खेल क्षेत्रलाई राजनीतिमुक्त बनाइने

olimpic copyकाठमाडौं, ९ मंसिर । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु रहेको बताएका छन् । नेपाल ओलाम्पिक कमिटीले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाको रूपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म समस्या समाधान नहुने उल्लेख गरे ।

मन्त्री मण्डलले नयाँ संविधानअनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरूको माग र आवश्यकतालाई ध्यान दिने प्रतिवद्धतासमेत जनाए । उनले खेलकुदको अन्तर्राष्ट्रिय मर्यादालाई ख्याल गर्दै नेपाल ओलाम्पिक कमिटीको स्वायत्ततालाई मध्यनजर गर्दै ऐन ल्याइने बताए । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनीयोजनका लागि अर्थ मन्त्रीले सकरात्मक प्रतिवद्धता जनाइसकेकाले बजेटको अभाव नहुने दाबीसमेत गरे ।

कार्यक्रममा नेपाल ओलाम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय ओलाम्पिक कमिटीको बडापत्रअनुसार नेपाल ओलाम्पिक कमिटी र राष्ट्रिय संघहरूले स्वायत्तताा पाउनुपर्ने बताए ।  कार्यक्रममा ओलाम्पिक डेका अवसरमा सम्पन्न विभीन्न प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया