नेतृत्व हत्याउन तीन नेताको होडबाजी

काठमाडौं, १२ मंसिर । कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा सभापति हत्याउन अनेक दाउपेच हुन थालेका छन् । सभापतिका लागि अहिले पराम्परागत प्रतिद्वन्द्वी सुशील कोइराला र शेरबहादुर देउवा मैदानमा रहेकै बेला रामचन्द्र पौडेलले पनि इच्छा जाहेर गरेपछि नयाँ तरंग आएको छ ।

पौडेलले गृह जिल्लामा तनहुँमा पुगेर आगामी फागुनमा हुने पार्टीको १३औँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूmलाई समर्थन गर्नुपर्ने बताएपछि कांग्रेसवृत्तमा नयाँ तरंग आएको हो । उनले आपूmले लामो समय पार्टीमा रही धेरै त्याग गरेकोे र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले २ नेताले आपूmलाई समर्थन गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीनपटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।’

शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि कांग्रेसमा सबलरूपमा उठिरहेको छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका विषयमा पौडेल भन्छन्, ‘त्यसो भए म नै नयाँ हुँ, एकपटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।’

तर, सो पार्टीका कार्यकर्ताहरू भने नेतृत्वप्रति खरोरूपमा उत्रने तयारी गरिरहेका छन् । यसै सन्दर्भलाई लिएर पूर्वमन्त्री, पूर्वसांसद र पूर्वजिल्ला सभापतिले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागीले नेतृत्वको खुलेर आलोचना गरेका थिए । ‘नेपाली कांग्रेसमा देखापरेका संकट र हाम्रो भूमिका’ विषयको सो छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको बताउँदै भने, ‘१२औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टीभित्र देखिएका मनमुटाव, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३औँ महाधिवेशनमा गुठबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढंगले अगाडि लैजानुपर्छ ।’
अर्का केन्द्रीय सदस्य रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एकलौटी ढंगले निर्णय गर्ने गरेको आरोप लगाए ।
पूर्वमन्त्री मार्शलजुलुम शाक्यले जननायक विपी कोइरालाको भनाइ ‘यदि तपाईंलाई के गर्ने र के नगर्ने द्विविधा परे देशको माटो हातमा उठाएर सहिदलाई सम्झनुहोस् । अनि आफ्नो आत्मालाई सोध्नोस्, तपाईंको आत्माले जे भन्छ त्यही गर्नोस्, त्यही देश र जनताको हितमा हुनेछ’ लाई आत्मसात् गर्ने बेला आएको बताए ।

कांग्रेस कार्यकर्ता सुशीलमान शेरचनले संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री निर्वाचनमा पार्टीले गरेको निर्णयप्रति आपत्ति जनाउँदै भने, ‘पार्टीलाई थप उचाइमा पु¥याउनका लागि पार्टीमा नयाँ नेतृत्वको खाँचो छ ।’
रेवती भुसालले नाकाबन्दीले देशमा महँगी, कालोबजारी, भ्रष्टचार मौलाउँदै गएकाले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले उचित जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताए ।

कांग्रेस कार्यकर्ताहरू इन्द्रबहादुर गुरुङ, चन्द्रसिंह भट्टराई, रामबहादुर गुरुङ, झलकनाथ वाग्ले, उदयपुरका विदुर बस्नेत, विपी कोइराला मेमोरियल ट्रस्टका उपाध्यक्ष श्रीहर्ष कोइराला, विपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेललगायतले पार्टी नेतृत्वले विपीको आदर्श सिद्वान्तलाई बिर्संदै गएको ठोकुवा गरेका थिए । उनीहरूले पार्टीको विधानको परिच्छेद ५ को धारा २१ को (ङ) मा १० वर्ष निरन्तर पार्टीमा क्रियाशील भएको व्यक्ति मात्र केन्द्रीय सदस्य बन्न पाउने व्यवस्था भए पनि १० महिना क्रियाशील नभएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना गरेका थिए । भेलाले छलफलबाट निष्कर्षमा आएका कुरा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएको छ ।

प्रतिक्रिया