अझैउस्तै फुटबल मोह

football__001 copyकाठमाडौं, १७ पुस । फुटबललाई खेलको राजा भनिन्छ । त्यसैले विश्वकै लोकप्रिय खेलका रूपमा स्थापित छ फुटबल । मास खेल भएकै कारणले मात्र फुटबलप्रति सबैको नजर भने पुगेको होइन । बेला–बेला आफ्ना जादुमयी खेल कौशल प्रदर्शन गर्ने खेलाडीका कारण पनि फुटबलले लोकप्रियता कमाएको इतिहास साक्षी छ । शताब्दीका फुटबल हस्ती पेले र म्यारोडोनाको जीवन र खेल कौशलका कारण पनि फुटबलप्रति विश्वकै नजर पुग्यो । यसलाई स्वाभाविक रूपमा लिन सकिन्छ । यही कारणले पनि २१औँ शताब्दीका पुस्ता माझ फुटबल निकै लोकप्रिय भइसकेको छ । नेपालमा पनि फुटबल सबैभन्दा लोकप्रिय खेल हो । नेपाली फुटबलले एक समय निकै राम्रो उचाइ लिइसकेको थियो । त्यसमा पनि कयौँ व्यक्तिहरूको योगदान रहेको छ । नेपाली फुटबललाई लोकप्रिय बनाउने खेलाडी मध्येको एउटा नाम हो, प्रज्वलप्रताप क्षत्री ।

अखिल नेपाल फुटबल संघले जब एन्फा एकेडेमीको सुरुआत ग¥यो त्यसपश्चात नेपाली फुटबलले थप उचाइ लियो । ०५२ सालतिर एन्फाको पहिलो ब्याजमा ४० जना युवा एकेडेमीमा थिए । पहिलो ब्याजमा प्रदीप महर्जन, अञ्जन केसी, विक्रम महर्जन, नेपाल आर्मीका कप्तान विकास मल्ल र प्रज्वलप्रताप क्षत्रीलगायत थुप्रै राम्रो फुटबलर उत्पादन भए । जुन ब्याज ८ वर्षसम्म एन्फा एकेडेमीमा रहे । एन्फाबाट बाहिरिएर पाँच–सात वर्ष लिग खेलेपछि ती उत्कृष्ट ब्याजका खेलाडी विस्तारै खेलाडी जीवनबाट पलायन भए । तीमध्ये केही फुटबलमा योगदान गर्ने लक्ष्य बोकेर फुटबल प्रशिक्षक बने भने धेरैले फुटबल छोडेर विभिन्न पेसा अँगाल्दै खेल क्षेत्रलाई नै अलबिदा गरे ।

एन्फा एकेडेमीका केही खेलाडी अहिले पनि नेपालमै युवा फुटबलर उत्पादनमा सक्रिय छन् । यसकै एक उदाहरण हुन्, प्रज्वलप्रताप क्षत्री । म्याग्दीका क्षत्री १२ वर्षकै उमेरमा फुटबलतिर प्रवेश गरेका थिए । कलिलो उमरेमा रहरैरहरमा फुटबलमा लागेका उनले यतिका समयसम्म फुटबलमा नै रहन्छु भन्ने कल्पनासमेत गरेका थिएनन् । एन्फाबाट बाहिरिएपछि उनले ब्वाइज स्पोट्र्स, ब्वाइज युनियन क्लब, जाउलाखेल हुँदै संकटाबाट व्यावसायिक फुटबल खेले । उनको पोजिसन भने मिडफिल्ड र डिफेन्स थियो । तर, उनी व्यावसायिक फुटबलमा लामोसमय भने टिक्न सकेनन् । कारण थियो, घोडाको चोट । आफ्नो सात वर्षको व्यावसायिक फुटबल करियरमा निकै निपूर्णतापूर्वक डिफेन्स गरेका क्षत्रीले त्यो चोटलाई भने लामो समयसम्म डिफेन्स गर्न सकेनन् । त्यही चोटकै कारण २५ वर्षकै उमेरमा उनले आफ्नो व्यावसायिक फुटबल करियरलाई बिट मार्नुप¥यो । धेरै फुटबलर घाइते भएपछि फुटबल करियरलाई बिट मार्दै अन्य व्यवसायतिर लाग्छन् । कोही विदेश पलायन हुन्छन् । तर, क्षत्रीमा भने गज्जबको फुटबल प्रेम थियो । त्यसैले त उनले प्रशिक्षणतिर लाग्ने निधो गरे ।

फुटबलमा नै भविष्य कोर्ने निधो गरेका क्षत्री प्रशिक्षणतिर लागे । उनले ०६९ सालमा एएफसी प्रशिक्षकको ‘सी’ लाइसेन्स लिए । त्यसको केही समयपश्चात ‘बी’ लाइसेन्स पनि । यसरी फुटबल कानुनअनुरूप नै प्रशिक्षण पेसातर्फ लागे क्षत्री । नेपाली फुटबललाई आफूले सकेको योगदान गर्ने अठोट बोकेका क्षत्रीले केही अघिदेखि नै जुनियर फुटबल एकेडमी प्रशिक्षण केन्द्र सुरुआत गरिसकेका थिए । लाइसेन्स लिएपछि उनी माहावीर क्लबको प्रशिक्षणतर्फ लागे । उनी उक्त क्लबमै आवद्ध छन् । आफूभित्रको फुटबल मोहकै कारण क्षत्री यतिमै सीमित रहेनन् । उनको उद्देश्य नै नेपाल उत्कृष्ट फुटबलर उत्पादन गर्नु हो । त्यहीअनुरूप उनी हाल नेपालमा जुनियर फुटबल उत्पादनमा व्यस्त छन् । त्यसैले उनको दैनिकी बनेको छ, फुटबल प्रशिक्षण ।

chhetri2 copyहिजोआज बालुवाटारमा रहेको जुनियर फुटबल एकेडेमीमा करिब सयजना जुनियर लेभलका फुटबलरको माझ हुन्छन् क्षत्री । क्षत्रको एकेडेमी अहिले नेपालकै उत्कृष्ट जुनियर फुटबलर प्रशिक्षण केन्द्रमध्यको एक हो । एकेडेमीमा उनले फुटबलको आधारभूत तालिम, स्किल टेस, थेउरी क्लास, प्राक्टिकल र पे्रmन्ड्ली म्याचको माध्यमबाट प्रशिक्षण गर्छन् । उनको एकेडेमी चीन, हङकङ र थाइल्यान्डलगायत थुप्रै अन्तर्राष्टिय प्रतियोगितामा पनि सहभागी भइसकेको छ । एकेडेमीले थाइल्याण्डको चेल्सी एकेडेमी, आर्सनल र थाइल्यान्ड एकेडेमीलगायत थुप्रै अन्तर्राष्टिय प्रतियोगिता खेलिसकेको छ ।

‘फुटबल क्षेत्रबाट नै केही गर्छु भन्ने लक्ष्य लिएर प्रशिक्षण सुरु गरेँ,’ क्षत्री भन्छन्, ‘नेपालमा जुनियर लेभलबाट राम्रो फुटबलर उत्पादन गर्ने मेरो लक्ष्य हो ।’ इमानदार प्रयत्न गर्दै जाँदा सफलता हात लाग्ने विश्वस छ क्षत्रीको । ‘घाइते भएपछि केही समय निरास पनि भएँ,’ विगत सम्झँदै क्षत्रीले भने, ‘तर खेलाडी उत्पादन गर्दै फुटबलमा रहने संकल्प गरेँ ।’ नेपालमा एउटा राम्रो कोच भन्ने लक्ष्य लिँदै सबै त्यागेर एकेडेमीमा प्रशिक्षणमा लागेको क्षत्री बताउँछन् । ‘मसँगै खेलेका प्रायः साथीहरू आ–आफ्ना पेसा रोजे, म यसमा लागिरहेको छु,’ भविष्यप्रति आशावादी क्षत्रीले भने, ‘हेरौँ सोचेअनुरूप नै होला ।’

प्रतिक्रिया