राजनीतिको अधुरो चस्का

Keshar-Bahadur-Thapaवि.सं.२००५ सालमा म काठमाडौं जाँदा नेपाल प्रजा परिषद् पार्टीले राणा सरकारको विरोधमा काम गर्न सुरु गरेका सहिदहरूलाई फाँसी दिने, गोली हान्ने, झुन्ड्याउने, चारपाटे मुड्ने गरेका घटनाको प्रभाव ताजैजस्ता रहेछन् । ‘सरकारको विरोध गर्न हँदैन, विरोध गरे यस्तै कडा सजाय हुन्छ’ भन्ने कुरा खासखुस चल्दथ्यो तर भित्रभित्रै राणाविरोधी पक्षका कार्यकर्ताहरू पनि बढ्दै थिए । २००६ सालमा जस्तो लाग्दछ, मोहनशमशेर श्री ३ राजा भएको समयमा श्री विश्वेश्वरप्रसाद कोइराला काठमाडौं आउनुभयो । उहाँँ रक्सौलबाट नेपाल प्रवेश गर्दा नै राणाहरूलाई थाहा भयो । काठमाडौं आइपुगेपछि प्रहरीले उहाँलाई पक्रिएर सिधै मोहनशमशेरकहाँ लिएर गएछन् । सिंहदरबारभित्रै कोठामा राखिएछ ।

म बसेकै घरमा खाँची ढिकुराका भोजराज घिमिरे पनि डेरा गरी बस्नुहुन्थ्योे । नजिकै अर्को घरमा तौलिहवाका वामदेवजी बस्नुहुन्थ्योे । मैले उहाँँलाई पनि चिन्दथेँ । उहाँँहरूले कोइरालाजीलाई खाना, फलफूल, रोटी पुर्‍याउनु हुँदो रहेछ । खाना पुर्‍याउँदा पुर्‍याउँदै वामदेवजीलाई पनि त्यहीँ थुनेर राखेछन् । अनि भोजराजजीले दुवैजनालाई खाना पुर्‍याउनुपर्ने भयो । दुईजनाको खाना लिएर जाने साथी चाहियो । अनि चार/पाँच दिन साँझमा मलाई पनि लैजानुभयो । त्यो अनुभव र साथीहरूका कुरा सुन्दा मलाई लाग्यो, म त गलत बाटोमा पो लागेछु । जागिरको आशले यस्ता शोषक अपराधीको चाकडीमा हिँड्दो रहेछु भन्ने लागेर चाकडीमा जान छाडिदिएँ । २००७ साल लाग्यो, म फर्किएर घर आएँ । बुबासँग खर्च माग्ने कुरा पनि भएन । बुबाले मेरो भित्री कुरा बुझ्नुभयो । जागिर खाएर आउँछु भनेको छोरा त कांग्रेस भएर पो आएछ भन्ने थाहा पाउनुभयो । बुबा त मसँग बोल्न पनि नबोल्ने र ढोग्न जाँदा खुट्टा पनि राम्रोसँग नदिने गर्नुभयो । त्यतिबेला गाउँँका मुखिया, जिम्मुवाल, तालुकदार, गाउँँँका भलाद्मी भनाउँदा धेरैजसो राणा सरकारको विरोध गर्ने पक्षमा हुँदैनथे ।
… … …
काठमाडौं मात्र होइन, देशभर राणाविरोधी आन्दोलनको लहर बढ्दै गयो । हामी पनि आप्नो गाउँठाउँमा नाराबाजी गर्दै हिँड्न थाल्यौँ । अवस्था कस्तो थियो भने बुबाहरू मन नपराउने तर हामी जुलुस जम्मा गरेर नारा लगाउँँदै हिड्थ्यौँ । जुलुस तितरबितर भएपछि पक्रिन आउँछन् कि भनेर जंगलतिर जान्थ्यौँ । राति साँझको खाना खान घरमा पनि जान्नथ्यौँ । पाँच/सातजनाको टोली मिलेर कोही खान दिनसक्ने जस्ताका घरमा जान्थ्यौँ र जे दिन्छन् त्यही खाएर सुत्थ्यौँ । बिहान उठेर घरमा यताउता लाग्दथ्यौँ । कोही सिपाहीजस्ता मानिस आएको थाहा दिनलाई बीच–बीचमा गोप्य चौकीदार पनि राखेका हुन्थ्यौँ । अपर्झट वा साधारण रूपमा जम्मा हुनका लागि कटुवाललाई नगारा बजाउन लगाएपछि मानिस जम्मा हुन्थे । तालुकदारहरूले भनेर मात्र कटुवालहरूले हाँक पार्दथे । आन्दोलनको समयमा बुबाको सहमति नभए पनि मैले भनेपछि कटुवालले हाँक उर्दी गर्दथे । बुबा मुखिया जिम्मुवाल हुनुहँदा बुबाको अधिकार मैले राणाविरोधी आन्दोलनमा प्रयोग गर्दथेँ ।
२००७ सालमा श्री ५ त्रिभुवनका नाति ज्ञानेन्द्रलाई मात्र छाडेर सपरिवार भारतको राजधानी दिल्ली सवारी भएपछि देशमा आन्दोलन झन् चर्कियो । राणाका दलालहरूले यी आन्दोलनकारी कांग्रेसलाई फलामको कोलमा राखेर पेल्नुपर्दछ पनि भन्दथे । आन्दोलनकारीलाई नामै किटेर पनि मुर्दावादका नारा लगाइन्थ्यो । अन्तिममा राजा र प्रजाको प्रयासबाट आन्दोलन सफल भयो । राणाहरू सम्झौतामा बस्न बाध्य भए । दिल्ली सम्झौता भयो । सो अनुसार २००७ साल फागुन ४ गते श्री ५ त्रिभुवन काठमाडौं फिर्ती सवारी भई फागुन ७ गते देशवासीका नाममा प्रजातन्त्र घोषणा भयो । प्रजातन्त्र घोषणा भए पनि जनताले चाहेजस्तो संविधान बनेर चुनाव हुने र सरकार बन्ने काम हुन सकेन । २०१५ सालसम्म श्री ५ को इच्छाबमोजिम काम चल्दै गयो । श्री ५ महेन्द्रबाट संविधान घोषणा भई २०१५ सालमा आमनिर्वाचन भयो, सरकार पनि बन्यो । सम्पूर्ण अधिकार राजामै निहित भयो । यी त राजनीतिक कुरा भए । अब मेरो आफ्नो कुरा गरौँ ।
… … …
प्रजातन्त्र पाएपछि अब जनतालाई शोषण गर्ने फटाहालाई नसिहत दिई सम्झाई सुधार गर्ने भनी राजनीतिक कार्यकर्ताहरू दौडाहाजस्तै टोली भएर गाउँँ–गाउँँमा गई काम गर्ने भनी पाल्पा तानसेनबाट टोली प्रमुखहरू खटाइएछ । गुल्मी अर्घाखाँचीतर्फको टोली प्रमुख नेता पुरानो कार्यकर्ता गुणनिधि पन्थीज्यू छानिनुभएछ । अरू सहायक उहाँँले नै बनाई काम गर्ने व्यवस्था रहेछ । पाल्पा गौँडाबाट हतियारसहित १० जना जतिको सशस्त्र टुकडी (ग्रुप) माग गरी हतियार बोकेका सरकारी फौजी राष्ट्रसेवक लिएर अर्घाको खन लुतेपोखरी भन्ने ठाउँँमा आई त्यहीँ पौवामा मुकाम कायम गरी बस्नुभएछ । टोली सहायकमा उहाँँको दाजु युवराज पन्थीज्यू साथै आउनुभएको रहेछ । धुर्कोटबाट उहाँँकै दाजु पर्ने हेमराज पन्थी र मलाई झिकाउनुभयो । मर्भुङ पोखराबाट मुखिया डिल्लीराज अर्याललाई झिकाउनुभयो । त्यस मुकाममा पीर परेका जनता उजुर गर्न आउन थाले । उजुर परेका मानिसलाई झिकाउने, आएकालाई व्यावहारिक नसिहतका रूपमा उठबस आदि गराउने, नआउनेलाई पक्रिन पनि पठाउने, अब नराम्रा काम गर्दिनँ भनी कागज गराउने र माफी माग्न लगाउने आदि काम हुन्थ्योे । मेरा मामाससुरा पर्ने बहादुर चुहान र मुखिया प्रेमनारायण एउटै गुटका दुईजनालाई पक्रिन पठाउँँदा पनि फेला परेनछन् । टोलीका युवराज दाइले मलाई एकान्तमा लगी ‘तपाईंको मामाससुरा पर्ने हँदा तपाईं जाँदा भाग्दैनन्, तपाईं जानुस् र सके लिएर आउनुस्, नआए बेइज्जत किन गर्ने, मिलाउने कुरा गरेर आउनुस्’ भन्नुभयो । ससुरालीसँग भेट पनि हुन्छ भनेर एक डेढ घन्टा जति हिँडेर म मामाससुराको घरमा पुगेँ । बाटोभरि मनमा कुरा खेलेँ– के भन्ने होला, कसरी मिलाएर आउन भन्ने होला भन्ने तर्कना मनमा आए ।
त्यहाँ पुगेको भोलिपल्ट बिहान उठेर हातमुख धोएर बसेको थिएँ । आप्नै टोलीको एकजना सिपाही आएर सुबेदार साहेबले बोलाउनुभएको छ, यता आउनुस् अरे भनेर गार्ड बसेको ठाउँँँमा लिएर गयो । त्यहाँँ गार्डको नाइके सुबेदारले भने, ‘तपाईंले बहादुर चुहान र प्रेमनारायण मुखियालाई भगाउनुभयो रे, तपाईंलाई नेताजीले नछाड्न भन्नुभएको छ । यहीँ बस्नुस् । कतै जानुपरे मसँग कुरा गरेर साथी लिएर जानुहोला’ भने । अचम्मको कुरा भयो । चार/पाँच दिन पहिलेदेखि लुकिरहेको मानिसलाई खोज्न पठाउने तर नभेटिएपछि भेटिनँ भन्न आउँदा भगाउनुभयो भन्ने आरोप लगाउने । यता यस्तो आरोप लाग्यो । उता म फर्किएपछि ससुरालीहरूले पनि सोधपुछ गरे होलान् । त्यसै टोलीको भएपछि धुर्कोटको ज्वाईं पक्रिन आउनुभएको थियो भन्ने गुनासो पनि गर्नुभएछ । त्यो पनि आरोप लाग्यो ।
१२ घन्टाजति सशस्त्र गार्डको हिरासतमा पहिलोपटक बसेँ । साँझ सुबेदारले नेताजीले बोलाउनुभएको छ, तपाईं जानुस् भने । अनि साँझ खानपिन गरी साबिकबमोजिम सुतियो । ती उजुर परेर बोलाइएका, पक्रिएका, टोलीमा उपस्थित भलाद्मी हौँ भन्ने फटाहाको आरोप लागेकालाई कान छोपेर उठबस गराउने, माफी मगाउने आदि नसिहत दिई अब यस्ता फटाहा काम गर्ने छैन भनी कागज गराउने र छाड्ने काम हुन्थ्योे । पिट्छन् भन्ने डरले कसैले हाजिर हुन नआएर कहीँ बाहिर जानुपरेकाले नेताजीलाई पछि भेट गर्न आउँछु भन्ने खबर पनि पठाउँँथे । धुर्कोट आएको दुई–तीन दिनपछि गुल्मीका नेपाली कांग्रेसका ठूला नेता काशीनाथ गौतमजी ठाउँँ–ठाउँँमा आमसभा गर्दै धुुर्कोट आउनुभयो । कोटको मैदानमै आमसभा भयो । त्यसै दिन बुबाको तालुकदारी बर्खास्त गरी पाऊँ भनी धेरैजनाको सही भएको निवेदन काशीनाथजीकहाँ पुगेछ । काशीनाथजीलाई दिएको निवेदन उहाँले मन्त्रालयमा पठाइदिनुभएछ । त्यहाँबाट मालअड्डा बागलुङलाई निवेदनहरूको सनाखत गराई कानुनबमोजिम गर्नु भनी तोक लगाएर पठाइएछ ।
एक सय ८० जनाका नाममा सकार गर्न आउनु भनी म्याद आयो । सकार गर्न यकिन कति गएका हुन् थाहा भएन तर मिसिल हेर्दा ५०/५५ जना जतिले मात्र सकार गरेको देखियो । सकार भएपछि बागलुङ मालबाट बुबाका नाममा बयान गर्न आउनु भनी म्याद आयो । बुबाको वारेस भएर म गएर बयान गरेँ । त्यसबेला गुल्मी जिल्ला छुट्टिएर गौँडा बसेको थियो, बयान गरेपछि गुल्मी गौँडामा हाजिर हुन जानु भनी तारिख तोकियो र घरमा आएँ । दुई/तीनवटा तारिख लिएपछि मिसिल पाल्पा अदालतमा पठाएर मलाई पनि त्यहीँ हाजिर हुन जान तारिख तोकियो । उजुरवालातर्फको पनि एकजना वारेस भएर तारिखमा जानुहुन्थ्योे । दुवैजना सँगै गयौँ । पेसी तारेख दियो । विपक्षीहरूले बयान गरेको नक्कल सारेर ल्याएर घरमा आएँ । घरमा आएर बयान गर्न गएकाहरूको नाम हेरी बुझ्दा त जाँदै नगएकाहरूको नामबाट कीर्ते सही बयान भएको देखियो ।
तारेखमा गइयो, मुद्दा पेसी थियो, छिनिने नै थियो । कीर्ते गरेको कुरा हाकिमसँग गरेँ । हाजिर भएपछि विपक्षीहरूको तारेखमा गएकालाई फाँटवाला बिचारीले भने, ‘बुढाबाजे, कीर्ते सही गराएर मुद्दा बोकेर हिँड्छौ ?’ पेसी तारेख भनेर तीन/चारजना गएका थिए, त्यसो भन्नासाथ सबैजना भागे । कोही हाजिर भएनन् । पीर पिराउ मुद्दा ठहरेन । मुद्दा छिनियो र हामीले जित्यौँ । २००७ सालदेखि २०१४ सालसम्म बुबाका नाममा धेरै मुद्दा परे, जस्तै– अंश मुद्दा, जग्गा मुद्दा, लेनदेन, तालुकदारी मुद्दा आदि परेका थिए । सबैमा वारेस भएर मैले धुर्कोट गाउँँ पञ्चायत, तम्घास, पाल्पा, काठमाडौं न्यायालयसम्म तारेखमा हिँडेँ । सफाइ पनि पाइयो । दाजुभाइभित्रका एक/दुईवटा मुद्दा २०१४ सालमा मिलापत्र भएर सकिए ।
उता मुद्दामा काठमाडौं आवतजावत गर्दागर्दै २०१२ साल कात्तिकमा मैले भाषा प्रथम परीक्षा पास गरेको थिएँ । त्यसैगरी २०१३ कात्तिक पटकको नेपाली निजामती मध्यमा परीक्षा पनि पास गरेको थिएँ । साथै २०१३ माघदेखि २०१४ माघ महिनासम्म नियमित छात्रको रूपमा रही श्री ५ को सरकार त्रिभुवन ग्राम विकास विभागबाट सञ्चालित ग्राम कार्यकर्ताको सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण पूरा गरी अन्तिम परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएको थिएँ ।
ग्राम विकास तालिम पूरा गरेपछि तुरुन्त नियुक्ति पाइएन । हामीलाई ‘घरमा जानुस् र बस्नुस्, घरमै नियुक्ति पठाउँँछौँ’ भनी बाटो खर्चसमेत दिई पठाइयो । २०१४ साल फागुनमा अर्घा बामरुकका खगेश्वर शर्मा, भैरहवाका नवीनचन्द सरकार (बंगाली) र म तीनजना काठमाडौंबाट सँगसँगै घर जान भनी हिँड्यौँ । दुई दिनमा वीरगञ्ज आइपुग्दा त्यतिबेला त्यहाँँ नेपाली कांग्रेसको अधिवेशन रहेछ । गुल्मीबाट भाग लिन जानेमा मेरा भिनाजु पर्ने शमसेरबहादुर खत्री पनि जानुभएको रहेछ ।
२००७ सालदेखि २०१५ सालबीचका अरू पनि उल्लेखनीय कुरा छन् ।
… … …
प्रजातन्त्र घोषणा नहुँदै २००७ साल माघमा एक दिन दिउँसोभरि नारा जुलुस गरेर साँझमा खाना खाएपछि कुलप्रसादजीकहाँ ५/७ जना जम्मा भएका थियौँ । गाँजा खाऊँ भनेर पातको सुल्फा बनाएर तान्न सुरु गर्दा त्यसै मौकामा निन्युखर्कका जितबहादुर श्रीश मगर घोडा चढेर राति आठ बजेतिर आइपुग्नुभयो । उहाँले प्युठानबाट आन्दोलनमा भाग लिएर आएँ भन्नुभयो । मैले पनि खान्छु भनेर हामीले सल्काएको गाँजा दुई सर्को जोडसँग तान्नुभयो । अनि तुरुन्तै हँहँ गरेर बुरुक्क उफ्रेर लगाएका कपडा सबै फालेर नांगै काँप्दै हिँड्नुभयो । आधा माइल जति टाढा थुम्कामा रहेको धुर्कोट कोटमा गएर ढोका फोरी भित्र पसेर तलामाथि लिप्न राखेको चुना शरीरभरि घसेर हातमा खुँडा र तरबार समाएर नाच्दै डेढ घन्टापछि अलि नजिकै आउनुभयो ।
माघको जाडो जून लागेका थिए । अनि कपडा लगाएर नाचौँला भनी (उनले आफ्ना कपडा सबै च्यातेका थिए) कुलप्रसादका दौरा सुरुवाल आदि कपडा लिएर नजिकै गएपछि कपडा लाउन आए । पछि कपडा लगाउँँदा भुइँमा राखेका तरबार खँडा एकातिर लगेर लुकाएर कपडा लगाइदिएपछि निजलाई भित्र लगेर राखियो । फेरि काँप्दै तलामाथि जानका लागि भर्‍याङमा जान खोजेपछि जान नदिन उनलाई कब्जामा राखियो । उहाँँको बुबालाई झिकाएर जिम्मा लगाई पठाउने सल्लाह गरी म घरमा आएँ । अर्को दिन १५/२० जना साथी लिएर उहाँका बुबा भूपालसिंह आएर छोरालाई लिएर जानुभयो ।
दुई दिनपछि आन्दोलनकै क्रममा भूपालसिंहको गाउँँको नजिकै बर्दवासमा केशर विष्टको घरमा गई बास बसेका थियौँ । भूपालजीले थाहा पाएर आप्ना गाउँँका ४०/५० जना जति मानिस हामीलाई पक्रिन पठाउनु भएछ । राति नै गएर घर घेराउ गरेर बसेका रहेछन् । उठेपछि तिनैको कब्जामा प¥यौँ । कुलप्रसाद पन्थी, नारायण पन्थी र म तीनजनालाई माझमा राखेर लगेर गए । भूपालजीकहाँ गएपछि उहाँँ देखिनु भएन । हामी घेरामै छौँ । १२ बजेतिरको समयमा बल्ल नुहाएर खाने हो भने जाऊँ भनेर चार/पाँचजनाका बीचमा राखेर पोखरीमा लिएर गएका थिए । पानी जम्मा भएको भैँसी पौडी खेल्ने पोखरीमा नुहाएझैँ गर्‍यौँ । नुहाएर आएपछि नारनजी खाना पकाउन गए । बारीको कुनामा राता चामलको भात र सिन्कीको तरकारी दुई बजेतिर इच्छाअनुसार खायौँ । पाँच बजेतिर लड्नैपर्ने हो भने हामीले पनि मानिस झिकाउँछौँ, नत्र यसरी किन बस्ने भनेर आपसमा कुरा गर्‍यौँ । त्यसपछि भूपालजी आएर ‘मेरो छोरालाई थुनेको हुँदा थुनेको हो, एकपटकलाई माफी भयो, लौ जाओ’ भनेर भित्र पसे । हामी पक्रिएका घरका विष्टजी पनि हाम्रो तलासमा आउनुभएको थियो । कुलप्रसादजी विष्टजीकै घरमा जानुभयो । म र नारन भाइ मेरो ससुराली सक्तुमारे पोखरा पुगेर बस्यौँ । यो पनि एउटा सानो स्मरणीय घटना हो ।
(पछि गएर धेरैजसो साथीसँग मेरो राजनीतिक सम्बन्ध हराएजस्तै भयो । राणाशासन हट्यो र प्रजातन्त्र आयो । मेरो साथीहरूसँग राम्रो विचार मिलेन । अनि राजनीतितिर ध्यान दिन छाडेको थिएँ । म कहिले घर र कहिले काठमाडौं आउने जाने गर्न थालेको थिएँ ।)
… … …
२००७ सालको आन्दोलनमा प्युठानमा सरकारी अड्डाहरूका सबै कागज आगोमा डढालिएका थिए । कर्मचारीहरू पनि भागेर हिँडेका थिए । स्थानीय व्यक्तित्व भएका खिमविक्रम घर्ती क्षेत्री बडाहाकिम र ईश्वरबहादुर खत्री क्षेत्री न्यायाधीश भई जिल्ला प्रशासन र न्यायको काम गरिएको थियो । प्रजातन्त्र घोषणा भएर सरकार बनेपछि पनि केही समय यो व्यवस्था रह्यो । त्यसै मौकामा प्युठान सक्तुमारेका टीकाबहादुर साहुउपर आप्नै भाउजुले बडाहाकिमकहाँ अंश दिलाई पाऊँ भनी ठाडो उजुरी दिइछन् । टीकाबहादुरजीलाई पक्राउ गरी लगेर झेलखानामै राखिएछ । बयान गर्दा पहिले मुद्दा फैसला भएर जितिसकिएको छ भनी बयान गर्नुभएछ । पहिलेका मिसिल कागज डढिसकेका हँदा जितेको प्रमाण के छ पेस गर्नु भन्ने आदेश भएपछि निज आफू थुनामा हुँदा छोरालाई घरमा फैसलाको नक्कल लिई आउनु भनी खबर गर्नुभएछ । छोरा शिवबहादुरले मलाई र आप्ना मामाको छोरा बलबहादुर चुहानलाई बोलाउनुभयो । सो फैसलाको नक्कल लिएर तीनजना प्युठान गयौँ ।
दुवैजना जेठानहरू थुन्छन् भन्ने डरले अड्डामा जानुभएन । म एक्लैले फैसलाको नक्कल लिएर गएँ । बडाहाकिमले टीकाबहादुरलाई दाजु भन्नु हुँदो रहेछ, नातामा दाजुभाइ पर्दा रहेछन् । बडाहाकिमसँग मेरो पहिलो भेट र चिनाजानी भयो । मलाई पनि ज्वार्इं भन्न थाल्नुभयो । मैले लगेको कागज उहाँको हातमा दिएँ, पढ्नुभयो र कोटको गोजीमा राख्नुभयो । यकिन याद नभए पनि त्यो समय चैतजस्तो लाग्छ । दिउँसो एक बजेतिर खलंगा बजारमा आगो लागेछ । जताततै हल्ला भयो । बडाहाकिमजी पनि उठेर उतै लाग्नुभयो, म पनि गएँ । बडाहाकिमजी आगो निभेपछि चार बजेतिर अड्डामा आउनुभयो । म पनि साथै आएँ । कागज पढ्नुभयो । मैले राख्नुपर्ने भए नक्कल सारेर रीतपूर्वक पेस गर्छु भनेर के भनेको थिएँ, झोक्किएर ‘अड्डामा आएको कागज कहाँ फिर्ता गर्ने’ भन्नुभयो । मैले अरू कुरा थप्न खोज्दा हवल्दारलाई ‘यिनी ज्वाईंलाई पनि झेलमा लगेर दाइसँगै राखिदे, धेरै कुरा गर्ने रहेछन्’ भन्नुभयो । हवल्दारले जाऊँ भने, म चुपचाप गएँ । कोठाचोटा नभएको हलजस्तो झेलखाना रहेछ । एउटा कुनामा ससुराले भात पकाउनुभयो, दुवैले खायौँ । म पनि एक रात त्यहाँ बसेँ ।
बिहान उठेर बडाहाकिमलाई चिठी लेखेँ । कहिलेसम्म बस्नुपर्ने हो तोकेर पठाइदिनु, चाहिएको सामान मगाउँँछु भनेर हवल्दारहस्ते नै पठाएँँ । उसले लगेर चिठी दिएछ, ‘जा म अहिले पछि आउँछु’ भनी पठाउनुभएछ । ११ बजेतिर गार्डलाई घोडा समाउन लगाएर कारागारको ढोकामा आएर म र ससुरालाई बोलाउनुभयो । ‘दाइ ! तपाईं सिपाहीहरूसँगै भोलि आउनुहोला, ज्वाईं र म आज जान्छौँ, भोलि साँझ तपाईंको घरमा बस्ने’ भनी भन्नुभयो । म पनि ससुरासँग बिदा भई बडाहाकिमजीसँगै हिँडेँ । यसरी एक रात जेलको अनुभव पनि भयो । बाटोभरि उहाँँ घोडामा, म र गार्ड पछि–पछि गरेर चार बजेतिर उहाँँको घर बांगे आइपुग्यौँ । त्यहीँ बसेर भोलि सँगै जाउँला भन्नुहुन्थ्योे । मैले डेढ घन्टामा पुगिन्छ, जान्छु भनेपछि उहाँँले एकान्तमा लगेर ‘जितिएको मुद्दा रहेछ, मैले भाउजूलाई सम्झाउँछु, ६ हजार रुपैयाँ जम्मा गर्न लगाउनुहोला’ भन्नुभयो । मैले हवस् भनेर हिँडेँ । जेठानहरू ज्वाईंलाई थुन्यो, हामीलाई पनि थुन्छन् भनेर रातारात घर आइपुग्नुभएको रहेछ ।
… … …
मैले बडाहाकिमजीसँग कुरा त गरेँ तर घुस दिएर मिलाउनेतिर लागिनँ । निज खिमविक्रमजीलाई डाँका चोरी मुद्दामा पाँच वर्ष कैद तोकिएको मलाई थाहा थियो । सो डाँका चोरी मुद्दा दिने पक्षसँग फैसलाको नक्कल झिकाएर काठमाडौं उजुर गर्न जाने भनेर रातारात हिँडेर टीकाबहादुरजीको छोरा शिवबहादुर र मसमेत भई उज्यालो हुँदा अर्घाखाँची बाँगी पुग्यौँ । अनि त्यो रात त्यहीँ बसेर खर्च जुटाई जाने भनेर बस्यौँ ।
उता टीकाबहादुरजी नुहाउन पँधेंरा जाँदा दाजीसँग म पनि जान्छु भनी खिमविक्रमजीसँगै गएर आफँ कुरा गरी ६ हजार दिएर मिल्ने कुरा भएछ । हामीलाई फर्काउन चिठ्ठी दिएर एउटा मानिस पठाउनुभएछ । साँझ आइपुगेर चिठ्ठी दियो, काम मिल्ने भयो सबै फर्कनु भन्ने लेखिएको थियो । तब मैले भनेँ, ‘तपाईंहरू फर्किनुस् । घुस ख्वाएर काम गर्ने ठाउँँमा म जान्नँ’ भनेर खन दहको बाटो जुम्लादी हुँदै धुर्कोट घरमा गएँ ।
(गुल्मी जिल्लाको धुर्कोटमा १९८६ भदौ १५ गते जन्मिएका लेखक थापाले लेखेको आत्मकथा ‘जीवनका आठ दशक’ मा सविस्तार उल्लेख छ ।)

प्रतिक्रिया