प्रेमरसले ओतप्रोत

aanadrama-paudelसुत्केरी भएको एक महिना भएको थियो । बच्चा छेउमै मस्त निदाइरहेको थियो । बीना मगरले सोचिन्, ‘हाम्रो प्रेमयात्रा पनि तीन वर्ष भएछ । तीन वर्षमा उतार–चढाव, घुम्तीहरु आए । यो छोरो पनि आयो । यो छोरो होइन, प्रेमफूल हो – हाम्रो प्रेमको प्रतीक ।’ छोरालाई हेर्दै प्रेमयात्राको शुभारम्भका दिन सम्झन पुगिन् । आपसी प्रेममा पागल नै भएका थियौँ तर घरपरिवार र समाजले स्विकार्ने अवस्था थिएन । घरपरिवार र समाजको नजरबाट टाढा भाग्नुपर्ने भयो । हामी भूमिगत भएका थियौँ । भूमिगत रहेको बेलामा पनि हामी गम्भीर छलफल गथ्र्यौं । एउटा गम्भीर विमर्शको संवाद सम्झिन् ।
‘हामीले काठमाडौं छाडेर भूमिगत बसेको दुई हप्ता भयो । अब त पत्रकारहरु थाकेछन् । ३–४ दिनदेखि हाम्रो विषयमा कुनै पत्रिकाले लेखेका छैनन् । फेसबुकमा पनि कतै चर्चा छैन ।’ बिहानको चिया खाँदै मैले नै विषय प्रवेश गराउनका लागि भूमिका बाँधेको थिएँ ।
‘यत्रो चर्चाको आवश्यकतै थिएन । यी चर्चा चलाउनेहरुले नेपालको कणकणमा प्रेमरस भरिएको छ भन्ने तत्वज्ञान पाएका रहेनछन् । मनग्ये प्रेम गर्न नपाएर गुम्सिएकाहरुले आफ्नो कुण्ठा ओकलेका हुन् ।’ प्रकाश दाहालले चर्चाको विश्लेषण गरेका थिए ।
‘नेपालको कणकणमा प्रेमरस भरिएको भन्ने त मलाई पनि ज्ञान थिएन । यसलाई अलि प्रष्ट पार न ।’ मैले सोधेको थिएँ ।
‘कणकणमा प्रेमरस भरिएकाले नै जताततै प्रेम, रोमान्स र प्रणयको मूल फुटेको छ । नेपाली कम्युनिस्ट आन्दोलनले भीष्म पितामहको दर्जामा राखेका हाम्रा मोहनविक्रम सिंहलाई प्रेमरसले यति ओतप्रोत ग¥यो कि उनी जलजलाको प्रेममा हुरुक्कै भएका थिए । झन्डै कम्युनिस्ट आन्दोलनको कार्यभार नै छाड्ने स्थितिमा पुगेका थिए । हाम्रा पम्फा कामरेड र बादल कामरेड पनि एकताका प्रेमरसले विह्वलै भएका हुन् । आलोक कामरेडको जीवन पनि प्रेमरसले भरिएको थियो । बुढेसकालमा मूल फुटेर आएको प्रेमरसको सुनामीले रवीन्द्र श्रेष्ठलाई आफ्नो परिवार र राजनीतिक क्यारियरबाट टाढा हुत्याइदियो । यो सानो त्याग होइन । यहाँको कणकण र श्वासप्रश्वासमा प्रेमरस भरिनु नै यसको कारण हो । यसमा कसैको दोष छैन । उहाँहरु विवश हुनुहुन्थ्यो ।’
एउटा परिपक्व प्राध्यापकले भन्दा राम्रो व्याख्या त्यस दिन प्रकाशले गरेका थिए । म दंग परेको थिएँ । सगरमाथा आरोहणपूर्व एलापिक हिमालमा आरोहण अभ्यास गरेका थियौँ । त्यहीँदेखि मेरो र प्रकाशका बीचमा प्रेम झांगिएको थियो । सगरमाथा आरोहणबाट फर्कँदासम्म प्रकाश यति परिपक्व थिएनन् । प्रकाशको यो विश्लेषण रोचक लागेकाले फेरि सोधेकी थिएँ, ‘यो प्रेमरसले क्रान्तिकारीहरुलाई मात्र विह्वल बनाएको हो त ? दक्षिणपन्थीहरु चाहिँ यसबाट प्रभावित छैनन् र ?’
‘किन हुँदैनथे ? प्रभावित मात्र होइन, क्षतविक्षतै भएका छन् । सारा योञ्जनको फरियामा झुन्डिएर तुलसी गिरीले नागरिकता त्यागे, धर्म त्यागे, संस्कार, संस्कृति त्यागे, देशै त्यागिसकेका थिए । मेमको पछि लागेर धीरेन्द्रले अधिराजकुमार पदवी त्यागे । दीपेन्द्रविक्रम शाहले आप्mना आमा, बाउ, भाइ, बहिनी र आफूलाई समेत सिध्याए । पारस थाई नानीको अँगालोमा विश्राम लिइरहेछन् । राजबहादुर सिंहजी प्रेरणालाई वारी नै छाडेर प्रेमरसमा पौडँदै पारी पुगिसकेका छन् ।’ प्रकाशको यो व्याख्या र उदाहरणले त्यस दिन मलाई निकै तसल्ली मिलेको थियो । मैले पनि सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापति पद त्यागेकी थिएँ । रोजेर, मायाप्रेम गरेरै बिहे गरेको पति शंकर अधिकारीलाई त्यागेकी थिएँ । पार्टीका होलटाइमर कार्यकर्ता शंकर अहिले वैद्यबाको ड्यास माओवादीतिर लागेका छन्, त्यो बेग्लै कुरो हो । मैले सोधेकी थिएँ, ‘मेरो त्यागको चाहिँ हिसाब हुँदैन ?’
‘तिम्रो र मेरो त्यागको आआफ्नै हिसाब छ । मैले पनि सिर्जना त्रिपाठीसँग २०६४ माघ ३ गते माँगी विवाह गरेको थिएँ । तिमीले शंकरलाई त्याग्यौ, मैले सिर्जनालाई त्यागेँ ।’ प्रकाशको विश्लेषणबाटै म प्रभावित भइसकेकी थिएँ, यो हिसाबले झन् सन्तुष्ट भएको थिएँ । सन्तुष्टि बढेर हर्षविभोर भइछु । खुसी अटेसमटेस भएर आफैँलाई थाम्न सकिनछु र ग्वाम्लांग अँगालो हाल्न पुगेको थिएँ ।
मीठो सम्झनाले बीनालाई चरम पुलकित गरायो । सुतिरहेको बच्चालाई उचालेर काखीमा च्यापिन् र म्वाईं खान थालिन् ।

प्रतिक्रिया