नेपाली टोलीको घोषणा

काठमाडौं, २० पुस । बंगलादेशको ढाकामा हुने बंगबन्धु गोल्डकपका लागि नेपाली फुटबल टिमको घोषणा गरेको छ । विराज महर्जनको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरीएको छ । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै २३ वर्षभन्दा मुनिका खेलाडीलाई छनोट गरिएको छ ।

त्यसैले सिनियर खेलाडीले बंगबन्धु गोल्डकपमा मौका नपाएका हुन् । जसका कारण अखिल नेपाल फुटबल संघ(एन्फा)ले साफका कप्तान अनिल गुरुङ, रोहित चन्द र गोलकिपर किरण चेम्जोङलाई समावेश गरेको छैन् । यससमय चन्द मलेसियाली क्लवमा सम्झौता गर्न क्वालालम्पुर पुगेका छन् ।

नेपाली टिमका गोलकिपरहरू विकेश कुथु, एलेन न्यौपाने र अमृत चौधरी छन् । त्यस्तै डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, मानबहादुर तामाङ, मिडफिल्डरमा अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जाङबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल, तेज तामाङ र फरवार्डमा नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा छन् ।

४ महिनाअगाडी मात्र नेपाली राष्ट्रिय सिनियर फुटबल टोली सम्हालेका प्याट्रिक एजम्स बेल्जियममा छन् । त्यसलै एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक र उपेन्द्रमान सिंहलाई गोलकिपर प्रशिक्षक बनाएको छ । ओसम्सले ट्वीट गर्दै एन्फाले आफ्नो प्रस्तावबारे कुनै चासो नदिएको भन्दै सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् । बंगबन्धु गोल्डकपको समूह ‘ए’मा रहेको नेपालले ९ जनवरीमा मलेसियाविरुद्ध, १२ जनावरीमा श्रीलंकाविरुद्ध र १४ जनवरीमा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया