प्रधानमन्त्रीलाई तरुणको प्रश्न

Harish-Bhandari-Dang-Nepalसम्माननीय प्रधानमन्त्री
सुशील कोइरालाज्यू,
जय नेपाल !

तपाईं गम्भीर, भद्र र शालीन व्यक्तित्वका धनी हुनुहुन्छ । म तपाईंलाई पूर्ण आदर र सम्मान गर्छु । आफ्नो बारेमा केही बताउँदै म मेरा कुरा तपाईंसमक्ष राख्न अनुमति चाहन्छु । म आफूलाई यो देशको एउटा स्वतन्त्र र प्रजातन्त्रवादी नागरिक भन्न रुचाउँछु । तर, असजिलो र उदेकलाग्दो अवस्था कहाँनिर पाउँछु भने सायद गहिराईमा जाँदा म यी दुवै कुराबाट वञ्चित छु ।

म अहिलेको अवस्थामा यही वैशाख १२ र २९ गते महाविनासकारी भूकम्प गइसकेपछिको बारेमा केही विचार राख्न चाहन्छु । मैले विभिन्न मिडियामार्फत सार्वजनिक भएपछि अनि यसै देशको नागरिकको हैसियतले थाहा पाएअनुरूप यही असार १० गते हुन गइरहेको दाता राष्ट्रहरूको सम्मेलनका बारेमा केही कुरा पनि राख्न चाहेको छु ।

सायद मलाई थाहा नहुनसक्छ तर म केही पुराना कुराहरू पनि कोट्याउन चाहन्छु । तपाईंले आजसम्म भन्ने गर्नुहुन्छ मैले घुस लिएको छैन । वास्तवमा हामीले इतिहासमा तपार्इंलाई राष्ट्रवादी, नैतिक र इमानदार व्यक्तित्वको रूपमा चिनेका छौँ जसरी तपाईंले आफूलाई चिनाउनुभएको छ ।

हो, आज हामी एउटा राष्ट्रिय महाविपत्ति भोगिरहेका छौँ जसको कल्पना र परिकल्पनासम्म आमनेपाली जनतालाई थिएन । तर, हामीले जुन कुरा भोगिरहेका छौँ र बुझिरहेका छौँ, त्यसको समाधान के हो भन्ने ठ्याक्कै कुरा यस देशका तीन करोड जनताको दिमागमा झुल्किइरहेको छ ।

इतिहास केलाउँदा हामी स्वाभिमानी, राष्ट्रभक्त, बहादुर, इमानदार नेपाली नागरिक भनेर चिनिन्छौँ । के अब आउँदा दिनहरूमा समेत यी सबै कुरालाई आत्मसात् गरेर हिँड्न नसक्ने भयौँ त हामी ?
आज हामीले देश विदेशमा गएर नेपालको झण्डालाई माग्ने भाँडोका रूपमा प्रयोग गरेर दातृराष्ट्रहरूसँगै हारगुहार गर्नुपर्ने अवस्था वास्तविक रूपमै आएको हो त ? हाम्रो देशमा रहेका साधन, श्रोत र शक्तिहरू निश्प्रभावी भएकै हुन त ? कि हामी सत्तामा र महत्वपूर्ण पदमा आसिन व्यक्तिहरूको क्षमता समाप्त भएको हो ? आज तपाईंले जवाफ दिनै पर्छ, सम्पूर्ण नेपाली नागरिकलाई ।

इतिहासको एउटा घटनाक्रमलाई सम्झँदा, पृथ्वीनारायण शाहको कुरा गर्न मन लाग्यो । जतिबेला पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्ने जुन सपना देख्नुभयो, त्यतिबेला वहाँले दातृराष्ट्रको भेला त बोलाउनु भएन, वहाँले प्रत्येक राज्यका व्यक्तिसँग अनिवार्य सहयोग माग्नु भयो, (रु.५) पाँच रूपैया मात्र । संकलन गर्नुभयो आफ्नो र जनताको साहस । अनि राष्ट्र नेपालको नक्सा तयार गर्न थाल्नुभयो ।

आज तपाईं देश बनाउने ठाउँमा कार्यकारी प्रमुखको रूपमा यो देशको उच्च पदमा आसिन हुनुहुन्छ । तपाईंले पनि यस्तो सपना देख्नुभएको छ ? कि यस देशका नागरिकले नै आफ्नो देशलाई विकसित सम्मुन्नत बनाउन सक्नुपर्ने हो ? हामीलाई लाग्छ, यस देशको शिर सगरमाथा हो जुन कहिल्यै झुक्न सक्दैन ।

हाम्रो अस्तित्व धरहरा हो जुन कहिल्यै ढल्न सक्दैन । हाम्रो स्वाभिमान अटल छ जुन अरूसँग मागेर भरिन सक्दैन । वास्तवमा इतिहासका राम्रा र असल कुरालाई हामीले अगाडि बढाउन सकेका छैनौँ । के अब हामीलाई प्रकृतिले दिएको चुनौतीको सामना गर्न दातृराष्ट्रको सम्मेलन गरेर शक्ति प्राप्त हुन्छ ? मलाई लाग्दछ अवश्य हुँदैन ।

हो तपार्इं विगत ६ दशकदेखि नेपाली राजनीति, परिवेशमा हुर्केर बढेर उच्च स्थानमा आसिन गम्भीर व्यक्तित्व हुनुहुन्छ । के वास्तवमा तपाईंले गम्भीर रूपमा सोच्नुभएको छ, तपाईसँग नेपाल राष्ट्र बनाउने र नवनिर्माण गर्ने कुनै योजना छ ? कि त्यो पनि दातृराष्ट्रलाई जिम्मा दिन चाहनुहुन्छ ?
के हामीसँग कुनै सामथ्र्य छैन यो देश निर्माण गर्ने ? अथवा, हामी अरूका दीनहीन पात्र हौँ, मात्र उनीहरूको योजनालाई मूर्त रूप दिने ?

हामी विदेशी दातृनिकाय राष्ट्रसँग हाम्रो झण्डालाई माग्ने भाडो बनाएर माग्न जाने कि हामीसँगै भएको सीमित साधन श्रोतलाई प्रयोग गरेर स्वाभिमानी नैतिक र बहादुर नेपाली बन्ने भन्ने कुरा तपाईं छुट्याउनुहोस् र यसको जवाफ दिनुहोला भन्ने अनुरोध गर्दछु ।

प्रतिक्रिया