हिमाली सौन्दर्यबारे उत्कृष्ट यात्रा साहित्य

Pustak-Samichhya-coverदामोदर पुडासैनी ‘किशोर’ (२०१९) कविता, निबन्ध, कथा र नियात्रा विधामा अत्यन्त प्रखर स्रष्टा हुन् । उनका हालसम्म आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आमा, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कविता संग्रहहरू र यात्राका प्रेमिल तरंगहरू, नमेटिएका चित्रहरू र मायालु हुम्ला जस्ता नियात्रा कृतिहरू प्रकाशित भइसकेका छन् । मायालु हुम्ला २०७१ सालको अन्त्यमा बजारमा आएको कृति हो ।

दामोदर पुडासैनी ‘किशोर’ को भर्खरै प्रकाशित मायालु हुम्ला नेपाली साहित्यका पारखी जो सुकैले पढ्नै पर्ने कृति हो । लेखकले वि.सं. २०६५ सालमा हुम्ला बस्दा देखे, भोगेका, स्पर्श गरेका अनुभूतिजन्य विषयहरूलाई समेटेर निकै आश्चर्यलाग्दो र पृथक शैलीमा मायालु हुम्ला तयार पारिएको देखिन्छ । नियात्रा र स्वदेश तथा विदेशी परिवेशका असंख्य कृति नेपाली भाषामा प्रकाशित भएका छन् तर मायालु हुम्ला विषय र शैली दुवै हिसाबले असाध्यै रुचिकर र फरक विशेषता बोकेर प्रकाशित भएको छ ।
हुम्ला नेपालको अत्यन्त विकट र प्राकृतिक स्रोत साधनले भरिपूर्ण जिल्ला हो । राज्यको आँखामा टाढै पारिएको हुम्लाको प्राकृतिक वैभवको सदुपयोग गर्ने हो भने देशकै मुहार फेर्न सकिने कुरा लेखक पुडासैनीले मायालु हुम्लामा प्रकाश पारेका छन् । हुम्ला र कर्णाली प्रदेशका मान्छेहरूको जीवनपद्धति, जीवनयात्रा र जीवन संघर्षलाई प्रत्यक्ष भोगेझैँ पाठकले अनुभूति गर्न सक्छन् यो नियात्रा अध्ययन गर्दा ।
दामोदर पुडासैनी ‘किशोर’ प्रकृतिप्रेमी स्रष्टा हुन् । उनका हरेक कृति प्राकृतिक वैवभ, मानवीय मूल्य, गतिशिलतालाई उठान र समृद्ध मानव समाज खडा गर्न उद्यत भएका देखिन्छन् । मायालु हुम्लामा त्यो पक्ष अझ प्रबल र अझ चमत्कारपूर्ण ढंगमा प्रकट भएको छ । यो कृति पढ्दा पाठक कर्णाली संस्कृति र सौन्दर्यमा रम्ने मात्र होइन, नियात्राकारको लेखकीय जादुले शब्द–शब्दमा रमाइरहन्छ । दुःखका कहानी र क्रम पढ्दा पनि बेखुशी हुँदैन, झन् रोमाञ्चित र रंगीन बन्न थाल्छ । त्यसकारण पनि मायालु हुम्ला समाजका हरेक मान्छेले पढ्नै पर्ने खालको कृति बनेको छ । लेखकले द्वन्द्वको समयमा हुम्लाको यात्रा गरेका थिए । द्वन्द्वको चपेटामा सुदूर बस्तीहरू कसरी पर्छन्, द्वन्द्वले सोझा साझालाई कसरी भाउन्न लाग्ने बनाउँछ, द्वन्द्वको बहानामा कर्मचारी, प्रशासक र शासकहरूले देशको धन स्वाहा पार्छन्, त्यो सबै जान्न पनि मायालु हुम्ला पढ्नै पर्छ । अझ दुर्गम क्षेत्रका कर्मचारीहरू, राजनीतिज्ञहरू र समाजका टाठाबाठाहरूले कसरी देशलाई चिथोर्छन् र प्राप्त धन कसरी सुरा र सुन्दरीमा स्वाहा पार्छन् भन्ने बुझ्न पनि यो कृति अध्ययन सामग्री बनेको छ ।
हुम्ला प्राकृतिक सुन्दरताले सम्पन्न हुँदाहुँदै पनि किन उन्नतिको शिखरमा चढ्न सकेको छैन भन्ने तथ्यलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् । अझै पनि हुम्लीहरू टेलिभिजन र क्यामेरालाई देवताले पठाएको सामान मान्ने, त्यस्ता सामग्रीको प्रयोगमा आश्चर्य व्यक्त गर्ने, धामी र मस्टो जस्तो संस्कृतिले समाज उठ्न गाह्रो परिरहेको प्रसंग असाध्यै रोचक छ । त्यस क्षेत्रमा विद्यमान बुहपति प्रथाका साङ्गोपाङ्गो पक्षलाई लेखकले अत्यन्त प्रभावकारी शैलीमा प्रस्तुत गरेका छन् ।
अझैसम्म राज्यको केन्द्रसँग सडक यातायातले नछोएको हुम्ला क्षेत्रमा अझै पनि न्याय माग्दा पशुवत् रूपमा मुखमा घाँस च्यापेर र चार हातखुट्टा टेकेर न्यायकर्तासमक्ष प्रस्तुत हुने कुरा पढ्दा हाम्रो समाज अझैसम्म आदिम अवस्थामै छ भन्ने हिच्किचाउन पर्ने अवस्था देखिएन । लेखकले हुम्लाका गाउँघर चहारेका छन् । तुइनमा खोलानाला तरेका छन् । रल्क्षिङ जस्तो सुन्दर हिमाल चढेका छन् । छिप्राको अनन्तेपूर्णिमामा छोटी (युवती) हरूसँग देउडा नाच्नसमेत भ्याएका छन् । हुम्ली दाजुभाइसँग खोले, रोटी, टिमक र नलसमेत खान हिच्किचाएका छैनन् ।
यसबाट के बुझिन्छ भने दामोदर पुडासैनी जस्तोसुकै परिस्थिति र परिवेशमा पनि खुशी हुन सक्ने स्रष्टा हुन् । समाजका हरेक विषम परिस्थितिमा समेत घुलमिल हुन सक्ने स्रष्टा मात्र सफल स्रष्टा हुन सक्दछ । पुडासैनीमा यो क्षमता भएरै मायालु हुम्ला यति ओजनदार रूपमा पाठकसमक्ष आइपुगेको छ ।
मायालु हुम्लामा लेखकले आफूले देखेभोगेका सबै कुरालाई नलुकाई प्रस्तुत गरेका छन् । यो कृति पढ्दा लेखकको मानवतावादी सोच टड्कारो रूपमा प्रस्तुत भएको देख्न सकिन्छ ।
कल्पनाशिलता, स्थानीयता, चित्रात्मकता, गतिशिलता जस्ता पक्ष नियात्रा साहित्यका आधार हुन् । दामोदर पुडासैनीको मायालु हुम्ला नियात्रा साहित्यका ती सबै आधारद्वारा संयोजन भएको छ । नियात्रा विधा संसारमै अलि पछिल्लो समयको भए पनि पाठकहरूले बढी पढ्ने विधा हो । मायालु हुम्ला लेखकले साहित्यका सबै रस मिसाएकाले पनि यो कृतिको महत्व विशेष बनेको छ ।
नेपाल हिमाली र पहाडी सौन्दर्यको खानी छ । हिमाली सौन्दर्य र संस्कृतिको पक्षमा साहित्यकारहरूले बढीभन्दा बढी लेख्न सके भने संसारकै लागि विशेष पठनीय कृतिको उपलब्धि हुन सक्दछ । पुडासैनीको मायालु हुम्लामा हुम्ला त बिम्ब मात्र हो । सम्पूर्ण हिमाली भूगोल, संस्कृति, पीडा, खुशीहरू जस्ताको तस्तै उजागर भएका छन् । संसारलाई नेपालको केही विशेष चिज भएको कृति देखाउनु छ भने मायालु हुम्ला सबैभन्दा उपयुक्त ठहरिन्छ ।
तन्नेरी प्रकाशन काठमाडौंद्वारा प्रकाशित मायालु हुम्लाको भाषा सरल मात्र होइन, मनोहारी पनि छ । नियात्रा पढेपछि पाठकले आनन्द त प्राप्त गर्छ नै, चेतनाको स्तर पनि उचाईमा पुर्‍याउन सक्दछन् । लेखक पुडासैनीका यसअघिका कृतिहरू पनि पाठकले अधिक रुचाएका छन् । मायालु हुम्ला पढेर नेपाली पाठकहरू विशेष उत्साहित, उमंगित र तरंगित बन्न सक्दछन् ।

प्रतिक्रिया