तेस्रो प्रधान सेनापति कपको उपाधि एपिएफलाई

women football winner apfकाठमाडौं । डिफेन्डिङ च्याम्पियन विभागीय टोली नेपाल आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबले तेस्रो अन्तर्राष्ट्रिय प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

भद्रकालीस्थित जंगीअड्डा परिसरमा आइतबार भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । एपिएफको जितमा अनिता बस्नेत र सावित्रा भण्डारीले गोल गरे । बस्नेतले खेलको पहिलो हाफमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाइन भने भण्डारीले खेलको दोस्रो हाफमा एक गोल थप्दै एपिएफलको जित सुनिश्चित गरिन् । उपाधिसँगै एपिएफले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै खेलको निर्धारित समयसम्म आर्मीले गोल गर्न निकै प्रयास गरेता पनि त्यो सफल हुन नसक्दा प्रतियोगितामा उपविजेतामा सीमित बन्दै १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यस्तै सेमिफाइनमा प्रवेश गर्ने दुई टोली नेपाल प्रहरी क्लब र मध्यमाञ्चल महिला फुटबल टोलीले जनही ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । उपाधिमाथि कब्जा जमाएको एपिएफले व्यक्तिगत विधामा पनि वर्चस्व जमायो । प्रतियोगितामा एपिएफबाट उत्कृष्ट प्रशिक्षक रत्नकाजी महर्जन, उत्कृष्ट गोलकिपर अन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर हीराकुमारी भुजेल, उत्कृष्ट फरवार्ड सावित्रा भण्डारी र प्लेयर अफ द म्याच अनिता बस्नेत घोषित भए । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डरको उपाधि भने आर्मीकी दीपा राईले प्राप्त गरिन् ।

त्रिभुवन आर्मी क्लबकी अन्जली वाइबा प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हँुदै १ थान स्कुटर प्राप्त गरिन् । विजेता टोलीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, अखिल नेपाल फुटबल सघंका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । नेपाली सेनाले आयोजना गरेको प्रतियोगिता पुस ६ गतेदेखि सञ्चालन भएको थियो । (सौस)

प्रतिक्रिया