मैले अचानक घर छोडे

Lekhnath-Bhandari‘थानामा गएर माफ माग्नु’ । मैले के गल्ती गरेको छु र माफ मागुँ ? मलाई प्रतिवाद गर्न मन नलागेको होइन । कुरा थानासम्म पुगेको नहँदो हो त त्यो विषयमा म उहाँहरूसित राम्रै सवाल–जवाफ गर्दो हुँ । तर, कुरा थानासम्म पुगेको अवस्थामा मैले जोगाउनुपर्ने दुईवटा कुरा थिए । पहिलो कुरा त थानामा पुगेपछि गरिने शारीरिक र मानसिक यातनाका सम्बन्धमा मैले राम्रोसँग सुनेको थिएँ । शारीरिक यातनाले पनि मानिसको मनोबल गिराउने भएकाले अरूले थाहै नपाए पनि यसबाट जोगिनुपर्छ भन्ने मलाई लाग्यो । त्यसो त विद्यालयमा यदाकदा गुरुहरूले लगाउने गोर्खेलौरी पनि मलाई मन नपर्ने । त्यसैले म त्यसबाट अधिकतम जोगिन प्रयत्न गर्थें । प्रयत्न मात्र होइन, कक्षा ३ मा पढ्दा नै मैले त्यसका विरुद्ध तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्चलाई सुनुवाइका लागि उजुरी गरेको थिएँ । यो चर्चा कुनै अर्को सन्दर्भमा गर्नु पर्ला ।
आफ्नो जीऊ र इज्जत कसरी जोगाउने भन्ने अन्यौलका बीच म घर (कोरोबारी) पुगेँ । आफूले लेखेको समाचार आफैँले लेखेको होइन भन्नु, खन्डन गर्नु र माफ माग्नु मेरा लागि एकदम गाह्रो काम भयो । जिल्ला, जिल्लाबाहिर र गाउँमा बढ्दै गएको विश्वास र प्रतिष्ठासमेत दाउमा पर्ने भयो । थानामा गएर पिटाइ खाएको भनेपछि मैले सत्य नै लेखेको भए पनि सत्य कुरा लेखेको भन्दा पनि गल्ती गरेकाले ‘धेरै बाटो पल्टिएको थियो, खायो’ भनेर काखी बजाउनेहरूको खिसिट्युरी पनि मेरो सम्झनामा घुम्यो । त्यसैले मैले थानामा गएर बद्नामी कमाउने साथै विश्वास गुमाउने र यातना भोग्ने तथा घर परिवारलाई समेत ‘नचाहिने काम गरेर’ भन्ने चिन्ता दिनुभन्दा घरै छोड्नु उचित ठानेँ । त्यसका लागि मैले घरमा कुनै जरुरी कामले विराटनगर जानुपर्ने भएकाले बिहानै घरबाट हिँड्ने र थानामा नजाने निर्णय गरेँ । घरमा विराटनगर जाने कुरा गरे पनि जानलाई म चन्द्रगढी–भद्रपुर जान चाहन्थेँ । ताकि आफ्नो समस्याका सम्बन्धमा थप केही प्रतिवाद वा सो पक्षलाई दबाब दिन सकियोस् ।
त्यसैले त्यहाँ गएर एसएल शर्मा, भवानी घिमिरे, द्रोणप्रसाद आचार्य, केशवकुमार बुढाथोकी र अच्युतप्रसाद कोइराला आदिलाई भेटेपछि मैले कसो मेरो समस्या समाधान नगरुँला भनेर सोचेँ । उहाँहरू झापामा त्यस बेलादेखि अहिलेसम्मका प्रतिष्ठित र परिचित अगुवा हुनुहुन्छ । द्रोणप्रसाद आचार्यको निधन भएको डेढ दशक भयो भने एसएल शर्माको दुई÷तीन वर्ष पहिले निधन भयो । अच्युतप्रसाद कोइराला मेरो मामा अर्थात् मेरो काकी (उषा भण्डारी) को दाजु हुनुहुन्छ । उहाँ तत्कालीन भद्रपुर नगरपञ्चायतको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । भद्रपुर पुगेको बेलुका सम्भवतः म अच्युत मामाको क्वाटर भानुनगर (ऋषिकेश उपाध्यायको घर) मै बसेँ । भोलिपल्ट बिहान, सिद्धार्थ प्रेस भद्रपुर बजारमा गएँ । त्यहाँ डिल्लीराम नर्भिक (सम्पादक हिजोआज दैनिक) र राजबाब शंकरसँग मैले द्रोणप्रसाद आचार्यलाई पनि भेट्ने विचार सुनाएपछि उहाँहरूले आचार्यलाई फोन गरिदिनुभयो । उहाँ (आचार्य) पनि १५/२० मिनेटपछि रिक्सामा चढेर आइपुग्नुभयो । मैले द्रोणचार्यलाई त्योभन्दा पहिले पनि दुई/तीनपटक भेटिसकेको थिएँ ।
मेरो कुरा सुनेपछि आचार्यले हाँस्दै भन्नुभयो, ‘अब के गर्नु हुन्छ त ?’
मसँग बनिबनाउ जवाफ त केही थिएन । तर मैले भनेँ, ‘म खन्डन त छाप्दिनँ तर के भने सो समाचार मैले पठाएको होइनसम्म भन्न सक्छु ।’ त्यसपछि उहाँले ‘त्यसो पनि किन गर्नुहुन्छ र ? म कहाँ कुरा गर्नुपर्ने हो त्यहाँ पनि कुरा गरौँला । बरु तपाईं १०/१५ दिन घर नजानु होस् । यतै कतै बस्न मिल्दैन ?’ भनेर सोध्नुभयो ।
मलाई १०/१५ दिन नै त्यसरी बिनाकाम सदरमुकाममा बस्न सजिलो थिएन । चार÷पाँच दिन त यदाकता टारेको हुँ, तर बिनाकाम कुन बाहानामा आफन्तको घरमा बसिरहनु । तैपनि मैले ‘कुरा मिल्छ भने म विराटनगर पनि जानुछ त्यता पनि केही दिन बस्छु’ भनेँ । विराटनगर सामान्यतया चन्द्रगढीभन्दा मलाई केही सजिलो किन लाग्यो भन्दा त्यहाँ मेरा केही दाजु दिदी, फूपू, काका र साथीसमेत हुनुहुन्थ्यो । मैले दुई/तीन दिन भद्रपुर चन्द्रगढी बसेपछि विराटनगरको बाटो तताएँ । चन्द्रगढी म सम्भवतः एक/दुई दिन अच्युत मामाकोमा, एक/दुई दिन रामप्रसाद भिनाजु (रामप्रसाद कोइराला÷यशोदा दिदी) कहाँ बसेँ । मेरो सानिमाको छोरा केदार अधिकारी (भाइ) पनि भद्रपुरै बसेर पढ्दै थियो । उसको डेरामा पनि म आउने जाने र (खानेबस्ने) गर्थें ।
मैले विराटनगरमा सम्पर्क गर्न खोजेका मानिसहरूमा मोहन भण्डारी (सम्पादक आँशु), कृष्ण पोख्रेल, कुमार श्रेष्ठ, चन्द्रकुमार गदाल मुख्य रूपमा हुनुहुन्थ्यो । केदार कोइराला र पुष्पराज गड्तौलालाई पनि सम्झेको थिएँ । महेश प्रसाईं र इन्दिरा प्रसाईंलाई पनि भेट्ने निधो गरेँ । विराटनगर गणेश बजारको दक्षिण कुनामा युगदर्पण छापाखाना थियो । त्यहीँबाट आँशु र युगदर्पण प्रकाशित हुँदा रहेछन् । त्योभन्दा पहिले पनि म एक/दुईपटक त्यहाँ पुगेको थिएँ । मोहन भण्डारीसँग मेरो कुनै चिनजान र साइनो होइन । उहाँ उदयपुरतिरबाट विराटनगर जानुभएको हो । मैले त्यहीँ उहाँलाई गएर मैले एसएलसी दिएर आएको अब म यहीँ बस्छु । मलाई काम पनि चाहियो र पत्रिकामा लेख्छु पनि भनेँ । ‘आँशु’ साप्ताहिकको कथा व्यथा पनि कम रहेनछ । प्रकाशक सम्पादक मोहन निरौला, काठमाडौंतिर बसेर राजनीति र कलाकारितामा सक्रिय । आँशुको जिम्मा उहाँहरूलाई । चन्द्रकुमार दाइ र उहाँहरूले सल्लाह गरेर मलाई युगदर्पण प्रेसमा दुवै पत्रिका (मन्दिरा, पाकिसमेत तीनवटा) लाई पनि केही सहयोग गर्ने, प्रुफ हेर्ने र प्रेस रुङ्नुपर्ने गरी चार सय रुपैयाँ तत्काल र अर्को महिनादेखि सात सय रुपैयाँ दिने गरी काम दिने हुनुभयो ।
केही दिन साथीभाइ आफन्तहरूको घर डेरामा बसेपछि मैले अन्ततः तीन सय ५० रुपैयाँमा विराटनगर नपा–१३ तीनटोलियामा बलराम कोइरालाको घरको भान्साघरको रूपमा बनाएको एउटा लामो टहरोको एउटा कोठा भाडामा लिएँ । यसरी मैले घर छोडेँ । म बसाइँ सरेँ । गाउँबाट सहर छिरेँ ।
(हाल : भर्जिनिया, अमेरीका)

प्रतिक्रिया