कांग्रेस महाधिवेशनको तयारीमा

पाँचथर, १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरहरी आचार्यले अहिले नेपाली कांग्रेस आसन्न १३औँ महाधिवेशनमा केन्द्रित भएको बताएका छन् । उनले सरकार परिवर्तन अहिले कांग्रेसको एजेन्डा नभएको समेत बताए । सोमबार फिदिममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार परिवर्तनबारे केही नसोचेको स्पष्ट पारेका हुन् ।

पार्टी सभापति अब को हुने ? भनेर पत्रकारले गरेको प्रश्नमा आचार्यले प्रक्रियाले नेतृत्व छान्ने भएकाले त्यसको काम माघबाट सुरु हुने बताएका छन् । उनले अहिले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि महाभूकम्पपछिको नवनिर्माण र पुनर्निर्माण साथै संविधानको कार्यान्वयनमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘त्यसका लागि सत्तारूढ दलहरूले पनि तादरुकता देखाउन जरुरी छ ।’

आचार्यले संविधानसभाबाट संविधान लेख्ने ७ दशकदेखिको प्रयत्न पछिल्लो ८ वर्षको अथक प्रयासपछि पूरा भएको भन्दै सबै नेपालीले संविधानको स्वामित्व ग्रहण गर्नुपर्ने बताए । धेरैका असन्तुष्टिहरू रहे तापनि त्यसलाई संशोधन गर्न सकिने प्रशस्त ठाउँ भएकाले संशोधन मार्फत् असन्तुष्टिलाई क्रमशः सम्बोधन गर्दै लगिने उनको भनाइ थियो । ‘यो संविधान खुला र उदार छ, समेट्न बाँकी कुरालाई बिस्तारै समेट्दै जान सकिन्छ यसको विशिष्ठता यही हो’ उनले भने ।

६ महिना भित्रमा संघीय आयोग बन्ने र त्यसले अहिले उठिरहेको सिमांकन, नामांकनलगायतका समस्याहरूको हल गर्ने बताउँदै आचार्यले चाँडोभन्दा चाँडो आयोग बनाउन सरकारसँग आग्रह गरे । कांग्रेसले संसदमा पेस गरेको संशोधन प्रस्ताव अविलम्ब लागू गर्न सरकारले आनाकानी गरेको भन्दै उनले भने, ‘चित्त नबुझेको केही छ भने भन्नुप¥यो, थप अरू कुरा पनि छन् भने ल्याउनुप¥यो, नत्र लागू गर्नुप¥यो ।’ आचार्यले मधेस आन्दोलनको समाधान पनि संवादको माध्यमबाटै छिट्टै हुने बताए ।

आचार्यले भारततर्फ इंकित गर्दै संविधान बनाउने प्रक्रिया नेपालको नितान्त मौलिक कुरा भएकोले यसप्रति कोही–कसैले पनि आफ्नो स्वार्थ मिसाउन नहुने बताए । उनले भारतले लगाएको अघोषित नाकाबन्दी छिट्टै हट्नेसमेत विश्वास व्यक्त गरे । आचार्य स्थानीय शान्ति समिति पाँचथरले आयोजना गरेको संविधानसम्बन्धी १ दिने अनुशिक्षण गोष्ठीको सिलसिलामा पाँचथर आएका हुन् । यसैबीच आचार्यको उपस्थितिमा सोमबार जिल्ला विकास समितिको सभाहलमा वर्तमान संविधानको सन्दर्भमा अनुशिक्षण गोष्ठीसमेत सम्पन्न भएको छ । आचार्य अनुशिक्षण गोष्ठीकै क्रममा ताप्लेजुङसमेत पुग्ने कार्यक्रम रहेको बुझिएको छ । आचार्यले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय पाँचथरमा कार्याकर्ताबीच भेटघाट गरेका थिए ।

प्रतिक्रिया