महिनादेखि शिक्षकले तलब पाएनन्

नगरकोट, १७ कात्तिक । भक्तपुरका गाविसहरूलाई नगरपालिकामा रुपान्तरण गरिए पनि शिक्षकले तलब पाउन सकेका छैनन् । सरकारले गत वर्षको मङ्सिरमा भक्तपुरका १६ वटै गाविस हटाएर नगरपालिका घोषणा गरेलगत्तै गाविस स्रोतअन्तर्गत कार्यरत शिक्षक तलबबाट वञ्चित भएका हुन् ।

भक्तपुरका नगरपालिकाले नगर परिषद्बाट त्यस्ता प्रकृतिका शिक्षकको सम्बन्धमा कुनै बजेट र योजना नबनाएको कारण भक्तपुरका एक दर्जनभन्दा बढी शिक्षक तलबबाट वञ्चित हुन बाध्य भएको शिक्षक एवम् प्रधानाध्यापकले बताएका छन् ।

गाविस हुँदा गाविसको स्रोतबाट तलब बुझिरहेका ती शिक्षकले गएको साउन महिनादेखि तलब पाउन नसकेको विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू बताउँछन् । ‘गाविस हुँदा हामी महिना महिनामा तलब खान्थ्याँैं, अहिले नगरपालिका भएपछि चार महिनादेखि तलब खान पाएका छैनाँैं’ – नगरकोट नगरपालिका–३ ताथलीको डाँडापाटी प्राथमिक विद्यालयकी शिक्षिका सुमित्रा बोहजुले भने ।  स्थानीय क्षेत्रमा रहेका बालबालिकालाई शिक्षा दिन खोलिएका विद्यालयमा सरकारले आवश्यक दरबन्दी दिन नसकेपछि गाविस स्रोतबाट राखिएका धेरै शिक्षक अहिले तलब पाउनबाट वञ्चित हुँदा विद्यालय चलाउन समस्या भएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकको भनाइ छ ।

‘जिल्ला शिक्षा कार्यालयले विद्यालयका लागि आवश्यक दरबन्दी दिन नसक्दा विगत १८ वर्षदेखि गाविस स्रोतबाट व्यहोर्ने गरी नियुक्ति गरिएका शिक्षक नगरपालिका भएसँगै तलबबाट वञ्चित हुनपुगेका छन्,’ डाँडापाटी प्राविका प्रधानाध्यापक विष्णुनारायण त्यातले भने ‘उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर नगरपालिकाले ध्यान नदिँदा अहिले यस्तो अवस्था आयो ।’ उनले आफ्नो विद्यालयलाई मात्र नभएर साविकको ताथली गाविस र हाल नगरकोट नगरपालिका १, २ र ३ मा रहेका सबै सरकारी विद्यालयमा व्यवस्था गरिएका शिक्षकले तलब पाउन नसकेको जानकारी दिए ।‘ तलब खुवाउनु प¥यो भनेर पटकपटक नगरपालिकामा गएँ, तर त्यतातिर नगरपालिकाले सुनुवाइ गर्न सकेको छैन’ – फैढोका निमाविका प्रधानाध्यापक महावीर अमात्यले गुनासो गरे । प्रअ अमात्यले आफ्नो विद्यालयमा गाविस स्रोतका दुईजना शिक्षक रहेको जानकारी दिँदै तत्काल पारिश्रमिकको बन्दोबस्त नगरिए पठनपाठनमा समस्या आउने जानकारी दिए ।

ताथलीको देवी उमावि, गणेश मावि, फैढोका निमावि र डाँडापाटीमा कार्यरत पाँचजना शिक्षक तलबको व्यवस्था गरिदिन सामूहिक रुपमा नगरपालिकामा निवेदन दिन गएको प्रधानाध्यापकहरूको भनाइ छ । यो समस्याका कारण सूर्यविनायक नगरपालिकाको नंखेलमा रहेका विद्यालय, झाँैखेलमा रहेका विद्यालय मात्र नभएर जिल्लाभरकै विद्यालयहरूमा असर पुगेको छ । अनन्तलिङ्गेश्वर नगरपालिकाको गुण्डुस्थित ज्योति माविका प्रधानाध्यापक कृष्णलाल न्हेमाफुकीले भने ‘गाविस हुँदा हामीलाई शैक्षिक सुधारका लागि वार्षिक रुपमा बजेट विनियोजन हुने गथ्र्यो, त्यही बजेटले हामी निजी स्रोतमा शिक्षक व्यवस्थापन गर्ने गथ्र्यौं तर नगरपालिका हुँदा हामीलाई कुनै बजेट नै विनियोजन भएन ।’

प्रधानाध्यापक न्हेमाफुकीले नगरपालिकाले पारिश्रमिकको लागि पहल नगरेपछि हाललाई विद्यालयको अन्य आन्तरिक स्रोतबाट व्यवस्था गरिएको जानकारी दिए । यता नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले यस विषयमा कार्यालयको ध्यानाकर्षण भएको बताउँदै शिक्षकको पारिश्रमिक व्यवस्थापन यथाशीघ्र गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘विद्यालयमा विद्यार्थीको सङ्ख्या कस्तो छ, विद्यालय कसरी चलिरहेको छ भन्ने विषयमा अनुगमन गरेर हामी यथाशक्य चाँडै पारिश्रमिकको लागि निकासा दिन्छाँैं,’ उनले भने ।

प्रतिक्रिया