‘देश टुक्र्याउने स्वतन्त्रता कसैलाई छैन’

काठमाडौं, २८ असार । नेकपा एमालेका नेता माधवकुमार नेपालले देश टुक्र्याउने खालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताएका छन् ।

राष्ट्रिय ख्रिस्ट्रियन महासंघ नेपालले आइतबार गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताए ।
देशमा एउटा मात्र धर्म हुँदैन, धर्म निरपेक्ष मुलुक हुनुपर्ने जिकिर गरेका उनले सबै धर्ममा नेपालीपनको माया गर्ने हुनुपर्ने बताए । धर्म निजी आस्थाको विषय भएकाले धर्म र आस्थाका आधारमा राज्यले भेदभाव गर्न नहुने उनले बताए । उनले धार्मिक सहिष्णुता भएको उल्लेख गर्दै प्रत्येक धर्मको पर्वमा बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरूलाई अल्छी बनाउने गरेको बताए ।
उनले भने, ‘भएको विदा पनि हटाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धर्म आस्थाको विषय भएकाले धर्मको नाममा राजनीति गर्न नहुने बताए । एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले सबै धर्महरूको पहल नेपालको आर्थिक, सामाजिक विकासमा हुनुपर्ने र राज्यले पनि सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने बताए ।

प्रतिक्रिया