सन् २००४ अर्थात् बार्सिलोनामा मेसीको डेब्यु सिजन । उनले अक्टोबर १६ मा स्प्यानोलविरुद्धको खेलमार्फत स्पेनिस लिगमा डेब्यु गरे । त्यतिबेलासम्म १७ वर्ष एक सय १४ दिनका मेसी स्पेनिस लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी थिए ।
उनले कोरेको नयाँ कीर्तिमान विश्वका लागि अचम्म लाग्दो विषय अवश्य थिएन । विश्वको ध्यान त्यतिबेला बार्सिलोनामा रहेका रोनाल्डिन्हो, स्यामूयल इटो र डेकोजस्ता खेलाडीमा केन्द्रित थियो । मेसीले सात महिनापछि अल्बाकेटविरुद्ध गोल गर्दै बार्सिलोनाको जर्सीमा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाए ।
दुई वर्षपछि मेसीका दुईवटै कीर्तिमान बोजन कर्किकले तोडे । तर, मेसीले कीर्तिमानमाथि कीर्तिमान थप्ने आफ्नो पुरानो बानीलाई निरन्तरता दिई नै रहे । उनकै प्रेरणामा बार्सिलोना समेत विश्व कीर्तिमानी क्लब बन्यो, यसै साता । सन् २००८–२००९ को सिजन स्पेनिस ला–लिगा, किङ्स कप र च्याम्पियन्स लिग जितेर एकैपटक तीनवटा प्रमुख उपाधिमाथि कब्जा जमाउने पहिलो स्पेनिस क्लब बनेको बार्सिलोना यसै साता पुरानो कीर्तिमानको पुनरावृत्ति गर्न सफल भयो ।
यसपटक बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा कीर्तिमान होइन एउटा दुलर्भ इतिहास कोरियो । दुई पटकसम्म प्रमुख तीन उपाधि जित्ने बार्सिलोना विश्वकै पहिलो क्लब बन्यो । सन् २००८–२००९ मा उपाधि जिताउन मुख्य भूमिका खेल्ने खेलाडीहरू मध्ये साता खेलाडी यसपटक पनि बार्सिलोनामै थिए । आन्द्रेस इनिष्टा, जाभी हर्नान्डेज, जेरार्ड पिके, पेड्रो रोड्रिग्वेज, सर्जियो बुस्क्वेट र डेनी अल्भास सम्मिलित यो ऐतिहासिक टोलीको सारथी रहे, मेसी । मेसीले च्याम्पियन्स लिगको फाइनलमा कुनै गोल नगरे पनि लुइस सुआरेज र नेइमारलाई गोलका लागि अवसर सिर्जना गरिदिए ।
यस सिजन च्याम्पियन्स लिगमा १० गोल गर्दै सर्वाधिक गोल गर्नेको सूचिमा रोनाल्डो र नेइमारसँगै मेसी शीर्ष स्थानमा अटाए । उनले स्पेनिस लिगमा ४३ गोल गरे भने थप १८ गोलका लागि अवसर सिर्जना गरे । नेइमार र लुइस सुआरेजसँग मिलेर मेसीले यस सिजनमा एक सय २२ गोलको साझेदारीसमेत गरे । यस कीर्तिमानसँगै पाँच वर्षको कलिलो उमेरबाटै फुटबल खेल्न सूरु गरेका मेस्सीले फेरि एकपटक विश्वकै सर्वोत्कृष्ट फुटबलरका रूपमा आफ्नो छवि प्रमाणित गरेका छन् । उनको खेलशैलीले पेले र म्याराडोनाको व्यक्तित्वलाई समेत चुनौती दिएको छ ।
वर्तमान विश्वका उत्कृष्ट खेलाडी मेसीले लगातार चारपटक फिफा तथा युरोपेली वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् २०१३ र सन् २०१४ मा रोनाल्डोले वर्ष खेलाडीको अवार्ड मेसीसँगै खोसे पनि यसपटक निर्विवाद रूपमा फेरि मेसीले वर्ष खेलाडीको अवार्ड जित्ने लगभग तय भएको छ । उनी यस वर्षको वर्ष खेलाडी घोषित भएमा सर्वाधिक पाँचपटक बेलोन डिअर जित्ने खेलाडीको नयाँ कीर्तिमान बन्नेछ । यस्तोमा मेसीको प्रतिस्पर्धा अरू कोहीसँग होइन, आफ्नै पुरानो कीर्तिमानसँग हुनेछ । सर्वाधिक चारपटक वर्ष खेलाडीको अवार्ड जित्ने कीर्तिमान पनि उनकै नाममा छ ।
होचो कदका मेस्सीको जादु अर्जेन्टिनामै देखिएको थियो । आठ वर्षको उमेरमै मेसीलाई निबेल बल्ड ब्वाइजले आबद्ध गरेको थियो । तर, ११ वर्षको उमेरसम्म उनको उचाइ बढेन । कारखानामा मजदुरी गरेर सामान्य आम्दानी गर्ने उनका बाबु र आमाका लागि मेसीको उचाइ ठूलो समस्याको विषय रह्यो । मेसीलाई क्लबमा भित्र्याउनका लागि रिभर प्लेटले चासो देखाएको थियो, तर महिनाको नौ सय अमेरिकी डलर खर्च गर्न सक्ने अवस्थामा रिभर प्लेट थिएन ।
त्यति नै बेला मेसीको फुटबल खेल्ने शैलीबाट कार्लेस रिक्याच प्रभावित थिए । बार्सिलोनाका पूर्वखेलाडी रिक्याच त्यतिबेला बार्सिलोनाको स्पोर्टिङ डाइरेक्टर बनिसकेका थिए । बार्सिलोनामा मेसीले ट्रायल पूरा गरेपछि स्पेनिस फुटबलशक्ति सम्पूर्ण उपचार खर्च व्यहोरेर उनलाई एकेडेमीमा भित्र्याउन तयार भयो । त्यसपछि मेसी बार्सिलोनाको एकेडेमीमै बसेर उत्कृष्ट फुटबलर बन्ने सपना साँच्दै फुटबलको पछाडि दौडन थाले । मेसीको लगाव बाल्यकालबाटै फुटबलप्रति रहेको उनका बाबु आमाले बताउँदै आएका छन् ।
मेसीलाई सफल फुटबलर बनाउन उनको परिवारले जति त्याग गरेको छ त्यति नै स्पेनिस क्लब बार्सिलोनाको लगानी छ । बार्सिलोनाको युवा टोलीबाट खेल्दा उनले ३० खेलमा ३७ गोल गरे र आक्रामक मिडफिल्डरको परिचयसमेत बनाए । सन् २००४ मा स्पेनिस लिगमा डेब्यु गरेपछि मेसीसामु स्पेनबाटै अन्तर्राष्ट्रिय फुटबल खेल्ने बाटो खुला थियो । तर, यु–२० टोलीका लागि आएको प्रस्ताव अस्वीकार गर्दै मेसीले अर्जेन्टिनी भएको यथार्थ भुलेनन् । अर्जेन्टिनाको अन्डर २० राष्ट्रिय टिमबाट उनले सन् २००४ मै पाराग्वेविरुद्धको म्याच खेलेए । सन् २००५ को युवा विश्वकपमा मेसी वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए ।
तर, प्रतियोगिताको सुरुवातमै राम्रो प्रदर्शन गरेपछि उनले हरेक खेलमा मौका पाए । मेसीले प्रतियोगितामा ६ गोल गर्दै गोल्डेन बुट र गोल्डेन बल दुवै जिते । अर्जेन्टिनालाई प्रतियोगिताको उपाधि जिताउन निर्णायक भूमिका खेलेपछि उनको तुलना म्याराडोनासँग गर्न थालियो । त्यति बेलासम्म मेसी बार्सिलोनामा निकै चर्चित बनिसकेका थिए । तर, स्पेनको नागरिकता नलिएका कारण उनले घरेलु लिग खेल्न पाएनन् । पोर्टोविरुद्धको च्याम्पियन्स लिग म्याचमा मेसीले गरेको उत्कृष्ट प्रदर्शनको तारिफ गर्दै रंगशालामा उपस्थित ७० हजार दर्शक उनको सम्मानमा झुकेका थिए । मेसीले सन् २००५ मा स्पेनिस नागरिकता लिए र नियमित रूपमा घरेलु लिग खेल्ने मौका पाए । सुरुवाती सिजनमा मेसीले १७ खेल खेल्दै जम्मा ६ गोल मात्रै गरे । तर, उनले रियल म्याड्रिडविरुद्ध गरेको अलराउन्ड प्रदर्शनले सबैको ध्यान खिच्यो ।
मेसीलाई आबद्ध गर्न विश्वका ठूला–ठूला क्लबहरूले कसरत गर्न थाले । त्यति नै बेला बार्सिलोनाले मेसीलाई रोनाल्डीन्होको भन्दा बढी रकम दिएर सन् २०१४ सम्म क्लबमा राख्ने निर्णय गरेर सबैलाई चकित तुल्यायो । अनि अन्य सबै क्लबलाई देखायो, मेसी बार्सिलोनाका लागि कति महत्वपूर्ण छन् भनेर । मेसीले सन् २००६ मा पहिलोपटक बार्सिलोनाबाट च्याम्पियन्स लिग जितेका हुन् ।
सन् २००६ को विश्वकप फुटबलमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदान छिरे । त्यहाँ उनले सर्बियाविरुद्ध गोल गर्दै अर्जेन्टिनी जर्सी लगाएर गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाए । सन् २००८ मा रोनाल्डीन्हो बार्सिलोनाबाट एसी मिलान गएपछि मेसी टोलीको प्रमुख खेलाडी बने ।
रोनाल्डीनन्होले लगाउँदै आएको दश नम्बरको जर्सी मेसीले लगाउन थाले । सन् २००९ मा बार्सिलोनालाई च्याम्पियन्स लिग, स्पेनिस लिग र किङ्स कप जिताउने क्रममा मेसीको भूमिका निर्णायक रह्यो । त्यसयता मेसी विश्वकै सर्वाधिक उत्कृष्ट खेलाडीका रूपमा दरिएका छन् ।
उनले सन् २००९ र सन् २०१० मा लगातार दुईपटक फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । सन् २०१० को विश्वकप फुटबलमा अर्जेन्टिनालाई उपाधि जिताउन नसके पनि उनले गरेको उत्कृष्ट प्रदर्शनको सबैले प्रशंसा गरेका थिए ।
अर्जेन्टिनाले गरेका प्रत्येक गोलका खेलाडी मेसीले मिडफिल्डबाट बल उपलब्ध गराइदिएका थिए । काका, क्रिष्ट्रियानो रोनाल्डो, जाभी अलन्सोलगायतका विश्वकै उत्कृष्ट खेलाडीहरूलाई भित्र्याएर बार्सिलोनालाई चुनौती दिने अभियानमा लागेको रियल म्याड्रिडले समेत आफ्नो लक्ष्य भेट्न तीन वर्ष कुर्नु प¥यो, मेसीकै कारण । मेसीका समकालीन खेलाडीहरूले उनको गतिलाई भेट्न नसक्ने बुझाइ फुटबल विज्ञहरूको छ । उनको गति, क्षमता र धैर्यताको कदर सबैले गरेका छन् । धेरैले मेसीले म्याराडोना र पेलेको भन्दा उत्कृष्ट फुटबल पस्किसकेको दाबी गर्न थालेका छन् । उनले प्रत्येक सिजन गोलको वर्षा गर्ने गरेका थिए ।
तर, यस सिजन उनी गोल गर्नेभन्दा बढी परिपक्व प्लेमेकरको भूमिकामा देखिए । मेसीले लुइस सुआरेज र नेइमारजस्ता खेलाडीलाई मैदानको मध्यभागबाट पास उपलब्ध गराउँदै बार्सिलोनाको सफलताको कहानी रचे । बार्सिलोनाका पूर्वखेलाडी रिभाल्डो भन्छन्, ‘उनले डेब्यु गरेयता नै सबैलाई थाहा थियो । मेसीले कम्तिमा पनि बार्सिलोनालाई पाँच÷छ वटा लिग उपाधि जिताउनेछन् । पाँच÷छ पटक उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी चुनिनेछन् ।’
कुनै समय उनीसँगै फुटबल खेलेका बार्सिलोनाका अर्का महान् फुटबल रोनाल्डिन्हो मेसीजस्तो खेलाडी ब्रम्हाण्डले पाउन नसक्ने बताउँछन् । उनी भन्छन्, ‘क्रिष्ट्रियानो रोनाल्डो र नेइमार विश्वका उत्कृष्ट खेलाडी हुन् । तर, मेसी ब्रम्हाण्डले पाउन नसक्ने प्रतिभा हुन् । मेरैअगाडि उनी हुर्किएका थिए । पुराना घटना सम्झदा मलाई गर्व लाग्छ ।’
मैदानभित्र आक्रामक देखिने मेसी लजालु स्वभावका कारण पनि विश्वका थुप्र फ्यानहरूको ढुकढुकीमा अटाएका छन् । लियोा मेसी फाउन्डेसनको स्थापना गर्दै मेस्सीले गरिब परिवारका बालबालिकाहरूको स्वास्थ्य र शिक्षामा लगानी गर्ने अभियान सन् २००७ यता नै थालेका थिए । उनको यो अभियानले उनको उचाइलाई अझै माथि पु¥याएको छ । युनिसेफको ब्रान्ड एम्बेसरमा नियुक्त भएयता समाजसेवामा मेसीको सक्रियता बढ्दो छ । भर्खरै मात्र नेपालका भूकम्पपीडितहरूका लागि सहयोग संकलन गर्न आग्रह गरेर मेसी चर्चामा आएका थिए । विश्वकै सर्वाधिक आम्दानी गर्ने फुटबलर मेसी बार्सिलोना छाडेर अन्य क्लबमा आबद्ध हुने पक्षमा कहिल्यै देखिएका छैनन् । त्यसैले त बार्सिलोनामा फुटबल खेल्ने हरेक खेलाडीले मेसीलाई आर्दश मान्छन् ।
अर्जेन्टिनालाई सन् २०१४ मा विश्वकपको फाइनलमा पु¥याएर पनि उपाधि जिताउन असफल भएका मेसीले च्याम्पियन्स लिगको समाप्तिसँगै कोपा अमेरिकाको उपाधिलाई आफ्नो लक्ष्य बनाएका छन् । दुई दिनपछि सुरु हुने दक्षिण अमेरिकाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाका लागि मेसीको व्यस्तता बढेको छ । मेसीसँगै ब्राजिलियन कप्तान नेइमार पनि कोपा अमेरिकाका लागि केन्द्रित छन् । तर, यसपटक मैदानमा मेसी र नेइमारको सुन्दर साझेदारी नभई दुश्मनी मात्रै देख्न पाइनेछ । मेसीले अर्जेन्टिनाको कप्तानी गर्दा नेइमारले ब्राजिलको आर्म ब्याड लगाउनेछन् ।
मेसीका कीर्तिमान
सर्वाधिक चारपटक विश्व वर्ष खेलाडीको उपाधि
गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा एकै वर्ष सर्वाधिक ९६ गोल गर्ने कीर्तिमान
एकै वर्ष सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान
सर्वाधिक दुईपटक फिफा क्लब वल्र्ड कपमा गोल्डेनबल जित्ने कीर्तिमान
सर्वाधिक आठ पटकसम्म फिफा वर्ष खेलाडीको अन्तिम तीनभित्र पर्न सफल
सर्वाधिक आठपटक फिप्रो एघारमा मनोनयन
युरोपेली लिगमा एकै सिजन सर्वाधिक ७३ गोल गर्ने कीर्तिमान
च्याम्पियन्स लिगमा सर्वाधिक पा“चपटक सर्वाधिक गोलकर्ता
च्याम्पियन्स लिगमा लगातार चारपटक सर्वाधिक गोलकर्ता
च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक
च्याम्पियन्स लिगमा एकै खेलमा सर्वाधिक पा“च गोल
च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता
अर्जेन्टिनाबाट मैत्रीपूर्ण खेलमा सर्वाधिक २४ गोल
अर्जेन्टिनी जर्सीमा सर्वाधिक कम उमेरमा विश्वकपमा गोल गर्ने कीर्तिमान
विश्वकपको छनोटमा अर्जेन्टिनाबाट सर्वाधिक १० गोल गर्ने कीर्तिमान
स्पेनिस ला–लिगामा सर्वाधिक गोल गर्ने कीर्तिमान
स्पेनिस ला–लिगामा सर्वाधिक पास मिलाउने कीर्तिमान
ला–लिगामा एकै सिजन ५० गोल गर्ने कीर्तिमान
ला–लिगामा लगातार २१ खेलसम्म गोल गर्ने कीर्तिमान
ला–लिगामा एकै सिजन सर्वाधिक ह्याट्रिक
२५ वर्षको उमेरमै दुई सय ला–लिगा गोल गर्ने एक्लो खेलाडी
रियल म्याड्रिडविरुद्ध सर्वाधिक २१ गोल
एकै सिजन सर्वाधिक धेरै गोल तथा सर्वाधिक पास मिलाउन सफल
चार सय २५ गोलसहित बार्सिलोनाको इतिहासकै सर्वाधिक गोलकर्ता
बार्सिलोनाका लागि सर्वाधिक एक सय २० अवे गोल गर्ने खेलाडी
बार्सिलोनाबाट सर्वाधिक ३२ ह्याट्रिकको कीर्तिमान
सर्वाधिक धेरै २४ ला–लिगा ह्याट्रिक
मेसी भेट्दाको त्यो दुर्लभ क्षण
किरण मरहठ्ठा लियोनन मेसीसँग क्याम्प नोउभित्रै अन्तर्वार्ता लिने एक मात्रै नेपाली हुन् । उनले च्याम्पियन्स लिग, स्पेनिस ला–लिगा र किङ्स कपको उपाधिका लागि चुनौती पेस गरिरहेको बार्सिलोनाको टोलीसँग नेपालमा प्रलयकारी भूकम्प जानुभन्दा ठीक केही समयअघि भेटेका थिए ।
मेसी र उनको टोली बार्सिलोनाबारे दुलर्भ वृत्तचित्र बनाउन क्याम्प नोउ पुगेका मरहठ्ठा मेसीसहित नेइमार, जेरार्ड पिके, रायटिक र क्लबका कप्तान जाभी हर्नान्डेजलाई ढाका टोपी उपहारस्वरूप प्रदान गर्न सफल रहे । उनले ढाकाटोपी दिएपछि मेसी निकै खुसी भएको प्रतिक्रिया दिएका छन् । मेसीलाई उद्धृत गर्दै मरहठ्ठा भन्छन्, ‘यो अहिलेसम्मकै फरक खालको उपहार हो, यसलाई जतन गरेर राख्छु । टोपी उपहार दिनुभएकोमा आभारी छु, यसले हाम्रो सम्बन्धलाई जोडेको छ, कुनै दिन समय मिलेमा नेपाली भूमिमा पाइला टेक्नेछु ।’ मरहठ्ठाले बुद्धको तस्बिर अंकित टिसर्टमा समेत मेसीलाई हस्ताक्षर गर्न लगाएका थिए । एबीसी टेलिभिजनमा कार्यरत मरहठ्ठाले नै दिएको नेपाली झन्डा अहिले बार्सिलोनाले एकै सिजन तीन उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा आफ्नै गृहमैदानमा फर्फराएको छ ।
प्रतिक्रिया