सर्वश्री सम्पूर्ण नेताज्यूहरू,
जय नेपाल !
म आज फेरि तपाईंहरू सबैलाई सम्बोधन गर्दै अर्को एउटा चिठी लेख्न बसेको छु । आशा गर्दछु, कृपया यसलाई पढी–बाँची लिएर उल्लिखित कुरामाथि विचार गर्न केही समय निकाल्नु हुनेछ ।
हो, हाम्रो देशको इतिहाँस धेरै बलियो छ । धेरै पूरानो र धेरै साहसिलो पनि छ । हाम्रा पूराना नेताहरू बि.पी. कोइराला, गोपाल भट्टराई, कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्शेर राणा, मनमोहन अधिकारी र गणेशमान सिंह जस्ता विवेकशील, साहसी र कर्तव्यनिष्ठ व्यक्तिहरू हुनुहुन्थ्यो जस्ले नेपालको लोकतान्त्रिक आन्दोलनमा मात्र होइन, छिमेकी भारतको स्वतन्त्रताका लागि समेत केही योगदान पुर्याउनुभएको थियो ।
तर विगत लामो समयदेखि नेपाल राष्ट्रको शासनसत्ताको बागडोर तपाई नेताहरूको हातमा नेपाली जनताले पटक पटक सुम्पिएका छन् ।
२००७ सालमा दलहरूले रैतिलाई जनता बनाए । त्यो कसरी सम्भव भयो भन्ने कुरा तपाई हामीले मनन् गर्नैपर्ने भएको छ । आमनेपाली जनताले दलका नेताहरूलाई साथ, सहयोग र समर्थन दिएरै सो उपलब्धी पाएका हौँ । अधिकतम बलिदान त नेपाली जनताले दिँदै आएकै छन् ।
जनताले दिएको योगदानलाई विस्तारै बिर्सदैँ गएको भान भएको छ । २०१७ सालको स्थिति निम्त्याएको नेताहरू आफैँले नै हो । लामो संघर्षपछि जनताले नेताहरूलाई चोख्याए । र, २०४६ सालको जनआन्दोलनमा साथ पनि दिए ।
साथ पाएका नेताहरूले फेरि आफूलाई त धेरै परिवर्तन गरे । तर आमजनता र राष्ट्रलाई केही गर्न सकेनन् । गरिबी, भष्ट्राचार, अविश्वास र विदेशी हस्तक्षेप नेताहरूकै कारण बढ्न पुग्यो । यो आक्षेप लामो समयदेखि लाग्दै आएको छ । नेताहरूका गतिविधिले त्यसलाई पुष्टि गरेको सबैले भन्ने गरेका छन् ।
तत्पश्चात तपाई नेताहरूले आफूलाई फेरि परिवर्तन गर्नु त भयो तर सत्ताबाट स्वाभिमान, सम्पत्ति र नैतिकता लुट्नमा क्रियाशील रहनुभयो । कसैले जङ्गलबाट लुट्न सुरू गर्नुभयो । यो लुटाई स्वाभिमान, सम्पत्ति र नैतिकतासम्म मात्र नरहेर दुःखी गरिब जनताको जीवनसमेत लुट्नु भयो । लुट्दा लुट्दै जनता र राष्ट्रलाई बेहोस बनाउनुभयो तपाई नेताहरूले ।
राष्ट्र र जनताको यही वेहोसी अवस्थालाई फाइदा उठाउँदै फेरि ०६२/६३ को जनआन्दोलन सुरू गराउनुभयो । राष्ट्रलाई ‘बिलो’ लगाउन थाल्नु भयो ।
यसरी ‘बिलो’ लगाउने क्रममा कसैलाई टाउको, कसैलाई खुट्टा, कसैलाई फिला, कसैलाई ह्याकुलोको भाग लगाइरहनु भएको छ । ‘बिलो’ कहिले ६ भाग त कहिले ८ भागसम्म पुगेको छ । कतिसम्म भने कहिले ११ र १४ भागसम्म लागेका छन् ।
मुलुक बेहोसीको अवस्थामा रहेको बेला अस्मिता लुट्नसम्म भ्याउनुभयो, तपाई नेताहरूले । कहिले धर्म निरेपक्ष त कहिले जातीय राज्य भनेर । हैन यो दिन कहिलेसम्म चलिरहन्छ हो ? के यो तपाई नेताहरूको बिर्ता हो ? कृपया भनि दिनहोस्, यो राष्ट्र जनताको हो कि तपाईहरूको ?
कुनै ज्ञात छैन, के गर्दा राष्ट्र र जनताको हितमा काम हुन्छ ? छैन भने एक मुठी माटोलाई छातीमा लगाएर राष्ट्रलाई सोध्नुहोस् अनि नेपाली जनतालाई पनि, तपाईहरूले विभिन्न समयमा नेपाललाई विभिन्न रुपमा विभक्त गरी सक्नुभयो ।
राजतन्त्र नेपाल, नयाँ नेपाल, गणतन्त्र नेपाल, संघीय गणतान्त्रिक नेपाल, अब गर्दागर्दै टुक्राटुक्रा नेपाल र टुक्राटुक्रा नेपाली हृदय बनाइ रहेको कसरी हेर्न सकिन्छ ? कृपया रोक्नुहोस । अब अति भैसक्यो । अब जनताहरू विस्तारै बिउँझदैँ छन् ।
अझै समय छ । यसलाई सुधार्नुहोस् । राष्ट्रलाई केही दिऔँ । सधैँ लिने मात्रै होइन । बेलामौकामा राष्ट्र निर्माण र राष्ट्रिय महत्वका विषयलाई ध्यान दिनुपर्छ ।
जनता र राष्ट्रलाई पीडा होइन विकास, आर्थिक प्रगति, एकरुपता र सवल बनाउने बाटोमा लगाउनु छ । आफ्ना निष्कर्म तथा दुष्कर्मलाई हामी सबैले पखालौँ ।
निर्माण र विकाश तथा शान्तिका लागि पहल गरौँ । इतिहाँसमा कलंकित हुने कार्य नगरौँ । देशलाई ‘बिलो’मा होइन, सग्लो राखौँ ।
युवाहरूलाई असफल बनाउँनबाट रोकौँ । अनि राष्ट्रको जय जयकार गरौँ । जनताको जय जयकारपछि तपाई हामी सबैको जय जयकार हुन्छ । अन्यथा, मर्दा ‘जबरजस्ती मलामी’ जाने र ‘एउटा नालायकको मृत्यु’ भन्नुभन्दा केही विकल्प हुने छैन ।
(लेखक नेपाल विद्यार्थी संघका नेता हुन्)
प्रतिक्रिया