हरेक विपत्पछि धेरै खालका समस्याहरू विजारोपण हुने गर्छन । यतिबेला नेपालीमाझ एक होइन अनेकन समस्या छन् । अनेकन संकट झेल्दै मानिसका दैनिकी चलिरहेको छ । हालैको महाविनाशकारी भूकम्पले अर्थतन्त्रमा सात खर्बको प्रभाव परेको रिपोर्ट योजना आयोगले हिजो मात्रै सार्वजनिक गरेको छ ।
आयोगको रिपोर्ट अनुसार हाउजिङ र मानव बस्तीमा तीन खर्ब ५० अर्बभन्दा बढीको क्षति भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट आठ हजार सात सय १० जनाले ज्यान गुमाएका छन् । २० हजारभन्दा बढी घाइते तथा अपांग भएका छन् ।
दुई लाखभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भए भने आठ लाख घर आंशिक रूपमा क्षति भयो । सरकारले संकटको यस घडीमा सघाउन स्वदेशी तथा विदेशी सबैलाई सहयोगको लागि अपिल गरिसकेको छ । प्रारम्भिक रूपमा सहयोगहरू पनि आइरहेकै छन् ।
नेपाल पुनर्निर्माणका लागि सरकारले आगामी असार १० गते दाता सम्मेलन गर्दै छ । यसरी विपत्मा स्वदेशी मात्र होइन धेरै विदेशीले आप्नो व्यक्तिगत तवरमा सहयोग समेत गर्दैछन् । तराईका जनताले यसघडीमा पहाडमा राहत बाँडे श्रमदान गरे, सकेको सहयोग पनि गरे ।
कलाकार, विद्यार्थी, पार्टी कार्यकर्ता, इन्जिनियर, डाक्टर, विदेशमा रहेका नेपाली, नेपाल प्रेमी विदेशी, विदेशी दातृ निकाय यावतले आप्ना ढंगले सहयोग गर्दै छन् । क्षतिग्रस्त पहाडी जनताको घाउमा थोरै भए पनि मलम लगाउन मनकारी जीवत्माहरू लागिरहेकै छन् । यसरी विश्वव्यापी रूपमा सहयोगी हातहरू बढनुमा सञ्चारको ठूलो योगदान रहेको देखिन्छ ।
तर, यसै घडीमा अर्काथरी त्यस्ता जीवआत्मा देखिएका छन् जो अवसरको फाइदा उठाउन दत्तचित्त छन् । कतिपयले भूकम्पपीडितका नाममा सहयोग जुटाएर आप्mना अभिष्ट पूरा गर्दै गरेका दृष्टान्त सार्वजनिक हुँदै छन् ।
भूकम्पपछि काठमाडौं उपत्यकाका सात हजार घर अनिवार्य भत्काउनुपर्ने विवरण आइसकेको छ । उपत्यकामा माटाले बनेका धेरै घर त ढलिसकेका छन् । त्यसकारण एकाथरी काठमाडौंका घरबेटीलाई घर क्षतिको पीडा छ तर अर्काथरी घरबेटी भूकम्पपीडितको पीडामा मलम लगाउनु त कहाँ हो कहाँ यही मौका छोपेर भाडा बढाउन तँछाडमछाड गरिरहेका छन् । हजारौँ घर भत्किएपछि कोठाको संकट देखिनु स्वभाविक हो ।
तर, विपत्मा पनि अवसरको लाभ लिन खोज्नु र बाध्यतामा काठमाडौँ बस्नैपर्ने मानिसमाथि शोषण गर्न खोजिनु घरबेटीको यो कस्तो मानवीयता हो ? विपत्को बेलामा त यिनीहरूले राहत बाड्नतर्पm लाग्नुपर्ने हो । अप्ठ्यारामा परेकालाई सघाउनु पर्ने हो । महिनाँ लामो विपत्मा भाडा छुट गरेर मानवीयता देखाउनु पर्ने हो नी । तर, किन काठमाडौंका घरबेटीमा मान्छे मरेका, बिल्लीबाठमा परेका र भोकभोकै प्रताडित भएका निर्मम घटनाले छोएन ? आप्नो घर भत्किए सरकारलाई गुहार्ने, रुने, कराउने अनि आफू जस्तै अरूको घर भत्किए सहानुभूति पनि नदेखाएर अवसरको लाभ लिन खोज्ने यो कसरी सुहाउँछ ? हामी त २१औँ शताब्दीको विवेकशील प्राणी होइनौँ र ?
फेरि हामी अबुझ गाईवस्तु त होइनौँ नी ? संसारले यो विपत्को घडीमा नेपाललाई अर्बौं अर्ब, करोडौँ रकम दान गरिरहेको छ । किन गरे त त्यो दान ? के हामी सोच्न सक्दैनौँ । आप्नो गाँस काटेर उनीहरूले नेपालीप्रति सहानुभूति दर्शाएका एवं माया गरेका हुन् त्यो । समुन्द्रपारबाट भूकम्प पीडितलाई महामानवहरूले त्यसरी सहयोगहरू गरिरहँदा यहाँका घरबेटीले भने उल्टै अवसरको लाभ लिन खोज्नु जस्तो ज्यादती अरू के हुन सक्ला ? यो कस्तो मानवीयता हो ?
यतिबेला त घरबेटीले विपत्को एक महिनाको भाडा छुट गरिदिनु पर्ने हो नी । भएको भाडालाई पनि घटाएर जनतालाई राहत दिनुपर्ने हो । सरकारलाई घरबहाल कर पनि नतिर्ने, छल्ने, ढाट्ने अनि भाडा बेग्रल्ती बढाएर शोषण गर्ने यो प्रवृत्ति कदाचित न्यायिक छैन ।
घरभाडाको सवाल विकाराल एवं पेचिलो सवाल हो । जसले ठूलो संख्यामा दुःखजिलो गरेर बस्नेलाई अत्यन्त प्रभावित पारेको छ । राजनीति गर्ने फष्टक्लास नेताको त कुरा नगरौँ सेकेन्डक्लास नेताले पनि यो पीडा बुझेका होलान् । महिनाभर काम गरेर पनि भाडा तिर्न मुस्किल पर्ने जमात पनि काठमाडौंमा छन् ।
सरकारले विकेन्द्रीकरण नगरेका कारण तमाम कामका लागि काठमाडौं अनिर्वाय छ । मन्त्रालयसँग सम्बन्धित काम होस् वा विदेश जाने काम वा पढाइ लेखाइको काम वा पेसा व्यवसाय सबैका लागि काठमाडौं अनिवार्य छ । यसरी काठमाडौं नै सबै हिसाबले अनिवार्य भएपछि यसलाई व्यवस्थापन गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी हो । नालायकीपन हो । यदि, यो विषयमा सरकारले व्यवस्थापकीय र वैज्ञानिक रूपमा काम गर्ने हो भने सरकारको प्रशंसा नै हुन्छ ।
अहिले जस्तो सरकारी सुब्बाको तलव २० हजार आसपास हुन्छ । काठमाडौंमा उसले डेरा गरी बस्न एउटा फ्ल्याटको १५ हजारभन्दा माथि तिर्नुपर्छ । अझ यो रकम अपुग पनि होला । १५ हजार भाडा तिरेर उसले महिनाभर खाजा के खानु, मोबाइलमा रिचार्ज के हाल्नु, गाडी भाडा कसरी तिर्नु, बिहान बेलुकीको खाना कसरी खानु, औषधि उपचार कसरी गर्नु, परिवार कसरी पाल्नु अनि बच्चाबच्ची भए कसरी पढाउनु ? राज्यले यसरी कहिल्यै हिसाब गरेको छ ? फेरि सबै सुब्बा छैनन् काठमाडौंमा ? यहाँ धेरै त बेरोजगार तथा अर्धबेरोजगार छन ।
गाउँघरबाट गुन्दु्रक र आलु ल्याएर दुःख साथ काठमाडौं बसी पढ्नेहरू पनि त छन् यहाँ । उनीहरूलाई राज्यले अवसर दिनु त कहाँ हो कहाँ बस्ने र पढ्ने वातावरण पनि तयार गर्न सकेको छैन । यसरी घरघाडामा हुने यो विघ्न महँगीले खाद्यान्नमा पनि महँगी, तरकारीमा पनि महँगी धेरैथरी महँगी वीजारोपण गरेको छ । अर्थात महँगीको एकअर्कासँग सम्बन्ध हुन्छ अनि त भष्टाचार, अराजकता, डकैतीलगायत अमानवीय कामहरू बढनु अनौठो कहाँ हुन्छ र ?
त्यसकारण सरकारले एउटा वैज्ञानिक भाडादर ल्याउन अत्यन्त आवश्यक छ । भाडा उठाएर कामै नगरी लखपति हुने घरबेटीको रबैया उपर कदम चाल्न जरुरी छ । घरभाडा भनेको निश्चित हुनुपर्छ सुविधाको आधारमा रेटिङ गरिनुपर्छ । भाडावाल सरोकार समाजले तीन महिनाको भाडा छुट, भूकम्पपीडित भाडावाललाई उचित राहत र वैज्ञानिक भाडादर लागू गर्नु पर्ने विषयलाई लिएर चर्को बहस चलाइरहेको देखिन्छ । समस्या सामाधान नभए आन्दोलनमै जाने समाजका अध्यक्ष विष्णुजङ बस्नेतले बताएका छन् । यो मुद्दालाई मिडियाले पनि चर्को रूपमा आवाज उठाउनुपर्ने समाजका अध्यक्षले पंक्तिकारलाई बताए ।
संसारभर जहाँ पनि विपत्पछि सरकारले महँगी नियन्त्रण गर्न धेरै ठूला पहलकदमी गरेका उदाहरण छन् । विपत्पछिको महँगी नियन्त्रणसमेत गर्न नसक्नु सरकारी असफलता हो । नेपालमा पनि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयले भवन निर्माण आचारसंहिता पालना गराउन, घरभाडा व्यवस्थापन गर्न विशेष योजना ल्याउनै पर्छ । अन्यथा, यी मन्त्रालयको र मन्त्री हुनुको के अर्थ ? त्यसकारण अन्यायमा परेका जनताको घाउमा मलम लगाउन सरकारले तदारुकता देखाउनु पर्छ ।
रिबी, अभावमा पिल्सिएका, अशक्त, बेरोजगारीदेखि व्यापारीसम्म सबैलाई मध्यनजर गरेर सरकारले वैज्ञानिक भाडादर लागू गर्न आवश्यक छ । फेरि काठमाडौंका घरबेटीलाई सहानुभूति देखाउनुपर्ने आवश्यकता देखिँदैन । किनभने यिनीहरूले बर्सौदेखि चाहिनेभन्दा ज्यादा भाडा उठाएर धेरै पैसा संकलन गरिसकेका छन् । अपवादमा कोही घरबेटी पनि पीडामा होलान् । सबै घरबेटीले चाहिनेभन्दा बढी पैसा संकलन गरिसकेका छन् । यो रवैयाको अन्त्य हुनुपर्छ ।
सेवा सुविधाचाहिँ केही नदिने अनि अवसर र आश्रय खोज्दै आएकालाई अचाक्ली शोषण गर्ने प्रवृत्ति दण्डनीय छ । फेरि काठमाडौंका कतिपय घरबेटीले घरमा पानी भइभई पनि कोठामा बस्नेलाई पानी नदिने, बिजुली काटिदिनेलगायत अपराधिक कार्य गरेर बसिरहेका मान्छेलाई हटाउने गरेका गुनासा पनि छन् ।
संसारले दया देखाइरहेको यस विपत्को घडीमा यस्ता क्रियाकलाप गर्नेलाई सरकारले कडा कारबही गर्न आवश्यक छ । सरकारले तत्काल नयाँ कार्यक्रम ल्याएर घरबेटी भाडावाल समस्या सामाधान गर्नुपर्छ । सरकारको नीति र कार्यक्रम अटेर गर्नेलाई सबै खालका सरकारी सुविधा कटौती गर्दै भोलि हुनसक्ने विपत्मा सहयोगबाट पनि वञ्चित गराउनुपर्छ ।
डेरावालको समस्या मन्त्री, प्रधानमन्त्री र उच्चपदस्थ भएर बस्नेहरूले यसअघि महसुस नगरे पनि अब गरेर जनतालाई राहत दिनसक्नुपर्छ अन्यथा यो विपत्को मार भाडावालहरूले जति हरूले खेप्नु पर्ने देखिँदैन ।
प्रतिक्रिया