‘वाह्य संलग्नता गम्भीर’
काठमाडौं । सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ । समसामयिक विषय र सरकार विस्तारबारे पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले सोमबार वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताए । (सौस)
पाँच लाख हस्ताक्षर
काठमाडौं । एमाले निकट युवा संघ नेपालले भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध संकलन गरेको पाँच लाख हस्ताक्षर सोमबार सरकारलाई बुझाएको छ । हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाएको हो । युवा संघले २१ असोजदेखि हस्ताक्षर संकलन गरेको थियो ।
हस्ताक्षर बुझाउनु अघि संघको केन्द्रीय कार्यालय बुद्धनगरबाट संघका पदाधिकारी तथा सर्वसाधारणसहित निकालिएको पदयात्रा अनामनगरको हनुमानथानमा आएर कोणसभा गरिएको थियो । सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष पहारीले भारतले गरेको अघोषित नाकाबन्दीबाट भूपरिवेष्ठित राष्ट्र नेपालको पारवहन अधिकार हनन भएकाले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय र दुई पक्षीय व्यापारिक सन्धि सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे । (सौस)
‘नाकाबन्दी अवसर पनि’
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रूपमा बदल्नुपर्ने बताएका छन् । ‘नाकाबन्दीलाई देश बनाउने अवसरका रूपमा बदल्न आवश्यक छ,’ उनले भने, ‘खाडी र मलेसियालाई समृद्ध बनाउने नेपाली हातले यसलाई अवसरका रूपमा लिएर नेपाललाई समृद्ध बनाउन आवश्यक छ ।’
मुलुकमा ऊर्जा संकट समाधानका लागि जलविद्युत्को लगानी बढाउने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विस्तार र प्रवद्र्धनका लागि ढिलो गर्न नहुने धारणा उनको छ । ‘कृषि उत्पादन र ऊर्जा उत्पादनमा राज्यले ध्यान दिए नाकाबन्दी सजिलै पार लगाउन सकिन्छ’, गर्भनर नेपालले भने । (सौस)
प्रतिक्रिया