आलोचनात्मक सहकार्यको आवश्यकता

keshab-dahalवैशाख १२ गते महाभूकम्प आयो र हाम्रो धेरै थोक लुट्यो । पटकपटकको धक्काले जनजीवनलाई संकटको परिचय पनि दियो । हामी आफन्त, प्रियजन, सम्पत्ति र सम्पदा गुमाउनुको शोकमा छौँ । यो त्रास र शोकको समय हो । मान्छेहरू अप्ठेरोमा छन् । घर हुनेहरू घर फर्किन सकेका छैनन् । घर नै नहुनेहरूको कुनै ठेगाना रहेन । उद्धार तथा राहतकार्य अन्तिम चरणमा पुगेको छ तर जोखिममा रहेका घरहरू भत्काउने र अस्थाई घरहरू बनाउने कामले निकै समय लिने देखिँदै छ । संघारमा रहेको मनसुनले जीवन अझ कष्टकर हुनसक्छ । यावत् कष्टहरू सहेर नै हामी नवनिर्माणको पहिलो पाइला टक्न गइरहेका छौँ ।

संकटमा अत्तालिनु हँदैन । धैर्य आवश्यक छ । संसारमा हिजो पनि यस्ता अनेक महाविपत्तिहरू आएका थिए र त्यसमा बाँचेकाहरूले नै संसार बनाउँदै लगेका हुन् । निश्चय नै पीडामा बाँच्न सजिलो छैन तर नबाँची पनि त हुँदैन । बाँचेकाहरूले आफ्नो पीडा, क्षति र आहतलाई भुल्दै बिस्तारै जीवनलाई अगाडि बढाउनु पर्छ । अपेक्षा गरौँ, हाम्रो सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, पेसाकर्मी, किसान, राजनीतिक कार्यकर्ता र समग्र जनताको एकता र रचनात्मक सक्रियताले पुनर्निर्माणको अभियान सफल हुनेछ । यो एकता भनेको आलोचनात्मक एकता हो । सहकार्य हो तर रचनात्मक सहकार्य हो । ठीक र बेठीकको आधारमा सहयोग र आलोचनाको सहकार्यले नै हाम्रो पुनर्निर्माणको गति र गरिमालाई बढाउनेछ ।
प्रश्न छ, पुनर्निर्माणको खाका कस्तो हुन्छ ? यो कसरी अगाडि बढ्छ ? पुनर्निर्माणको अर्थ र अपेक्षा व्यापक हुनुपर्छ । विषयको गम्भीरतालाई अभिव्यक्त गर्न पुनर्निर्माणलाई ‘पुनःसंरचना’ भन्नु ठीक हुन्छ । हामीले घर निर्माणको ढाँचा, शैली र संस्कृतिलाई पनि फेर्नुपर्छ । हिजोको जस्तो घर र सहरको प्रवृत्तिले अब हुँदैन । सहरको परिभाषा अग्ला घर र भिडभाड मात्र होइन, उन्नत र सुरक्षित जीवनशैली सहर हो । अबको पुनर्निर्माणले गाँउ र सहरको दूरी घटाउनु पर्छ । जसका लागि घर, सहर र समाज बसाउने हाम्रो पछिल्लो ज्ञानमै फेरबदल आवश्यक देखिन्छ । यसो गर्न पुनर्निर्माणका अनेकौँ ‘मोडेलहरू’ रचना गर्न सकिएला । हाम्रा इन्जिनियर र प्राविधिकहरूले चिन्तन गर्ने नै छन् तर यसमा विश्वका अनुभवहरू अनि हाम्रा कुरा पनि मिसाउनुपर्छ । विश्व अनुभव र हाम्रो सांस्कृतिक विरासतलाई मिलाउन सक्नु नै आजको आवश्यकता हो ।
यसको अर्थ पुनर्निर्माण हाम्रो आफ्नै मौलिकतामा आधारित हुनपर्छ । यसले हाम्रो परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजन गर्नुपर्छ । एसियाका जापान, फिलिपिन्स, इन्डोनेसिया, चीनलगायतले भूकम्पपछि गरेका पुनर्निर्माणका उदाहरणहरू कामलाग्दा छन् । इन्डोेनेसियाको आचेह प्रान्तको पछिल्लो पुनर्निर्माणबाट हामीले सिक्नसक्ने देखिन्छ । यद्यापि यावत् सिकाइले हामीलाई विचार गर्न मात्र सहयोग गर्लान् तर यी सिकाइहरू हामी ‘कपी’ गर्न सक्दैनौँ । कस्तो पुनर्निर्माण, कस्ता सहर र कस्ता घर ? यसको निर्णयमा पुग्न भने हामीले नेपाली मौलिकताकै खोजी गर्नुपर्छ । अनि हाम्रो पुनर्निर्माणले इतिहास बनाउँछ ।
पुनर्निर्माणको मुख्य भाग हो ‘सहरी विकास र घरहरूको रचना’ । हामी कहाँ र कस्ता सहरहरू बसाउन गहिरहेका छौँ ? हाम्रा घरहरू कस्ता हुन्छन् ? यी महत्वपूर्ण प्रश्नहरू हुन् । नेपालमा चाँडै पूर्व र पश्चिम जोड्ने तीनवटा मुख्य सडकहरू सुचारु हुनेछन् । हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग र मध्यपडाडी राजमार्ग । त्यसो त हामीसँग केही वर्षमै उत्तर–दक्षिण जोड्ने धेरै सडकहरू खुल्नेछन् । सडकसँगै प्राकृतिक रूपले सुन्दर, जोखिमविहीन र आकर्षक स्थान हामीलाई प्राप्त हुनेछन् । यिनै ठाउँहरूमा हामी नयाँ, शान्त, सुरक्षित र सानदार सहरहरू बनाउन सक्छौँ । सरकारले यसका लागि स्थान छनोटको काम थाल्न ढिलो गर्नु हुँदैन । तर सहरको परिकल्पनाले मात्र मान्छेलाई पुख्र्यौली स्थानबाट तान्न सकिँदैन । त्यसैले सरकारले नागरिकलाई अनेकौँ आकर्षक प्याकेज दिनुपर्छ । आर्थिक, भौतिक, सांस्कृतिक र मनोवैज्ञानिक प्याकेज । पूर्वाधार, सडक, पानी र बिजुली नयाँ सहरका लागि पहिलो आकर्षण हुन् । रोजगारीका क्षेत्र नजिकै भए मान्छेहरूलाई सहर ल्याउन सजिलो हुन्छ । यसर्थ सहर र औद्योगिक क्षेत्र जोड्ने सरकारले योजना बनाओस् । जमिनको वैज्ञानिक विश्लेशण र विकास गरी सरकारले भूकम्पपीडितहरूलाई सित्तैमा जमिन दिनु राम्रो हुन्छ । नयाँ सहरमा घरको नक्सा, स्टमेट र प्राविधिक निरीक्षण सरकारबाटै हुनुपर्छ । बैंकहरूसँग मिलेर घर बनाउन सस्तो ऋण, लामो भाखा र ब्याज मिनाहा कार्यक्रम ल्याउने कुरा सुनिँदै छ । यस्तो कार्यक्रमलाई सबैको पहुँचमा लैजानुपर्छ । सहरमा पार्क, खेल मैदान, सांस्कृतिक स्थलहरू पनि चाहिन्छ । यी नयाँ सहरका गहना हुन् । इतिहास, जाति, भाषा र धर्मका संग्रालयहरूले सहरलाई अझ परिपक्व बनाउनेछन् । नयाँ सहरमा भूकम्प संग्राहलय र मृतकहरूको स्मारक बनाउनु अझ राम्रो हुन्छ । यसोगर्दा नयाँ सहरहरू नेपाली विशेषताका अनुपम सहरहरू हुनेछन् ।
अब घरको कुरा आउँछ । विकसित मुलुकमा ‘आवास घर’ बनाउने अलग शैली देखिँदै छ । अमेरिका, युरोपदेखि जापानसम्म साना घरहरू लोकप्रिय हँदै छन् । इन्डोनेसियाको आचेह प्रान्तले घरको अलग संसार देखाउँछ । पश्चिमा मुलुकमा हलुका घरको प्रचलन बढ्दो छ । एकीकृत बस्ती, साना मिलेका घर र प्रशस्त खुल्ला ठाउँ आवास क्षेत्रको पछिल्लो अभ्यास हो । यसर्थ हाम्रा र उताका राम्रा कुराहरू जोडेर हामी घर बनाउने नयाँ शैली ‘एसेम्बल’ गर्न सक्छौँ । पूर्व र पश्चिमका ‘वास्तुशास्त्र’ मिलाउँदा घरनिर्माणको नयाँ तरिका बन्नेछ । त्यसो गर्दा घरहरू वातावरण मैत्री, साना, हुलुका तर सुविधा सम्पन्न हुनेछन् । सजिला घरहरूले हामीलाई सुखी र सुरक्षित गर्नेछन् ।
पुनर्निर्माणको सन्दर्भमा आउने अर्को प्रश्न छ नागरिक जिम्मेवारीको । यो अभियानलाई सफल बनाउन नागरिकको भूमिका के हुन्छ ? निश्चय नै नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ । आफ्नै पौरखलाई प्रोत्साहित गर्नुपर्छ । स्थानीय स्रोतको प्रयोग गर्नुपर्छ । आत्मनिर्भर हुने कोसिस गर्नुपर्छ तर यतिले मात्र पुग्दैन । राजनीतिक रूपमा नागरिक अझ सचेत हुनपर्छ । यसर्थ, पुनिर्निर्माणको अभियान सरकार र नागरिकबीचको रचनात्मक साझेदारीबाट अगाडि बढ्नुपर्छ । यसलाई आलोचनात्मक सहकार्य पनि भन्न सकिन्छ । यसको अर्थ हुन्छ सरकारलाई प्रचुर सहयोग गर्ने तर आवश्यक पर्दा निरन्तर खबरदारी पनि गरिरहने । केहीलाई लाग्ला खबरदारी भनेको सरकारको विरोध हो । संकटका वेला सरकारको विरोध गर्नुहुँदैन । निश्चय नै सरकारको अनावश्यक विरोध गर्नु हुँदैन । सरकारलाई काम गर्ने मौका दिनुपर्छ तर सरकारलाई सचेत बनाउनु पर्छ । आवश्यक पर्दा सरकारको निगरानी गर्नुपर्छ । यस्तो बेला अनेकौँ स्वार्थहरूले हामीलाई बर्बाद गर्नसक्छन् । सरकार पनि फस्नसक्छ । त्यसैले नागरिकले सरकारलाई सचेत बनाउनु पर्छ । सरकारलाई सघाउने र निगरानी गर्ने कुरालाई नै रचनात्मक सहकार्य भनिएको हो । यो नागरिकको दायित्व हो । अनावश्यक गडबडी, भ्रष्टाचार, वैदेशिक सर्तहरूको निगरानी र जनमुखी पुनर्निर्माणका लागि पनि नागरिक खबरदारी आवश्यक छ । दलहरू सबैले राष्टि̭य सरकारको प्रस्ताव गरेको बेला राजनीतिक प्रतिपक्ष नहुनसक्छ । त्यसैले यस्तोबेला नागरिक दायित्व अझ धेरै हुन्छ । यस्तोबेला नागरिकले नै रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्छ ।
नेपाली मोडेलको पुनर्निर्माणका लागि हामीलाई नेपाली ज्ञान, शैली र संस्कृति बुझेका मान्छेहरूसहितको बलियो पुनर्निर्माण संयन्त्र चाहिन्छ । यसका लागि पुनर्निर्माण प्राधिकारण उपर्युक्त प्रस्ताव हो तर यतिले मात्र पुग्दैन । सरकार र प्राधिकरणलाई उत्तरदायित्व र सुशासनका लागि निगरानी गर्न अर्को प्रभावकारी पहल पनि आवश्यक छ । अन्यथा बेथिति हुनसक्छ, ‘एड निगरानी’ नहुँदा पैसाको खोलो त बग्ला तर केही मान्छेहरू मोटाउलान्, भ्रष्टाचार बढ्ला । त्यसैले निगरानीविनाको पुनर्निर्माणले राजनीतिक स्वेच्छाचारिता बढाउँछ । यस्ता विषयमा बेलैमा सचेत बन्न आवश्यक छ । कुरा बिग्रिएपछि पछुताउनुको अर्थ हुनेछैन ।

प्रतिक्रिया