मूल्य, नेतृत्व र संविधान

keshav_prasad.bhattaraiहेनरी किसिन्जरले एउटा सन्दर्भमा भनेका छन्– ‘हतार–हतार कुनै आकस्मिक प्रवन्धद्वारा कुनै नयाँ र दिगो व्यवस्था स्थापना गर्न सकिँदैन, तर कुनै आकस्मिक घटना र स्थिति विकास नै नयाँ व्यवस्थालाई परिकल्पना गर्न र त्यसलाई स्थापना गर्न भने आवश्यक हुन्छ ।’
जेठ २५ गते प्रमुख चार दल र मधेसी मोर्चाका विजय गच्छदारबीच नयाँ संविधानबारे भएको सहमतिले माथिका दुवै स्थितिलाई प्रतिनिधित्व गर्दछ ।
गएको भूकम्पबाट अति प्रभावित जिल्लाका मानिसले बेहोर्नुपरेको त्रासदी आफ्नो ठाउँमा छ । तर, त्यसले हामीलाई हाम्रो भवन निर्माण र भू–उपयोगनीति, बस्ती विकास र पुनस्र्थापनाबारे नयाँ ढंगले सोच्न सिकाएको छ । यसले हाम्रो विकाससम्बन्धी मूल्य र नीतिमाथि पनि समग्र समीक्षा गर्न अह्राएको छ ।
निश्चय नै हाम्रो राष्ट्रिय ऊर्जा र शक्तिको उत्साहजनक प्रदर्शन पनि भएको छ । तर, भूकम्पले हाम्रा अभावलाई पनि उदांगो पारेको छ, हामीलाई बिगारेको छ । हाम्रो राष्ट्रिय स्वाभिमान र व्यक्तिगत आत्मसम्मानलाई आफैँमाझ र विदेशीहरूका सामु पनि धुजा–धुजा पारेको छ ।
समाजको ठूलो पंक्तित आफ्नो उदात्त मूल्य–परम्परासहित उभिएको छ । तर, टाठाबाठा र खास रूपमा नेपाली राजनीतिको चेहराको बिद्रुप चरित्र पनि प्रदर्शित भएको छ । गाउँ–गाउँमा मानिस सबै काम छोडेर सडकका छेउमा र बस्तीहरूका केन्द्रमा राहत ओसार्ने गाडी कुरेर बस्ने र ‘जो हाथ सो साथ’ गरिरहेका छन् । सरकारले प्रदान गर्ने भनिएको १५ हजार पाउन भूकम्पपछाडिको मितिमा अंशबण्डा गरेर परिवार फुटाएको देखाउने, राजधानीमा घर भएकाहरू निजीगाडी चढेर जिल्ला जाने अनि सोही १५ हजारका लागि सचिवहरूमाथि हुलहुज्जत गर्ने र आक्रमणको प्रयास गर्ने गरेका समाचार आइरहेका छन् ।
राहतमा आएको चामल र च्युरा कसैले वर्ष दिनका लागि जोरजाम गरेर खेतीपाती छोडेको कुरा पनि सुनिन थालिएको छ । पीडित जिल्लाहरूमा पुगेका चामल त्यहाँ कार्यरत कर्मचारीमार्फत विराटनगर र चितवन पुगेको सुनिन थालेको छ । राहत सामाग्रीहरू बजारमा पुगेका र स्वयं सभासद्हरूले पनि त्यस्तो राहत सामग्री बिक्री वितरण गर्न थालेका कुरा छापामाध्यममा आइरहेका छन् ।
भूकम्पपीडितलाई भनेर बंगलादेशबाट आएको र दुई साताअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको ५९ हजार दुई सय ७२ थान ब्ल्याङ्केटमध्ये ५७ हजार थान हराएको र त्यसमा उद्धार र राहतको मुख्य जिम्मेवारी रहेका मन्त्रीकै हात रहेको समाचार पनि छापिएको छ ।
एकजना मित्रले एउटा सन्दर्भमा भन्नुभयो, ‘भूकम्पको राहतले… चोर, लुटेरा र मगन्ते बनाएको छ । सत्ता र शक्तिमा बस्नेहरूलाई भ्रष्टाचार गर्न एउटा अर्को दैलो उघारिदिएको छ । ‘प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकममा भ्रष्टाचार हुँदैन !’ ‘राहतमा हिनामिना गर्नेलाई कारबाही हुन्छ !’ किन दिनमा दर्जनौँपटक यो कुरा प्रधानमन्त्रीदेखि सबै मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले बारम्बार भनिरहनुपरेको छ ?
आफ्नो नियत र निष्ठामा जनताले विश्वास गरिरहेका छैनन् । त्यो उनीहरूलाई थाहा छ । त्यसैले बारम्बार त्यही कुरा भनिरहेका छन् । ‘राहतमा हिनामिना भएको छ’ ! त्यो पनि उनीहरूलाई थाहा छ । दाता समूहले विश्वास नगरेको तीतोयथार्थ पनि सँगै छ ।
यो सबै यसकारण भइरहेको छ कि हामीले हाम्रा लागि कुनै मूल्य निर्माण गरेनौँ र मूल्यसञ्जाल र मूल्यप्रणाली विकास हुनै दिएनौँ । भएकालाई ढाल्यौँ, नयाँ निर्माण गर्न सकेनौँ ।
मूल्य विचलनको यो स्थिति, प्रणाली र निर्वाचनको यही शैलीमा कुनै राम, बुद्ध वा गान्धीले पनि स्वच्छ शासन र प्रशासन दिन सक्दैनन् भन्नेमा यो पंक्तिकार विश्वस्त छ । त्यसैले कुनै व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री वा अन्य कुनै व्यक्ति कुनै उच्च पदमा रहनु नरहनु वा ती पदमा अर्को कुनै व्यक्ति नियुक्त हुनु र नरहनुमा यसको कुनै सरोकार छैन ।
हो, असल अर्थात् स्वच्छ र सक्षम व्यक्ति नभएका होइनन् । छन् । तर, जो असल छन् उनीहरूको संगठन अनि सञ्जाल छैन । असल मानिस बिनासंगठन एक्लै पनि बाँच्न सक्छन् तर खराबहरू सक्दैनन् ।
असल मानिसले संगठन बनाउनेबारे सोचिदिएनन् । एक्लै असल भएर बसिदिए अनि खराबहरूको जताततै हालीमुहाली भयो र देश यस्तो भयो । मूल्यनिरूपण कसैको लक्ष्य नै बनेन ।
मनमा कुरा आइरहन्छ, संविधानले दुई वर्षका लागि राष्ट्रपति पदमा निर्वाचित गरेका डा. रामवरण यादवले दुई वर्ष भुक्तान भएपछि संसद्समक्ष ‘म जति अवधिका लागि आएको थिएँ, त्यो अवधि समाप्त भयो । संसद्ले यथायोग्य निर्णय गरोस् भनेर संसद्मा सन्देश पठाएको भए उनको त्यति सन्देशले गणतन्त्र संस्थागत भएको हुन्थ्यो, मुलुकका प्रथम राष्ट्रपति मुलुकका प्रथम निर्वाचित प्रधानमन्त्रीकै सरह नेपाली जनताको हृदयमा बसेका हुन्थे ।
देशको दुर्भाग्य, उनको मनमा यो कुरा आएन ।
सुशील कोइराला प्रधानमन्त्री हुने हक राख्थे । मुलुकका नेतृत्व पंक्तिमा रहेका मानिसमध्ये आमजनताको दृष्टिमा उनको छवि सरल, स्वच्छ र इमानदार थियो । अनुभव र क्षमताको अभावलाई निच्छलता, स्वच्छता र इमानदारीले सजिलै क्षतिपूर्ति गर्न सक्थ्यो । त्यसलाई पदमा रहँदा पनि कायम राखिरहन सकेका भए ।
उनी एक वर्षभित्र संविधान बनाउने र संविधान बने पनि र नबने पनि एक वर्षपछि पदमा नरहने वाचा गरेर आएका थिए । कागज पनि गरेका थिए । ‘मेरो राष्ट्रसामु वचनबद्धता थियो, क्षमा गर्नोस् निर्धारित अवधिमा संविधान जारी हुन सकेन, यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै म प्रधानमन्त्रीको पदबाट राजीनामा दिन्छु’ भनेर राष्ट्रलाई सम्बोधन गर्दै पदत्याग गरेका भए ?
के जित्नु थियो सुशील कोइरालालाई ? के पाउनु थियो उनलाई ? देशको सबैभन्दा ठूलो दलको सभापति र प्रधानमन्त्री भइसकेपछि जसरी तसरी थप केही महिना टिक्नका लागि…? यहाँ पनि हाम्रो भाग्यले हामीलाई साथ दिएन ।
नेतृत्वको मूल्यचेतना र मूल्यनिष्ठाले संगठन, समाज र राष्ट्र जीवन्त र सवल हुन्छ । त्यस्तो मूल्यनिष्ठा नै समाज र राष्ट्र निर्माणको बीजशक्ति हो । संविधानले त्यसैलाई संस्थागत गर्ने हो । डा. रामवरण यादव र सुशील कोइरालाबाट जुन अपेक्षा पूरा भएन त्यो कोबाट अपेक्षा गर्ने ?
सुशील कोइरालाको ठाउँमा खड्गप्रसाद ओली आउने कुरा सुनिँदै छ । तर, उनले यो मुलुक र समाजले सपना देखेको जस्तो श्रेष्ठ मूल्यहरू निरुपण गरेर राष्ट्र निर्माण र राज्य सञ्चालनको दायित्वको नेतृत्व गर्न सक्लान् ?
उत्तर ओलीले नै दिन सक्छन् । गृह र परराष्ट्रमन्त्रीको रूपमा ओलीले तुलनात्मक रूपमा राम्रो क्षमता देखाएका हुन् तर मूल्य निर्माणका सवालमा ? प्रश्न ठूलै छ ।
कुनै भू–भागभित्रका जनताका सामुहिक विवेक र मूल्यचेतना नै राष्ट्र हो । ती विवेक र चेतनाका स्रोत भनेका त्यो भू–भागभित्र सताब्दियौँदेखिको विकसित मूल्य प्रणाली हो र त्यस्तो मूल्य प्रणालीले राष्ट्र र समाजका सदस्यहरू र राजनीतिक, सामाजिक र आर्थिक संगठनहरूलाई परस्पर र उनीहरूको आम जनताप्रतिको व्यवहार एवं समाजका सदस्यहरूको एक अर्काप्रतिको व्यवहारलाई मार्गदर्शन र नियन्त्रण गर्दछ ।
जुन मूल्यले हाम्रो समाजलाई जोडेको थियो त्यसलाई भत्कायौँ अनि स्वार्थले जोडेको समाज बनायौँ । त्यागले जोडेको समाज भत्कायौँ लोभले जोडेको समाज बनायौँ । मूल्यमा आधारित समाजलाई मूल्यविहीन समाजमा रूपान्तरण ग¥यौँ ।
हो, कतिपय मूल्य भत्काउनुपर्ने पनि थिए । भत्काएर बेस ग¥यौँ, तर नयाँ बनाउन नसकेर राष्ट्र र समाजलाई मूल्यहीन बनायौँ । व्यक्तिको समूहले मात्र राष्ट्र, समाज र संस्था बन्दैन । कसैलाई कसैप्रति विश्वास गर्न सिकाउँदैन ।
मूल्यविहीन, विश्वासविहीन, संस्कारविहीन र आचारविहीन जमातले राष्ट्र र समाज बनाउँदैन । संविधानको अर्थमा संविधान पनि बनाउँदैन । संविधानले मूल्यहरूको संगठन र सञ्जाल बनाउँछ । संविधानद्वारा निर्धारित मूल्यहरूमा आधारित भएर राज्य अंगहरू, राज्य र नागरिक तथा नागरिक–नागरिकबीचको सम्बन्ध र त्यस्ता सम्बन्धहरूको असरलाई व्यवस्थापन गर्दछ । अनि त्यसैको आधारमा राज्य सञ्चालन गर्न, समाज निर्माण गर्न र समाजलाई रूपान्तरण गर्न सक्दछ ।
त्यसैले संविधान मात्र बनाउने कि राष्ट्र र समाजका लागि मूल्य, संस्कार र विश्वासको जग पनि हाल्ने ? प्रश्न त्यत्ति हो ।

प्रतिक्रिया