रमेश उप्रेतीको विवाहभोज र सरोज खनालको जुँगा

saroj-khanalकहिलेकाहीँ स्मृतिहरूले पनि अनौठोसित पछ्याउने रहेछन् । चाहे पनि नचाहे पनि आफूतिर तान्दा रहेछन्, बितिसकेका ती क्षणहरूमा जहा“ हामी जति इच्छा गरे पनि फेरि कहिल्यै सशरीर उपस्थित हुन सक्दैनौँ ।

उषाकालीन समय होस् अथवा गोधूली बेला, मन्दमन्द बहिरहेको पवनको लयस“गै स्मृतिहरूले बयेली खेल्न थाल्छन् अनि मन बिर्सिन थालिएका पलहरूमा तरंगिन थाल्छ । अनायास केही वर्षदेखि बन्द डायरीका पानाहरू खुल्न पुग्छन् र नजर त्यसमा कु“दिएका अक्षरहरूमा दौडिन थाल्छन् ।

त्यो दिन अमेरिकी राजधानी वासिँगटन डिसी नजिकै स्थित मेरील्यान्डमा घमाइलो दिन थियो । मौसम रमाइलो र नेपालीपनले भरिएको थियो । त्यो एक खास दिन नेपाली चलचित्रहरूमा नायकको भूमिका खेल्दै आएका रमेश उप्रेती निकै दंग देखिन्थे, औधि खुसी उनको अनुहारमा छताछुल्ल थियो ।

आखिर नहोस् पनि किन र ? त्यही दिन त थियो जतिखेर उनले पछिल्ला केही समयदेखि आफ्नी पे्रमिका रहँदै आएकी किरण राणासित परम्परागत विवाह गरेका थिए । उनको खुसीको अर्को पनि कारण थियो, रजतपटमा त उनले कुन्नि कतिपटक विवाह गरेका थिए, त्यसको लेखाजोखा उनी आफैंसित थिएन ।

तर, यसपटक भने यो विवाह जीवनको यथार्थ थियो, जिन्दगीले सांसारिक धरातल छोएको थियो । खुसीको अझ ठूलो कुरा के थियो भने सिल्भर स्क्रिनमा विवाह गर्दा उनी सधैँ हैरान परिसान हुन्थे, बेलाबखतमा दिक्क पनि हुन्थे होलान् किनभने यसो अलिकति दायाँबायाँ केही मिलेन कि निर्देशकले कट् कट् भन्दै चिच्याइहाल्थे । तर, त्यस दिन अर्थात् सन् २००७ मार्च ११ मा रमेश आफैं नायक, आफंै निर्देशक र आफैं निर्माता थिए । उनलाई कसैले यो दृश्य मिलेन, त्यो दृश्य मिलेन भनेर कट् कट् भनेन । उनले कसैसित तर्सिनु परेन ।

सायद मानव जीवनका सबैभन्दा महान् निर्माता निर्देशक प्रकृति परमेश्वरलाई मार्च ११ को रमेशको अभिनय मन परेछ । उनको पनि र किरणको पनि । बिहान विवाह र साँझ बाल्टीमोरकै नेपाली रेस्टुरेन्ट काठमाडौं किचेनमा प्रीतिभोज । जीवन एक रंगमञ्च त हो, एक यात्रास्थल, यहां सबैका लागि आआफ्नो किसिमको केही न केही भूमिका पहिलेदेखि नै तोकिएको छ । सबै मानिसले त्यही भूमिका पूरा गर्ने त हो । जिन्दगीको रंगमञ्चबाट कोही भाग्न सक्दैन । पौरखीहरू यो रंगमञ्चमा नायक बन्छन्, पौरख गर्न नसक्नेहरू सधैँ थर्ड क्लासमा बस्ने दर्शक बनेर रहन्छन् ।

त्यस दिन रमेशका परिचितहरू प्नि निकै प्रसन्न थिए । बिहानको साइत पारेर बाल्टीमोरस्थित नेपाली पशुपति बुद्ध मन्दिरमा पूर्ण परम्परगत तरिकाले रमेश र किरण जोडीको विवाह भएको थियो । पाँच दर्जनभन्दा बढी आमन्त्रितको उपस्थितिमा पन्डित श्रीधर ज्ञवालीले वेदका पवित्र ऋचाहरू वाचन गर्दै र तिनको अर्थसमेत खुलाउँदै विवाह सम्पन्न गराएका थिए ।

अझ रमाइलो त के भयो भने उनीहरूको विवाह अमेरिकामा भए पनि पञ्चे बाजाको परम्परागत नेपाली धूनबीच भएको थियो । नेपाली लोकगीत संस्कृतिका परिचित हस्ती प्रेमराजा महतले आफ्नो गाडीमै व्यवस्था गरेर ल्याएका थिए पञ्चे बाजा र त्यसको धून । उता पण्डित विवाहका पवित्रोच्चारण गर्दै थिए, यता प्रेमराजा पन्चेबाजाको सामयिक धून छर्दै थिए ।

उनीहरूको लेखा यस्तै थियो या उनीहरूलाई अमेरिका आएर विवाह गर्न मन लागेको थियो ? रमेश भन्दै थिए, संयोग यस्तो परेको हो । उनी घुम्दै फिर्दै पछिल्ला दुई सातादेखि अमेरिकामै थिए र किरण करिब एक साता पहिले अमेरिका आइपुगेकी थिइन् ।

विवाहभोज भनेपछि स्वाभाविक तवरले त्यसका नायक नायिका नयाँ दुलहा दुलही नै हुने भए तर त्यस साँझ त्यो जमघटको आकर्षण थियो वरिष्ठ नेपाली अभिनेता सरोज खनालका जुँगा । कोही सहभागी कानेखुसी गर्दै थिए, जुँगा हुनु त सरोज खनालको जस्तो नत्र नभएकै जाती । (कालो जु“गाबाहेक खनालको अनुहारमा कही“ कतै केही दागसमेत छैन) ।

यो सोच्नेहरूलाई चिन्ता थिएन अर्का जुँगावाल राजाराम पौडेल अथवा प्रेमराजा महतहरू रिसाउलान् कि भनेर । त्यसो त त्यहाँ अरू पनि थिए जुँगाधनीहरू तर जे कुरा थियो (र छ) सरोज खनालको जुँगामा, त्यो अरूमा थिएन, देखिएन । अमेरिकामा धेरै मानिसहरू जुँगा राख्दैनन्, पाल्दैनन् तर सरोज खनालले नेपालदेखि लिएर आएको जुँगा पछिल्ला दश/ एघार वर्षदेखि उस्तै गरी स्याहारेर राखेछन् ।

सरोज र उनको जुँगा एक अर्कोको पूरक भएका छन्, सरोज छन् त जुँगा छ, जुँगा छ त सरोज छन् । त्यही भएर त होला नि भनेको, उही कुनै हिन्दी फिल्ममा अमिताभ ले भनेझैँ ‘म“ुछेँ हो तो नत्थुलाल जैसी…’ शैलीमा– जुँगा हुनु त सरोजको जस्तो…..रमेशले नेपाली सिनेमामा अभिनय यात्रा सुरु गर्दा पहिलो फिलिम विक्रमाब्ध २०५१ मा पाएका थिए । त्यतिबेला उनले फिलिम ‘रगत’मा नायक सरोज खनालसँगै काम गर्ने अवसर पाएका थिए । जुँगा नपाल्ने रमेश र जुँगा पाल्ने सरोजबीच यसरी धेरै लामो समयदेखिको परिचय साइनो छ । रमेशले एक प्रसँगमा भने, मैले पहिलो फिलिममै सरोज दाइसँग काम गर्ने मौका पाएँ । उहाँ धेरै असल मानिस हुनुहन्छ ।

अहिले हातमा कुनै नयाँ फिलिम नभए पनि रमेश उप्रेतीले रगतबाट सुरु गरेको सिल्भर स्क्रिन यात्रामा करोडपति, पराइघर, देवदूत, घरसंसार, एक नम्बर पाखे आदिसमेत करिब साठीवटा फिलिमका अभिनय गरिसकेका छन् । उनी आफू कति सफल नायक हुँ भनेर भन्न सक्दैनन्, उनको अनुभवमा, उनले अभिनय गरेका फिलिम दर्शकले मन पराइदिए र उनी चले ।

नेपाली पशुपति बुद्ध मन्दिरको विवाह मण्डपमा गणेश उप्रेती र तुलसी उप्रेतीका तेत्तीस वर्षीय पुत्र रमेश र देवेन्द्र जबरा र कुलदेवी राणाकी सुपुत्री किरण वर र वधु थिए । वरको पक्षबाट हर्ताकर्ता बनेका थिए प्रेमराजा महत, डिल्ली पौडेल, दिनेश भन्डारी, जयप्रकाश र अन्यहरू । वधुको तर्फबाट उनका दाइ प्रकाश जबरा उपस्थित थिए । यसरी अमेरिकामा कुनै नेपाली कलाकारको परम्परागत ढंगले विवाह भएको यो पहिलोपटक थियो । त्यसो त थुपै्र महिनापहिले अर्की नायिका सारंगा श्रेष्ठले पनि अमेरिकामै विवाह नगरेको त होइन, तर उनले श्वेत वर्णी अमेरिकी नागरिकसित विवाह गरेकी हुन् । त्यसअर्थमा रमेश अलि फरक हुन् ।

तर साँझको विवाहभोजको कुरै अर्को । अनेक नेपाली कलाकारले वरवधुलाई आशिष दिए । करिस्म्याटिक करिश्मा मानन्धरदेखि लिएर पूजा चन्द, राजाराम पौडेल, रतन सुवेदी आदिसँगै स्वरधनीहरू सिर्जन ताम्राकार, सञ्जीव प्रधान, सरिष्मा अमात्य, राजु लामा…। सूची लामो छ, अझ लामो । उपस्थित सन्चारकर्मी यो खास अवसरलाई आआफ्ना ढंगले कलम र क्यामरामा बाँध्न व्यस्त थिए । काठमाडौं किचेनका किरण र सञ्जीव सत्कार सेवामा आफूलाई व्यस्त पारिरहेका थिए ।

ड.क्स एन्ड बार क्षेत्रमा काम गर्न एकजना स्पेनिसभाषी ल्याटिनो केटी थिई जुली, हेर्दा नाकनक्सा ठ्याक्कै नेपाली । मदिराप्रेमी नेपाली पाहुनाहरू जुलीकोमा पुगेर नेपालीमा कुरा गर्दै मदिराको माग गर्थे, ऊ ट्वाल्ल परेर हेरिबस्थी । पछि थाहा पाएपछि हाँसो हुन्थ्यो । रमाइलो गर्ने र खोज्नेहरूलाई जहाँ जसरी पनि रमाइलो हुन्छ ।

काठमाडौंमै कुनै समारोहमा पहिलोपटक आँखा जुधाएर पाँच वर्षपहिलेदेखि पिरतीको साइनो गाँस्दै आएका रमेश र किरणको दाम्पत्य जीवनका लागि शुभकामनास्वरूप यी केही शाब्दिक पुष्प अर्पण ।

प्रतिक्रिया