चाबहिलमा चन्द्रविनायक जात्रा

uuuuuuuuकाठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा रहेको चार विनायकमध्येको श्री चन्द्रविनायक जात्रा चाबाहिलमा सुरु भएको छ । श्री चन्द्रविनायक र श्री भैरवनाथको ३०० वर्ष पुरानो जात्राको रौनक बढाउन चावहिल क्षेत्र व्यापक सिंगारिएको छ ।

यो जात्रा राजा भुपालेन्द्र मल्लको शासनकाल नेपाल सम्वत् ८०० बाट सुरु भएको स्थानीयवासीको भनाइछ । बुधबारबाट सुरु भएको जात्राको दोस्रो दिन बिहिबार चन्द्रविनायक र भैरवनाथको रथलाई सिङ्गारी विशेष पूजा गरिएको छ । जात्राका लागि दोस्रो दिन साँझ पशुपतिनाथ अमालकोट कचहरीबाट द्वारेले पूजा लाउने परम्परा रहेको स्थानीयले जानकारी दिएका छन् । कात्तिक शुक्ल पूर्णिमाका दिनबाट चार दिनसम्म चाबहिल क्षेत्रमा जात्रा लाग्ने गर्छ । यो जात्रामा भैरव र गणेशको दर्शन गर्नाले शरीरमा आएका घाउ खटिरा निको हुने विश्वासमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

जात्राको शुभारम्भ बुधबार गणेश र भैरवको विधिपूर्वक पूजा गरी गरिएको थियो । बुधबार बेलुकी गणेशस्थान र कुटुम्बहालमा धुनी जगाइएकोे चन्द्रविनायक, भैरव जात्रा व्यवस्थापन समितिका संयोजक सुवर्ण डङ्गोलले जानकारी दिएका छन् । यसरी बालिएको धुनी ताप्दा शरीरमा आएका घाउ खटिरा निको भई कुनै रोग नलाग्ने विश्वास छ ।

नेपाली पात्रको तिथि अनुसार मार्ग कृष्ण प्रतिपदाका दिन गणेश र भैरवको रथ चाबहिल क्षेत्रका घर घर पु¥याई पूजा गर्ने, द्वारेले रथमा सिन्दूर चढाएपछि स्थानीय परम्परागत बाजागाजासहित गणेश र भैरवको रथ नचाउने विधि रहेको स्थानीयवासी सन्तमाया श्रेष्ठले जानकारी दिएकी छन् । रथलाई नचाई परिक्रमा गराएपछि चन्द्रविनायकको उत्तरतर्फको गङ्गाहिटी अर्थात् प्राचीन ढुङ्गेधारामा लगी दुवै रथलाई स्नान गराइन्छ । स्नानपछि मध्यरातसम्म मन्दिर नजिकका घर र चोकमा रथ राखी पूजा गरिन्छ । पूजापछि राति यी रथलाई चारुमति बिहार अगाडि बिसाउने गरिन्छ ।

मार्ग कृष्ण द्वितीयाका दिन चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरी दिनभर चाबहिलका परम्परागत तथा प्राचीन बस्ती रहेको चाबहिल बहाल, नाट्यश्वरी मार्ग, भगवानस्थान र मुसे गणेशस्थानमा रथ घुमाइन्छ । यसपछि चन्द्रविनायकको रथलाई पशुपतिनाथ मन्दिर परिक्रमाका लागि लगिन्छ । भैरवनाथको रथलाई कुटुबहाल चोकमा पूजाका लागि राखिन्छ । मार्ग कृष्ण तृतीयाका दिन सिन्दूर जात्रा गरेपछि चारदिने जात्रा सम्पन्न हुन्छ । बोली नफुटेका बच्चालाई यो जात्रामा ल्याई गणेश र भैरवको दर्शन गराउँदा बोली फुट्ने विश्वास रहिआएको स्थानीयवासी मनोज डङ्गोलले बताए ।

प्रतिक्रिया