सर्वाेत्तम कृति : अल नेपाल

Dr.-Surendra-KCधेरैपछि नेपाली पुस्तक संसारको बजारमा एउटा अद्भूत ग्रन्थ प्रकाशमा आएको छ । ‘अल नेपाल इन्फो’ नामक ९७२ पृष्ठको रंगिन साजसज्जाको यो पुस्तक मलाई लागेसम्म २०३१ सालमा तत्कालीन श्री ५ को सरकार, सञ्चार मन्त्रालयले सूचना विभागद्वारा चार भागमा प्रकाशित एक मात्र अर्काे प्रयास हो जसले समष्टिगत रूपमा नेपाली समाज, भाषा, संस्कृति, भूगोल, तथ्य तथ्यांक र सक्षिप्त इतिहासमाथि एक चन्चु दृष्टिकोण प्रस्तुत गरेको छ । यसको अर्काे विशेषता के रहन गएको छ भने यो द्विभाषीसमेत रहेको छ– एकातिर नेपाली अनि अर्काेतिर अंग्रेजी ।

एक सय २५ जातजाति अनि एक सय २३ भाषाभाषाी र १० बढी धर्म–सम्प्रदाय बसोबास गर्ने नेपाल एक बहुभाषिक, बहुधर्मी र बहुजातीय मुलुक हो । सँगसँगै हिमाल, पहाड र तराई, उपत्यका र खोँच अनि भित्री मधेस जस्ता भू–वनोटले गर्दा यो देशको भौगोलिक विविधता पनि त्यतिकै उवडखावड, मनमोहक, विविधता, उकाली र ओरालीले भरिपूर्ण रहेको छ । पशुपक्षी, रुख, बिरुवा अर्थात् जैविक विविधताका दृष्टिले पनि यो देश अद्भूत छ । त्यस्ता पक्षलाई पनि पुस्तकले त्यतिकै बिहंगम तरिकाले प्रस्तुत गरेको पाइन्छ ।
नेपालको कला–संस्कृति, पर्यटन, इतिहास, विविध सामान्य ज्ञान, प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक, दुरी, नाप–नक्सा अनि गाविस, जिविस, नगरपालिका अर्थात् सिंगो नेपाल– के समेटिएको छैन यसमा ? वृहत् ज्ञान कोष अर्थात् नेपालबारेको विश्वकोष (इन्साइक्लोपिडिया) लाग्ने यो ग्रन्थ मलाई लाग्छ । नेपालको भाषा, धर्म, संस्कृति, इतिहास, पर्यटन र जैविक तथा भौगोलिक विधिताबारे सूत्रमा जान्नका लागि चाहिनेभन्दा निकै वृहत् छ जो आफैँमा एक सन्दर्भ सामग्रीका रूपमा पनि त्यतिकै उपयुक्त र स्वीकारयुक्त देखिन्छ ।
नेपालका प्रमुख सडक र दुरीको चाखलाग्दो नक्सांकनबाट सुरु भएको ग्रन्थको यात्रा नेपालका माथिल्लो पदाधिकारी हुँदै त्रिविको कनिष्ठ पदाधिकारीको मन्तव्य छिचोल्दै पुस्तकमा परेका विषयहरूको ‘हाइलाइट’ सम्म आइपुग्दा नै पाठक, खासगरी नेपालबारे संक्षिप्तमा तथ्य तथ्यांक र अवधारणा निर्माण गर्न सफल भइसक्छ । जहाँ देशको ७५ वटै जिल्लाका राजनीतिक, इतिहास, भूगोल, खोलानाला एवं तालतलैया, सडक, गोरेटो र भित्री तहसम्मका प्रमुख स्थानबारे सचित्र, रंगिन एवं द्विभाषामा प्रस्तुत गरिसकेपछि त स्वेदशी तथा विदेशी दुवै पाठकहरू अत्यधिक आस्वस्त भइसक्छन् कि वास्तवमा यो ग्रन्थ नेपाल र नेपालीमाथि लेखिएको एकसरो विवरणिका मात्र नभई एक आधारभूत पुस्तकसमेत हो । जसले देशको विविध कोणको पर्यटकीय र भौगोलिक ज्ञान त दिएकै छ सँगसँगै कसैलाई कुनै पनि जिल्ला र जाति अनि भाषीबारे सूत्रमा जान्नका लागि यसले ठूलो आधार प्रदान गर्ने हैसियत राख्छ ।
सबैलाई थाहा छ– हाम्रो देश स–साना भुरे–टाकुरे राज्यहरूको एउटा भौगोलिक (अभिव्यक्ति) मात्र थियो । जसलाई १८ औँ शताब्दीको मध्यमा तीमध्येको एक गोरखा राज्यका साहसी एवं देशभक्त र दूरदर्शी राजा पृथ्वीनारायण शाहले स्थानीय पृथकतावाद र विदेशी हमलावरविरुद्ध जुद्धै वर्तमान नेपालको एकीकृत स्वरूपको जग हालिदिएका थिए । तत्कालीन समयमा यी भुरे–टाकुरे राज्यहरूलाई समग्रमा बाईसी चौबीसी अनि पूर्वका सेन राज्य र काठमाडौंका मल्ल राज्यका रूपमा चिन्दा तिनको संख्या ५२ भन्दा बढी पुग्न जान्थ्यो । उता देशले आफ्नो राष्ट्रिय इतिहास लेखि नसकेको र क्षेत्रीय इतिहास लेखनको अभ्यास पनि वाञ्छित मात्रामा अघि बढ्न नसकिरहेको हुँदा ती ‘बाईसी चौबीसी राज्य’ हरूको साँगोपाँगो वा संक्षिप्त ऐतिहासिक सूचना पाउनसमेत ठूलो कठिनाइ व्यहोरिरहनु परेको स्थिति थियो ।
निश्चय नै उक्त विषयमा मेचीदेखि महाकाली र अढाई सय वर्षअघि नेपाल आएका विलियम कर्क पेट्रिक, ह्यामिल्टन, ओल्डफिल्ड ल्यान्डनलगायतका विदेशी इतिहासकारहरूले यी विषयमा सानुतिनु काम अवश्य गरेका छन् । तर, ती अंग्रेजी भाषामा मात्र भई हाल अप्राप्यसमेत भइसकेको अवस्थामा सोमनाथ शर्मा र रीता भट्टराईहरूले सम्पादन गरी मोदरल्यान्ड प्रकाशनले प्रकाशमा ल्याएको यस भीमकाय ग्रन्थले उक्त अभावलाई धेरै हदसम्म न्यून गरेको मान्नुपर्छ । खासगरी नेपाल, नेपाली र यहाँको भूगोलबारे सुक्ष्म जानकारी चाहने कुनै पनि स्वदेशी, विदेशी अनुसन्धाता एवं जिज्ञासुहरूका लागि यसले भरपर्दाे र प्रारम्भिक सूचनाका लागि आधार दिनेमा जो–कोही पनि ढुक्क भए हुन्छ, यसमा कुनै दुविधा पाल्न पर्दैन ।
यस्तो निष्कर्षमा किन आउन सकिएको हो भने यसले परिष्कृत, तथ्यगत र आधिकारिक रूपमा केवल जिल्लाको सामान्य परिचय, नक्सा, प्राकृतिक स्वरूप, हावापानी र मौसम, प्राकृतिक सम्पदा, प्रमुख धार्मिक स्थल र गाविस, नगरपालिका र तिनका बीचको दुरीलगायतका अत्यावश्यक र आधारभूत तथ्यांकलाई मात्र यसमा समेट्ने काम भएको छैन, सँगसँगै देशको समग्र क्षेत्रफल, इतिहास एवं त्यहाँका जनताको संस्कृति र सर्वसाधारणहरूको जीवनस्तर जस्ता अनुसन्धानका लागि अत्यावश्यक तथ्यहरू पनि पुस्तकमा समेट्ने काम भएको देखिन्छ । फलस्वरूप ग्रन्थ भरपर्दाे, आधिकारिक र बिहंगम जानकारी दिने ठेली मात्र नभई नेपालबारे चन्चु आँखामा जान्न र हेर्न चाहने, जिज्ञाशु एवं अनुसन्धातासमेतका लागि यो एक आधारभूत सामग्रीका रूपमा प्रकाशमा आएको मान्नुपर्छ ।
त्यसैले केही नभन्नु सम्पादक र संलग्न टिमप्रति अन्याय हुन जानेछ भने यत्रो काम गरेर तिनीहरूले देशको बौद्धिक जगतलाई नै एक अनुपम दृष्टान्त दिन सक्षम भएको मान्नुपर्छ । ग्रन्थले आकर्षक तस्बिर र ऐतिहासिक पात्रहरूलाई समेट्ने काम पनि गरेको छ । आकर्षक तस्बिर र ऐतिहासिक पात्रका कारण ग्रन्थलाई आकर्षक, सुन्दर एवं भरपर्दाे पनि तुल्याइदिएको छ । यस सादृश्यमा ग्रन्थको हार्ड कभरतर्फ चार हजार चार सय एक र साधारणतर्फ तीन हजार ६ सय रुपैयाँ मूल्य त्यति चर्काे त लाग्दैन तापनि नेपालीको न्यून आयको दृष्टिबाट हेरियो भने त्यो उति सस्तो पनि होइन ।
तर, नेपाली बौद्धिक र साधकहरूले केमा गौरव गर्नुपर्छ भने निजी क्षेत्रबाट एकाध व्यक्तिको समूहले नेपाली वाङ्मयमा यस कृतिका रूपमा जे योगदान दिने प्रयास गरेको छ त्यो जत्रै स्वरमा प्रशंसा गरे पनि थोरै नै हुनेछ । अतः यस्तो राम्रो कृतिका लागि सम्पादकहरूको टिम र प्रकाशक संस्था मोदरल्यान्ड पब्लिकेसन प्रालि निश्चय नै बधाइ र शुभकामनाको पात्र छ ।

ग्रन्थको नामः– अल नेपाल इन्फो
ग्रन्थकार(सम्पा):– सोमनाथ शर्मा र रीता भट्टराई
प्रकाशक तथा वितरणः– मोदरल्यान्ड पब्लिकेसन प्रालि मध्यपुर ठिमी, भक्तपुर ।
प्रकाशन मितिः– इ.सं. २०१४
मूल्यः– रु.४४०१।– (बाक्लो गाता) :– रु. ३६००।– (पातलो गाता)

प्रतिक्रिया