फेक आइडी

Sachan_BK_Designerमौसमविद्हरूले गरेको मनसुनको भविष्यवाणीलाई सार्थक पारिदिएको छ, राति–राति परेको पानीले । राति पानी परेपछि निद्रा पनि खुब मजाले लाग्छ । शनिबारको दिन अलि ढिलै ओछयान छोडिन्छ । परेलीको बन्धन स्वतः खोलिएर आँखाका नानीले भित्ताको घडी चियाएँ । सात बजे छ । झ्यालको पर्दा सारेँ । झ्यालका सिसाभरि सेता घामका किरण टाँसिएका थिए । झ्यालबाट बाहिर देखिने सानो जग्गाको टुक्रामा फोहोरका डंगुरलाई टेकेर उभिएका झारमा घामका सेता किरण विचित्रसँग टल्किरहेका छन् ।
शनिबार नियमित रुटिनको ट्रयाक बाहिर पर्दछ । उठेर मुखै नधुइकन पानी उमालेँ र कपमा हालँ एकचम्चा चिनी र कफी । यो चियाको साटो कफी मेरो अल्छिपनले जन्माएको हो । चिया उमाल्न अलि समय लाग्ने सायद त्यही भएर होला । बिन्डोजको डिस्प्लेसँगै ट्वाङ आवाज आएपछि कफीको कप कम्प्युटर टेबलमा आइपुग्यो । अनलाइन न्युजहरूको साँचो टाइप गरेँ वेभ एड्रेसमा सँगै फेसबुक पनि लगअन गरँ । कफीको कालो रङले छोपेको कपको भित्री सेतो भाग बढाउँदै थियो मेरो ओठ । आँखाहरू कम्प्युटर सिक्रनमा देखिएका केही भद्दा र केही लोभलाग्दा अक्षरका संयोजनहरूमा डुलिरहेका छन् । मेरो दाहिने हातको चोर औँला घरी माउसको स्क्रोलरमा घरी कपको बीडमा गरिरहेको छ ।
टास्कबारमा मिनिमाइज गरिराखेको फेसबुक वेभको टाउकोमा केही अक्षर सलबलायो । मेक्सिमाइज गरेँ, एउटा केटीले हाइ लेखेर सेन्ड गरेकी रहिछ, तीन मिनेटअघि । उ मेरो केही महिना अघिदेखि फलोअरको लिस्टमा थिई । त्यो फेक आइडी जस्तो लाग्थ्यो मलाई । उसको फोटो एल्बममा एउटाबाहेक अरू फोटा पनि थिएनन् । अरू इनफरमेसनहरू पनि इन्ट्री गरिएको थिएन । मैले नै उसलाई केही हप्ताअघि फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ । रिक्वेस्ट पठाएकै दिनमा एसेप्टका साथै म्यासेज पनि आएको थियो । ‘खुसीलाग्यो तपाईंसँग साथी बन्न पाउँदा ।’ त्यसपछि डेस्कटपको स्क्रिनमा फेसबुक लगअन हँदा सामान्य कुराकानी भइरहन्थ्योे ।
मैले पनि ‘हाई’ भनेर उसलाई प्रतिक्रिया दिएँ । गुडमर्निङ सँगै चियाको कुरा पनि भयो । उ मसँग लामै कुरा गर्न चाहन्थी, यो मेरो बुझाइ हो । म अनलाइन भयो की उ म्यासेज सेन्ड गरिहाल्थी । मोबाइलबाट फेसबुक लगअन गर्दा म म्यासेज मात्रै हेर्थें र समाचारका लिंकहरू पढ्थेँ । मोबाइलको स्क्रिनमा छेपारोले पहरो चढ्न खोजेजस्तै कसरत गरी–गरी म्यासेज लेख्ने जाँगर हुँदैैन थियो र सेन्ड गर्न पनि छेपारोले पुसमाघमा घाम खोजेर कक्रेर बसेझैँ बस्नुपथ्र्याे नेटवर्क खोजेर । त्यस्तो बेला पनि उ थुप्रै म्यासेज पठाइरहेकी हुन्थी ।
मलाई त्यो फेक आइडी जस्तो लागे पनि उसको रिप्लाई दिइनै रहन्थेँ फुर्सदको समयमा । उसको मात्रै होइन, सबैलाई रिप्लाई चाहिँ गर्थें, किनकि म सेलिब्रेटी पनि थिइनँ रिप्लाई गरेर नभ्याउने मसँग जम्मा पाँच/छ सय फ्रेन्ड थिए । कुरा हुने त कति नै हुन्थे र नभ्याउनु ।
त्यतिकैमा मैले सोधँ, ‘कहाँ हुनुहुन्छ ?’ उताबाट छिट्टै जिस्क्याउने पारामा रिप्लाई आइहाल्यो, ‘तपाईको दिलमा’ मलाई हाँस्न मन लाग्यो । हाँसे पनि । आइडी होल्डर बडो रोमान्टिक छ जस्तो लाग्यो । मलाई उसँग कुरा गर्ने चाख बडेर आयो । मैले लेखेँ, ‘मेरो दिलमा मैले त राखेको छुइनँ त, त्यही पनि मेरो दिलमा तपाईं जस्तो मान्छे अटाउनै सक्नुहुन्न धेरै साँघुरो छ ।’ सेन्ड गरेर फेरि समाचारतिरै फर्कें । मलाई लाग्छ, मलाई चिनेकै कोही उल्लु बनाउन खोजिरहेछ । केही बेरपछि फेसबुकको म्यासेज आइकनमा रातो रङको गोलाकारमा दुई लेखिएको देखियो । हेरेँ, ‘म जस्तोसुकै साँघुरो दिलमा पनि नबिझाउने गरी बस्न सक्छु, तपाईंले नराखे पनि के भो र ? म पसिहाल्छु नि ।’ मलाई महसुस भइरहेको छ, यो बिहानै उसले मलाई उल्लु बनाउन खोजिरहेछ । फेसबुकमा जन्मिएको तेस्रो लिंगीले यानिकी फोटो केटीको राखेर केटाले कुरा गरिरहेको छ । कफीको कपतिर चोर औँलो सर्न छोडिसकेको छ । मैले पनि जिस्क्याएर सोधिहालेँ, ‘ए मेरि दिलकी मान्छे के गर्दै हुनुहुन्छ त ?’ म्यासेज सेन्ड गरेर म सर्ट ट्वाइलेट गएँ ।
अउँदा म्यासेज लिस्टमा अक्षरको लाइन लामै देखेँ । लेखिएको रहेछ, ‘म पढ्दै अनि अलि–अलि जब । मलाई धनीगरिब केही मतलब छैन । धनीगरिबको तराजुमा तौलेर कसैलाई आफ्नो ठान्ने बानी पनि छैन । म रुढीवाद मान्दिनँ । तपाईंजस्तै इमानदार मान्छे मनपर्छ ।’ मैले लेखेँ ‘म इमान्दार रे । म त्यस्तो छु जस्तो लाग्दैन र कसैले भन्दैनन् पनि ।’ उसले लेखी, ‘प्रोफाइल पिक्स हेरेर मेरो विश्वास र अनुमानले फेल खाँदैनँ । समाजमा हेपिएका तल्लोवर्गका र गरिबीले निचोरेका मान्छेहरू इमानदार र इज्जतप्रति सधैँ सजग नै हुन्छन्, यो मेरो बुझाइ हो ।’ उसले म्यासेजमा आफ्नो दर्शन पनि मिसाएर पठाइ । मलाई पनि यो कुरा चाहिँ चित्त बुझ्यो । मैले छोटो उत्तर लेखेझैं ‘फेक आइडीको दार्शनिक कुरा हे हे हे ।’
आइएम बिजी फर हाफ एन आवर सेन्ड गरेँ । राइसकुकरमा चामल हालेर बिजुलीमा जोडेँ । दालको कुकरलाई ग्यासमाथि राखँे र तरकारी बिर्साउने मिक्स्ड अचारको प्याकेट किनेर ल्याएँ । शनिबार सर्फ र पानीसँग खेल्न पाउने लुगाहरूको प्लास्टिकको बाटामा जमघट गरिदिएँ । अनि भिजाएर छाडिदिएँ । फेरि आएँ र कम्प्युटरअगाडि बसेँ । अझै पनि उसको नाम अगाडि हरियो बत्ती यथावत् नै थियो । मैले खाना भयो ? भनेर सेन्ड गरेँ । रिप्लाई आयो– मेरो भयो । तपाईंको नि ?
‘दिलमा बसेको मान्छेले खाएपछि भइगो नि, म नखाने आज हे हे हे’ भनेर सेन्ड गरिदिएँ । उसले सोधी, ‘फास्टिङ ?’ ‘के को फास्टिङ ? मान्छेहरू खान नपाएर मरिराखेका छन् । म चाहिँ किन खान छोडेर फास्टिङ गर्नु नि ?’ शनिबारको दिन लगभग १२ बज्नै लागेको छ । गफिनेहरूको लिस्टमा विस्तारै थपिँदैछन्, फुर्सदिलाहरू । उसले फेरि लेखी ‘साँच्चै मलाई एउटा कुरा नढाँटी भन्नुस् है, तपाईं म्यारिड कि अनम्यारिड ?’ मैले उसलाई उत्तर नदिने विचार गरेँ ‘म्यारिड भनेँ भने के हुन्छ, अनम्यारिड भनँे भने के हुन्छ ?’ उसले ‘आकाशपतालको फरक हुन्छ’ भनेर लेखी ।
मलाई उसँग गफिन मन लागिरहेछ । त्यसैले मैले उसलाई लेखेँ, ‘म म्यारिड वा अनम्यारिड जे भएनि तेस्रो लिंगीलाई के फरक पर्छ र ?’ उताबाट केहीबेरमा उत्तर आयो ‘बुझिनँ, के तेस्रो लिंगी भनेको चाहिँ’ मैले ‘केटीको फोटो राखेर केटाले च्याट गर्ने’ भनेर सेन्ड गरेँ ।
‘हा हा हा तपाईंको अनुमान फेल भयो, तपाईंले भनेजस्तै तेस्रो लिंगी होइन म’ उसले लेखी ।
‘विश्वास गरुँ कि नगरुँ प्रमाणित गर्न पनि त गाह्रोे छ नि’ मैले सेन्ड गरेँ ।
एक्कासी मेरा आँखा लुगा भिजाइराखेको बाटामा परे र मैले लेखेँ ‘म गएँ बाई ।’
उसले पनि ‘बाई सँगैै टेक केयर एन्ड सियू अगेन’ लेखेर पठाई ।
मैले स्योर भनेर लगअफ गरे, फेसबुक । कम्प्युटर सटडाउन गरेर लागेँ आफ्नै डेली रुटिनको ट्रयाक बाहिरको कामतिर ।
उसँग अक्षरहरूको साहारामा गफिन थालेको दुई÷तीन महिना भइसकेको थियो । म उसलाई सधँै ‘फेक आइडी’ वा ‘मेरी दिलकी मान्छे’ भनेर जिस्क्याइरहन्थेँ । जिस्क्याउने र उडाउने अक्षरहरूको होडबाजी नै चलिरहेको हुन्थ्यो म्यासेज बक्समा । एक दिन राति नौ बजेतिर मेरो मोबाइल भाइब्रेट भइरह्यो, निकै लामो समय । हेरेँ, मोबाइल नम्बर मात्र देखियो । नाम सेभ थिएन, उठाउँ कि नउठाउँ भएँ । फेरि राति कसैले अप्ठ्यारो परेर पो ग¥यो कि भनेर उठाएँ ।
‘हलो’ उताबाट पनि ‘हलो’ मात्र आएपछि को हो भनेर सोधेँ । उसले मेरो उत्तर नदिइकन निदाइसक्नु भो कि के हो भनेर सोधी ।
अँ निदाउन लागेको थिएँ मैले चिनिनँ तपाईंलाई को बोल्नुभयो ? फेक आइडिकी रियल केटी भनेर उ मज्जाले हाँसी ।
उसको हाँसोले मलाई एकपटक नराम्ररी झस्कायो । लाग्न थालेको निद्रा कता पुग्यो कता । उसको आवाजसँग आवाज मिसाउने हिम्मत नै हरायो । ‘यति राति कसरी सम्झनुभयो, अनि नम्बर कताबाट पाउनुभयो ?’ मैले दबिएको स्वरमा सोधेँ ।
उसको आवाजमा एक किसिमको चञ्चलता यथावत् नै थियो । उसले भनी, ‘अझ… कसले फोन गर्ला भनेर त होला नि फेसबुकमा पनि नम्बर राखेको अनि कसरी पाइयो नम्बर भनेर सोध्न मिल्छ ?’
मलाई उसँग कुरा गर्न संकोच लागिरहेको छ, तर उ म्यासेजमा जस्तै कुनै फिक्री नमानी कुरा गरिरहेकी छ । सुरुका दिनहरूमा उ खाना खाने समय, खाजा खाने समय र अफिस छुट्टी हुने समयमा फोन गर्थी । फोन गर्ने क्रम बाक्लिँदै गइरहेका छन् । उसको आवाजसँग मेरा कान अभ्यस्त भइसकेका छन् । उसको फोन नआउँदा मलाई एक किसिमको सकसक लाग्न थालिरहेको छ । अनि म आफैँ फोन गर्न उसलाई तम्सिरहेको छु । सोचिरहेको छु उसको आवाज सुन्न नपाएको दिन मलाई कस्तो लाग्छ होला । सायद म सब कुरा बिर्सन्छु होला । हुस्सु हुन्छु होला । अब उ मलाई मेरी आमापछि यो काठमाडौंमा खाना खाए नखाएको सन्चो बिसन्चो फोनबाटै भए पनि सोध्ने÷अह्राउने भएकी थिई । साँच्चै भन्ने हो भने मेरी अघोषित प्रेमिका नै भइसकेकी थिई ।
एक दिन उसले शनिबार भेटौँ न भनेर प्रस्ताव राखी । मैले उसको प्रस्ताव नमान्नुपर्ने कुनै कारणै थिएन । हुन्छ भनिदिएँ । कहाँ भेट्ने भनेर उसले मलाई सोधी । मैले तिमीले भनेको ठाउँमा म आउँला भनेँ । उ भन्दै थिई, ‘तपाईं आउनु भएन भने नि मैले बोलाएको ठाउँमा ?’ हवाईजाज र हेलिकप्टर चढेर आउनु नपर्ने ठाउँ जहाँ बोलाए पनि आउँछु भनेपछि भेट्ने ठाउँ फिक्स भयो शनिबारको दिन ११ बजे ।
मलाई निकै संकोच लागिरहेछ उसलाई भेट्न । यस्तो काम जिन्दगीमा पहिलोचोटि हुँदै छ । जाने कि नजाने अन्यौलमा छु । तर उ मेरी अघोषित प्रेमिका जस्तै भइसकेकी थिई । नौ बजेतिर फोन गरेर मलाई बिर्सनुभएको छैन नि भनेर सोधी । मैले छैन भनेँ । अझ तपाईं मलाई भेटेपछि सर्पाइज्ड… प्लस तर्सनु हुनेछ भनी । मलाई एक किसिमको डर पनि लागिरहेको छ । उसँग भेट्नलाई उत्तिकै उत्सुकता पनि छ । उसको ग्लामर्स आवाजले मलाई एक हदसम्म त लठ्ठ पनि बनाइरहेको छ ।
म उसलाई भेट्न कोठाबाट निस्किएँ उसलाई भनेको भन्दा विपरीत हुलियामा । खासै हुलिया बताउनुपर्ने त थिएन । उसले बताएकी थिई मलाई त्यसको बदलामा मैले पनि अनायासै भनेको थिएँ । हामीले भेट्ने भनेको ठाउँभन्दा निकै अगाडि उ आउने बाटोतिर म जाँदै थिएँ, आफ्नै सुरमा । परबाट एउटी पातली केटी, रातो कुर्ता सलवार र कालो स्वीटरमा हतारोमा आउँदै थिई । उसले बताएअनुसारको हुलिया थियो, त्यो । मैले लगाइराखेको क्यापलाई अलि बढी अनुहारतिर ढल्काएँ । बिस्तारै पाइला चालेँ । उ छिटो –छटो आउँदै थिई । भर्खर स्ट्रेट गरेको कपाल हावामा लहरिरहेका थिए । आँखामा छरितो तरिकाले गाजलका धर्सा, ओठमा पातलो लिपिस्टिक, थोरै उठेको छाति । गोह्रो छालामा अलि–अलि कालो मिसिएजस्तो । उ हेर्दाहेर्दै मेरै छेउबाट पास भएर गई । जब उ मेरो छेउबाट पास हुँदैै थिई, मेरो मुटु फुट्लाजस्तो भयो । जोडसँग धड्किन थाल्यो । उसलाई मैले पहिले कतै देखे–देखेको जस्तो लाग्यो । एकछिन दिमागलाई रिफ्रेस गरेँ । एकचोटि मेरो दिमाग रिंगियो । पत्तो लाग्यो उ कुनै अफिसकी फ्रन्ट डेस्ककी स्टाफ हो । जहाँ म कामविशेषले गइरहन्थेँ । खास उसले बिहान फोनमा भनेको सर्पाइज नै यही थियो कि ? मलाई के गरौँ के गरौँ भयो । त्यतिकैमा एउटा माइक्रो मेरो छेउमा आयो । हात दिएँ । रोकियो । त्यसैमा चढेँ । माइक्रो रोकिनु र म चढ्नु यति चाँडो भयो, जो मैले केही सोच्ने सकिनँ, म के गरिरहेछु भनेर । १० मिनेटपछि फोन आयो । मैले फोन काटिदिएँ र म्यासेज लेखेँ । म हस्पिटल जानुप¥यो, हार्टली सरी… कुनै दिन भेटौँला…, अनि मोबाइल अफ गरेँ । कोठामा पुगेपछि ओछयानमा ढल्किएँ । अनेक कुरा मनमा खेल्दै थिए, उसका बारेमा । उसको ग्लामर्स आवाज जस्तै फिगर पनि सुन्दर थियो । तर पनि मैले उसलाई भेटिनँ । बेकारमा उसलाई दुःख दिएँ । यस्तै सोच्दा सोच्दै निदाएछु ।
६ बजे ब्युँझिएँ । मोबाइल अफ नै रहेछ, अन गरेँ । अनि कम्प्युटर खोलेँ । सर्वप्रथम फेसबुक नै लगअन गरेँ । उसको म्यासेज थियो ‘कुनै पनि वस्तुमा लगानी परेपछि मायाँ हुन्छ, तपार्इंले मलाई ऋण लगाउनु भा’छ । सकेँ भने ब्याजसहित तिरौँला, नसके सावाँ मात्र भए पनि तिर्छु’ धन्न केटी अनलाइनमा रहिनछ । मैले गल्ती गरेँ, उसलाई नभेटेर । रिप्लाई गर्ने जाँगरै भएन या कुनै उपयुक्त बाहना दिमागमा आएन । फेसबुक लगआउट गरी बत्ती निभाएर पुनः ओछयानमै पल्टिएँ । मेरा आँखा अँध्यारोमा हेरिरहेका थिए । दिमागमा दिउँसोको उसको हतारो हिँडाइ यथावत् थियो ।

प्रतिक्रिया