालबहादुर राईले पनि परम्परागत खेती मासेर बारीमा अलैँची लगाएका छन् । उनले १० रोपनी जग्गामा अलैँची रोपेका छन् । राईले यो वर्ष पहिलोपटक ४ लाखको अलैँची बेचेका छन् । माबुका राजेन्द्र राईले सोयाङमा २५ रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर अलैँची खेती सुरु गरेका छन् । उनका अनुसार अलैँचीले फेरि राम्रो उत्पादन दिन थालेपछि कृषकमा अलैँची खेतीको आकर्षण बढेको हो । यो क्षेत्रमा भर्लाङ, सलकपुरे जातको अलैँची लगाउने गरेका छन् । राम्रो आम्दानी हुने भएपछि जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा अलैंचीको खेती गरिँदै आएको छ ।

प्रतिक्रिया