जोखिमरहित काठमाडौंको परिकल्पना

risab-gautamहालैको विनाशकारी महाभूकम्पमा करिब १० हजार नेपाली जनताले ज्यान गुमाए भने २० औँ हजार घाइते भए र ६ लाखभन्दा बढी घरमा क्षति भयो । यो क्षतिको विवरण अनुमान गरेभन्दा अत्यन्त कम भएको विज्ञहरूले बताइरहेका छन् । भूर्गभविद्हरूले काठमाडां उपत्यका भूकम्पीय जोखिमको हिसाबले विश्वमै अग्रस्थानमा रहेको बताइरहेका छन् । त्यसले गर्दा यतिबेला काठमाडौंमा बस्नेहरू अब कसरी र कहाँ बस्ने भन्ने सन्त्रासमा छन् ।
काठमाडौंको जनजीवन एकाएक त्रसित र भयभीत भइरहँदा धेरैका सपना र योजना प्रभावित भएका छन् । धेरैको रोजगारी र व्यक्तित्व विकासको अवसरमाथि प्रकृतिले निर्मम धावा बोलिरहेको छ । अब ज्यान जोगाउनकै लागि गाउँ फर्कने वा जोखिमसँग जुधेर बाँच्ने भन्ने विकल्पहरू मानिसहरू माझ छ । तर, पिल्लर सिस्टमका भूकम्प प्रतिरोधी महँगा घरहरूमा बस्नेहरूका लागि भने काठमाडौं अझै स्वर्ग नै छ ।
काठमाडौं बस्नैपर्ने बाध्यता नभएका धेरैले भूकम्पको एक महिना बितिरहँदा छोड्ने निर्णयसमेत गरिरहेका समाचार आइरहेका छन् । इन्जिनियरहरूले काठमाडौंमा अवस्थित २० प्रतिशत घर भूकम्पीय दृष्टिले बस्न अयोग्य भएको बताइसकेका छन् । गोरखाको बारपाक र दोलखा–सिन्धुपाल्चोक केन्द्र भएर गएको महाभूकम्पका कारण काठमाडौंका पुराना माटाका घर लगभग सबै ध्वस्त भए । पुरातात्विक महत्वका सबैजसो धरोहर क्षतिग्रस्त भए । सिमेन्ट र कतिपय पिल्लरकै घर पनि उपत्यकामा ४० वटा जति पूर्णरूपमा ध्वस्त भए । काठमाडौं, ललितपुर र भक्तपुर गरेर तीन जिल्लामा महाभूकम्पमा परी एक हजार सात सयभन्दा बढी मान्छेको मृत्यु भयो । तर पनि यो ऐतिहासिक महानगरको विकल्प के त ? कसरी काठमाडांै सहरलाई व्यवस्थित गर्न सकिन्छ भन्ने सवाल यतिबेलाको जल्दोबल्दो सवाल हो । इन्जिनियरहरू, भूगर्भविद्हरू, योजनाविद्हरू, अर्थशास्त्री, बुद्धिजीवी, राजनीतिज्ञ, कर्मचारी एवं पत्रकारहरू सबैले कसरी काठमाडौंको ऐतिहासिक विशिष्ठता र यसको सौन्दर्यलाई बाचाइराख्ने भन्ने चिन्ता गर्न थालेका छन् । यो ऐतिहासिक सहरको विषयमा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रियस्तरमा समेत चिन्ता सुरु भएको छ ।
करिब ४० लाख मानिस बसोबास गर्ने आर्थिक, राजनीतिक र सांस्कृतिक एवं भौगोलिक विशिष्ठताको धरोहर काठमाडौंको परिचय भनेको सिंगो नेपाल हो । अर्थात् विश्वमाझ पूरै नेपालको जति परिचय छ त्योभन्दा बढी नेपालको एक मात्र ऐतिहासिक सहर काठमाडौंको छ । तर, शासकहरूको कलाविहीन व्यवस्थापन र भ्रष्ट आचरणका कारण काठमाडौं बस्न नालायक भएको अवस्था छ । जथाभावी घरहरूको निर्माण गरिनु, इनारमार्फत अत्याधिक पानी निकालिनु, भवन निर्माण आचार संहिताविपरीत अल्ला–अग्ला घरहरू ठड्याइनु, खाली ठाउँ नहुनु, माटोको परीक्षणहरू हुन नसक्नु, इन्जिनियरहरूसाँग राय सल्लाह नगरी घर निर्माण गरिनु, जथाभावी प्लटिङ गरिनु, साँघुरा गल्लीहरू अधिक हुनु, बाटोघाटोहरूलाई फराकिला बनाउन नसक्नु र जनसंख्याको अत्यधिक चाप बढाउनुले काठमाडौं उपत्यका चरम अव्यवस्थित भएको हो । यसले काठमाडौंलाई जोखिमयुक्त बनाएको हो । यी सबै कुरा व्यवस्थित हुने हो भने उपत्यकाको हावापानी र भौगोलिक अवस्थिति विश्वमै उदाहरणीय छ । टलल टल्कने हिमालहरू नजिकै देखिने काठमाडौंको सौन्र्दय प्रशंसा गर्नलायक छ ।
अब कसरी काठमाडौंलाई बचाइराख्ने र कसरी यसलाई व्यवस्थित गर्ने भन्ने सम्बन्धमा योजना बनाउनु र उपायहरू निकाल्न आवश्यक छ । किनभने काठमाडांै नै नरहे नेपालीले गर्व गर्ने ठाउँ कहाँ रहन्छ र ? फेरि काठमाडौंमा रहने बस्नेहरू राष्ट्रियस्तरका, अलिकति पढेलेखेका र अर्थराजनीतिक एवं सांस्कृतिक विकासमा टेवा दिन सक्ने व्यक्ति छन् । जसले मुलुक चलाइरहेका छन् । मुलुकको अस्तित्व जोगाइरहेका छन् । विश्वमाझ नेपालको परिचय दिइरहेका छन् । यति मात्र होइन, विकासविद्हरूले काठमाडौं जत्तिको सुविधासम्पन्न सहर निर्माणका लागि अरू ठाउँलाई अझै धेरै वर्ष लाग्ने बताइरहेका छन् । त्यसकारण अहिलेलाई काठमाडौंको विकल्प जे गरे पनि काठमाडांै नै हो । बरु कसरी काठमाडौं जस्तै सहर अन्यन्त्र विस्तार गर्न सकिन्छ भन्नेबारे सोच्न आवश्यक छ ।
योजनाविद्हरूले काठमाडौंलाई व्यवस्थित गर्न र जनसंख्याको चाप घटाउन स्टालाइट सहरहरूको कुरा उठाइरहेका छन् । उनीहरूका अनुसार बनेपा, पाँचखाल, बैरेनी जस्ता ठाउँलाई स्टालाइट सहरका रूपमा विकास गर्नुपर्ने छ । तर, अहिले ती ठाउँहरूको भौगोलिक अवस्थिति, विद्यमान पुरातन भौतिक संरचना र उच्च जनसंख्याका कारण ती ठाउँ पनि काठमाडौंको विकल्प अथवा स्टालाइट सहर हुने सक्ने देखिँदैन । तर, काठमाडौंको धेरै समस्या समाधानका लागि जनसंख्याको स्थानान्तरण एक प्रमुख सवाल हो । त्यसरी जनसंख्याको चापलाई कम नगरी काठमाडांै उपत्यकाको पुनर्संरचनाको आधार नै तयार हुन सक्दैन । अर्को कुरा, भवन निर्माण संहिताविपरीत बनेका घर भत्काउनुपर्ने चुनौती छन् । सरकारले अब त्यो चुनौती सामना गर्नुपर्छ । धेरै अग्ला र संहिताविपरीतका सबै घर भत्काइने आँट सरकारले गर्नुपर्छ ।
यसपटकको महाभूकम्पका बेला फराकिलो सडकको महत्व दर्शिएको छ । बानेश्वर, तीनकुने र सूर्यविनायकसम्मको चार लाइन सडकले गर्दा भूकम्पका बेला धेरैको ज्यान सुरक्षित भएको छ । यसले पनि फराकिला बाटा भूकम्प प्रतिरोधका लागि अत्यावश्यक हुने देखाएको छ । तसर्थ, सरकारले काठमाडौंको बाटोघाटोलाई फराकिलो बनाउने अभियानलाई सशक्त बनाउन जरुरी छ । त्यसैगरी धेरै विज्ञले महाभूकम्पमा भत्किएका सरकारी भवन उपत्यकाबाहिर सार्न सकिने बताएका छन् । काठमाडौं केन्द्रित जनसंख्यालाई अन्यत्र स्थानान्तर गर्न सरकारी भवनहरू उपत्यकाबाहिर सार्न अत्यन्त जरुरी पनि छ ।
अहिले त मानिस स–सानो कामका लागि पनि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ । जस्तो पढ्न होस् वा विदेश जान, जिल्लाको विकासको कामका लागि होस् वा हस्पिटलहरूमा उपचार गर्न गराउन अथवा रोजगारीको शिलशिलामा, यतिबेला काठमाडौंको विकल्प अरू छैन । फेरि सबै मन्त्रालय र विभाग काठमाडौंमा रहेको अवस्था छ । यसरी विकल्प नहुँदा नहुँदै पनि काठमाडौं अहिले सबैको बाध्यता हो । तर, विस्तारै यसलाई विकेन्द्रीकरण गर्ने कुरामा मुलुक अघि बढ्नुपर्छ । त्यसका लागि संघीयतासहितको विकास आजको आवश्यकता हो ।
अर्को निर्माणका लागि अघि बढाइएका फास्टट्र्याक र निजगढ अन्तर्राष्टिय विमानस्थललाई शिघ्र निर्माण गरिनु अत्यन्त आवश्यक छ । जुन कुरा पंक्तिकारले पहिलेदेखि नै उठाउँदै आएको हो । हालै एक दैनिकसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फास्टट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको भिडभाड घटाउन र जोखिम कम गर्न महत्वपूर्ण हुने बताइसकेका छन् । काठमाडौंको पानी अभाव, फोहोरमैला, खाद्यान्य अभाव, महँगी र जनसंख्याको स्थानान्तरणलगायतका धेरै खालका समस्या यी आयोजना निर्माणबाट सुल्झन्छन् । यी आयोजनाको विकासबाट काठमाडौं केन्द्रित विकासलाई तराईसम्म पु¥याउन सकिन्छ ।
त्यसैगरी मुगलिङ सडकखण्ड प्रयोग भई हुने तेलको अत्यधिक खपतलाई घटाउन सकिन्छ । व्यापारघाटा कम गर्न सकिन्छ । समग्रमा यी आयोजना काठमाडौंको अव्यवस्था दूर गर्न ज्यार्दै महत्वपूर्ण छन् । तर, सत्तामा रहेका संकीर्ण मन्त्री÷सांसदका कारण यी आयोजना प्राथमिकताका साथ अघि बढ्न सकिरहेका छैनन् ।
यसरी काठमाडौंमा खुला ठाउँहरूको विकास, काठमाडौं जस्तै वैकल्पिक स्याटालाइट सहरको विकास, ऐतिहासिक धरोहरहरूको पुनर्निर्माण, जनसंख्या व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भूकम्प प्रतिरोधी सरकारी स्ट्यान्डर्डका भौतिक संरचनाहरूको विकास आदिबाट मात्रै काठमाडौंको भविष्य उज्वल रहन सक्छ । होइन भने, सुन्दर काठमाडौंले धेरैलाई क्रुरतापूर्वक निल्न सक्छ । त्यसकारण काठमाडौंको स्वरूप बदलिनुपर्छ ।
यो ऐतिहासिक सहर विश्वस्तरको आकर्षक सहर हुनुपर्छ । काठमाडौंको स्वरूप बदल्ने र जोखिमरहित आकर्षक सहर निर्माण गराउने काममा सरकारलगायत योजनाविद्, विकासविद्, पत्रकार, अर्थशास्त्री, इन्जिनियरलगायतका सबै विज्ञ लाग्न आवश्यक छ ।

प्रतिक्रिया