कलाकार उत्पादन गर्दै नाटकघर

Niru-Khadkaनाटकघर भन्नेबित्तिकै आम मानिसको दिमागमा नाटक मञ्चन गर्ने थलोको रूपमा चित्रण हुन्छ । नेपालमा चलिरहेका नाटकघरले भने नाटक मञ्चनसँगै वर्षेनि रूपमा नयाँनयाँ कलाकार पनि उत्पादन गर्ने कामलाई निरन्तरता दिँदै आएका छन् ।

पछिल्लो समयमा नेपाली फिल्ममा थिएटरबाट कलाकारहरूले राम्रो प्रस्तुति देखाएर नामसँगै दाम पनि कमाउन थालेपछि युवापुस्ताले थिएटरबाट अभिनय सिकेर फिल्ममा छिर्ने ध्याउन्नमा अभिनय लाइनलाई समात्न थालेका हुन् ।

दुई वर्षअघि राजधानीको अनामनगरमा स्थापित मण्डला थिएटरमा नाटक मञ्चनको संख्यासँगै अभिनय सिक्न आउने नयाँ अनुहारको संख्या पनि बढ्दै गएको छ ।

दुई वर्षदेखि नाटक मञ्चनसँगै तालिम र रिहर्सल ल्याबका रूपमा स्थापित यो थिएटरबाट हालसम्म ८० जनाले अभिनयको तालिम पाइसकेका छन् । ‘हामीले अहिलेसम्म ४ वटा सेसनको आधारभूत किसिको कक्षा सञ्चालन गरिसकेका छौँ,’ थिएटरका कलाकार सुलक्षण भारती भन्छन्, ‘थिएटरमा हामी उनीहरूलाई भ्वाइस एन्ड स्पिच, फिजिकल फिटनेस, म्युजिक र मार्सल आर्टलगायतका प्रशिक्षण दिन्छौँ ।

’ उनका अनुसार तीन महिने कोर्ष भनिए पनि विद्यार्थीले अभिनयको तालिमसँगै अन्त्यमा नाटक मञ्चन गर्नुपर्ने भएपछि त्यो समय लम्बिएर पाँच महिना पुग्ने गरेको छ । विद्यार्थीलाई ज्याक गुरुले मार्सल आर्ट, विक्रम परियारले भ्वाइस एन्ड स्पिच र राजकुमार पुडासैनीले योगको प्रशिक्षण दिने गर्छन् ।

‘अभिनय सिक्न आउने विद्यार्थीका लागि मण्डला ओपन प्लेटफर्म हो,’ मण्डलाका अर्का कलाकार प्रदीपकुमार चौधरी भन्छन्, ‘यहाँ तालिमले लिने प्रत्येक ब्याचका करिब ५ देखि ७ जनामात्र मण्डलामै लगेर स्वयंसेवी रूपमा कलाकारितालाई निरन्तरता दिन्छन् । बाँकी विद्यार्थीमध्ये कोही अन्य थिएटरमा आबद्ध हुन्छन् भने कोही कलाकारिताभन्दा अन्य पेशामा पनि गएका छन् । यसो भए तापनि निरन्तरता दिने भने कमै हुन्छन् ।’

उनका अनुसार, कुनै फिल्ममा अभिनयका लागि कलाकार चाहिने भएमा थिएटरले नै कलाकारको सिफारिस गरिदिन्छ । मण्डला थिएटरबाट उत्पादन भएका कलाकारहरू आयुषा राई, रजनी केसी, बुद्धिमान तामाङ, विजय बराल, मोहम्मद नाजिर हुसेन फिल्म तथा रंगमञ्चमा व्यस्त छन् । मण्डलामा अभिनय सिकेका कलाकारहरूले तयार पारेको ‘प्रयोगशाला’, ‘जिरो जिरो जेड’ लगायतका नाटक दर्शकले रुचाएका नाटकमा पर्छन् ।

‘मण्डलामा अभिनय पढेपछि हरेक भावनाको अभिनय गर्न सजिलो भएको छ,’ मण्डलाका कलाकार नाजिर भन्छन्, ‘हाम्रो लागि मण्डला राम्रो प्लेटर्फम बनेको छ ।’

३४ वर्ष पुरानो इतिहास बोकेको सर्वनाम नाट्य समूहले राजधानीको डिल्लीबजारस्थित कालिकास्थानमा स्थापना गरेको सर्वनाम थिएटरले साढे दुई वर्षदेखि थिएटर कलाकार उत्पादन गर्दै आएको छ । थिएटरका सदस्य श्याम खड्काका अनुसार उनीहरूलाई कथा लेखन, निर्देशन र अभिनयसँगै नाटकसँग सम्बन्धित अन्य विषयमा प्रशिक्षण दिइन्छ ।

‘अधिकांश विद्यार्थी आर्टिस्ट बन्छु नै भनेर आएका भने हुँदैनन्,’ खड्का भन्छन्, ‘आफ्नो आत्मविश्वास बढाउनका लागि पनि अभिनयको सहारा लिन्छन् । तर यसैलाई प्यासनकै रूपमा लिने संख्या भने कमै छ ।’ सर्वनामले वर्षमा तीनपटक तालिम लिन इच्छुकका लागि आह्वान गर्छ जसअनुसार एक वर्षमा ५० जना कलाकार उसले उत्पादन गर्छ ।

हाल छैटौँ ब्याच चलिरहेको यो थिएटरमा यसै ब्याचका आठ जना कलाकार अहिले स्वयंसेवी रूपमा काम गरिरहेका छन् ।

‘केही कलाकारहरू अन्य थिएटरमा गएर पनि काम गरिरहेका छन्,’ खड्का थप्छन्, ‘फिल्मतिर कलाकार चाहियो भने पनि रिफरेन्स पनि दिन्छौँ, तर फिल्म बनाउने मान्छेले नाटक पनि हेर्ने भएकाले कलाकारको छनोट उनीहरू आफैं गर्छन् ।’ सर्वनाममा प्रख्यात नाटक लेखक तथा निर्देशक अशेष मल्लले विद्यार्थीलाई नाटकका विविध विषयमा प्रशिक्षण दिने गर्छन् ।

‘बाँकीचाहिँ उपत्यकाबाहिर स्थापना भएका सामुदायिक थिएटरमा समय दिइरहेका छन्,’ उनले भने ।

गुरुकुलका संस्थापक तथा पुराना नाट्यकर्मी सुनील पोखरेल आजकल आफं ‘डिस्कभर योअरसेल्फ’ नामक संस्था स्थापना गरेर नयाँ कलाकार जन्माउने अभियानमा लागेका छन् ।

गुरुकुल रहँदा दुईवटा ब्याचबाट करिब २० जना कलाकार उत्पादन गरेका उनले युवा पुस्तामा बढ्दो अभिनय आकर्षणलाई मध्यनजर गर्दै अभिनयको नयाँ प्रशिक्षण संस्था खोलेको बताउँछन् । ‘गुरुकुलका उत्पादनहरू अहिले पनि नाट्य क्षेत्रमा सक्रिय छन्, यो मेरो लागि सुखद कुरा पनि हो,’ सुनील फ्ल्यासब्याकमा फर्किन्छन्, ‘त्यतिबेला हामीले सर्ट कोर्स भनेर १० देखि १५ दिनको प्रशिक्षण पनि दिएका थियौँ, तर लामो समयको प्रशिक्षण दिइएको भने दुईवटा मात्र व्याच हुन् ।’

सुनीलका अनुसार, उनको नयाँ संस्थामा दुई ब्याच गरी २५ देखि ३० जनाले अभिनयको प्रशिक्षण लिइसकेका छन् । ‘अहिले म तेस्रो व्याचका विद्यार्थीको छनोट गर्नका लागि अन्तर्वार्ताको प्रक्रियामा छु,’ उनले भने, ‘उनीहरूको शैली र परफरमेन्स हेरेपछि मात्र प्रशिक्षणको लागि छनोट गर्छु ।’ हालको अवस्थामा गुरुकुल नभएपछि उनी राजधानीको अनामनगरस्थित एक घरको फ्लयाट भाडामा लिएर कक्षा चलाइरहेका छन् ।

राजधानीको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा पनि अभिनयको तालिम लिने युवा जमातको संख्या बाक्लै छ । ‘हाम्रो थिएटरबाट सर्ट कोष (१५ दिने) को प्रशिक्षण लिनेको संख्या करिब दुई सय पुगिसकेको छ,’ थिएटरका घिमिरे युवराज भन्छन्, ‘दुई चरणको तीन महिने कोर्सबाट करिब २० जना कलाकार जन्मिइसकेका छन् । अहिले हामी थर्ड ब्याचको तयारीमा छौँ ।’

शिल्पी थिएटरले विशेषतः प्रशिक्षार्थीहरूलाई स्टोरी टेलिङ, ओरल थिएटर, स्पिच थिएटरलगायत विषयमा प्रशिक्षण दिने गरेको छ । युवराजका अनुसार, तालिम लिएका विद्यार्थीमध्ये करिब ५ प्रतिशत मात्र राजधानीका थिएटरमा व्यस्त छन् । ‘बाँकीचाहिँ उपत्यकाबाहिर स्थापना भएका सामुदायिक थिएटरमा समय दिइरहेका छन्,’ उनले भने । उनको बुझाइमा अधिकांश नयाँ अनुहार नाम कमाउनकै लागि अभिनय सिक्न आउँछन् ।

‘अभिनय सिकेर फिल्म खेल्ने सपना बुनेर पनि आउने गर्छन्,’ उनी भन्छन्, ‘यसबाहेक समयको सदुपयोग गर्न आउने पनि छन् ।’ एसएलसी परीक्षा दिएर बसेका विद्यार्थी पनि अभिनय सिक्न आउन थालेको उनले खुलाए । शिल्पी थिएटरले उत्पादन गरेको कलाकार निरु खड्का सानो पर्दामा राम्रै अभिनय गर्दै आएकी छन् । चर्चित हास्य टेलीशृंखला ‘मेरी बास्सै’ मा कलाकार सिताराम कट्टेल ‘धुमुर्स’को दिदी ठ्यासकुमारीको भूमिकामा अभिनय गरेपछि उनको चर्चा निकै चुलिएको थियो । हाल उनी सिरियलमा छैनन् ।

ललितपुरको झम्सिखेलमा रहेको एक्टर्स स्टुडियोले पनि वर्षेनि रूपमा कलाकार उत्पादन गर्दै आएको छ । स्टुडियो प्रमुख अनुप बरालका अनुसार स्टुडियोले वर्षमा दुई चरण गरी कलाकार उत्पादन गर्छ ।

‘हामीले तीन महिनाको कोर्स भने पनि कोर्स सकेपछि उनीहरूले प्रयोगात्मक रूपमा आफैं नाटक तयार पारेर त्यसको मञ्चन गर्नुपर्ने हुन्छ, त्यसका लागि थप तीन महिना चाहिन्छ,’अनुप भन्छन्,‘नाटक सिक्न आउने अधिकांश युवा पिढीहरू नाटकसँगै फिल्ममा पनि अभिनय गर्न चाहन्छन् । नाटकको कक्षा लिन आउनु अघि हामी अडिसन लिएर छनोट गर्छां ।’

उनका अनुसार स्टुडियोले तीन महिने प्रशिक्षणका लागि ३० हजार रुपैयाँ शुल्क लिने गरेको छ । उक्त रकममै बाँकी तीन महिनाको प्याकेज पनि पर्छ ।

प्रतिक्रिया