हामी

bupi-serchanहामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौँ
र बादल बन्छौँ,
हावाको इसारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौँ,
अनि एकचोटी माथि पुगेपछि
हामी आफ्नो धर्तीलाई बिर्सन्छौँ
र आफ्नो धर्तीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा
निर्बलिया थोपाहरूमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउँछौँ बाँकी जीवन
टर्रटर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरू पालेर,
विष नभएका सापहरू अँगालेर
हामी जतिसुकै माथि उठौँ
जतिसुकै यताउति दगुराँ
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी भित्रभित्रै खोक्रा छौँ
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लठघय छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टोको ‘छ्वाइय’ भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्रभित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौँ
हाम्रो बाहिरको उचाइ झुटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उचाइभन्दा
यसको बढी महत्व छैन
वा दुईवटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उचाइमा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौँ
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौँ
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौँ
हामीले सामान्य मानिसको उचाइलाई बिर्सिसक्यौँ
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैँ
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरूको उसमाथि
प्रहार गर्छौं
उसको अंग–प्रत्यंगमा चढ्छौँ
उफ्रन्छौँ
टोक्छौँ
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ
शान्त हुन्छौँ
समर्पित हुन्छौँ
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
फुत्त ओर्लेर त्यसको पाउ पखालेझैँ
हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौँ
हामी ‘लिलिपुट’ का मानव हौँ ।
हामी लघुमानव हौँ ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्नै,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङरोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढी गोटी हौँ ।

हामी वीर छौँ
तर बुद्धु छौँ
हामी बुद्धुछौँ
र त हामी वीर छौँ
हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ
हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौँ
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौँ
ढोग्छौँ
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिँढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरुदक्षिणा माग्छ
र हामी सहर्ष उसको इसारामा
आफ्नो बुढीऔँला काटेर उसलाई भेटी दिन्छौँ,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मक्ख पर्छांै आफ्नो गुरु भक्तिमाथि

आफ्नो आत्म शक्तिमाथि
त्यसैले त हामी वीर त छौँ
तर, बुद्धु छौँ
हामी बुद्धु छौँ
र त हामी वीर छौँ
हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ
हामी कसैको मूर्ति स्थापना नगरिकन
वीर कहिल्यै हुन सकेनाँै ।
हामी पाइतला हौँ
केवल पाइतला
र फगत पाइतला
पाइतला, जसको भरमा शरीर उभिन्छ
पाइतला, जसको आधारमा शरीर हिँड्छ
पाइतला, जसको भरोसामा शरीर दगुर्छ
पाइतला, तर जो भन्ठान्छ कि
शरीरले नैै कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँगसँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधैँ शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शीर उचालेर माथि हेर्दैन
सधैँ–सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ
केवल पाइताला
र फगत पाइताला ।

हामी केही पनि होइनौँ
र शायद त्यसैले केही हौँ कि !
हामी कतै पनि, केही पनि छैनौँ
र शायद त्यसैले कतैै, केही छौँ कि !
हामी बाँचिरहेका छैनौँ
तर, शायद त्यसैले पो बाँचेका छौँ कि !
त्यसैले आओ ए शून्य पूजकहरू !
हामी सब मिलेर पूजौँ यो शून्यतालाई
हामी सब मिलेर ढोगौँ यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई ।

(घुम्ने मेचमाथि अन्धो मान्छेबाट)

प्रतिक्रिया