हराएको ३८ वर्षपछि घर फर्किए

yam-prasad-limbuइलाम, ९ वैशाख । इलाम इभाङका एक व्यक्ति हराएको ३८ वर्षपछि फेरि घर आइपुगेका छन् । इभाङ–६, गुरुङगाउँका यामप्रसाद लिम्बू घर छाडेका करिव ४ दशकपछि अकस्मात् घर आइपुगेका हुन् । लामो समयपछि घर फर्कदा उनी र परिवारमा खुसियाली छाएको छ । उमेरको उत्तरार्धमा आएका लिम्बूलाई अहिले आफ्नै गाउँ बिरानो भएको छ ।

घरमा आर्थिक अवस्था कमजोर भएका लिम्बू ०३४ सालदेखि बेपत्ता भएका थिए । सानैदेखि चौपायको व्यापारमा लागेका उनी गाउँघरबाट बाख्राखसी खरिद गरी झापाको दमकमा लगी बेच्ने काम गर्थे । घरबाट खसी बेच्न गएका उनी एकाएक गायब भएका थिए । घरपरिवाले खोजी नगरेको पनि होइन । सबै लागिपरेर खोजे तर भेटिएनन् । उबेला सञ्चार र यातायातको सुविधा थिएन । जहाँ पनि पैदल हिँडेर जानुपर्दथ्यो । घरमा कुनै चिठी वा खबर आएन । बर्सौं नभेटिएपछि परिवार र गाउँलेले आशा नै मारिसकेका थिए । उनी जीवित छैनन् भन्ने लागिसकेको थियो । काजक्रिया गर्न मात्र बाँकी थियो ।
तर, लिम्बू घर फर्किएको थाहा पाएपछि भेट्न गाउँले, छिमेकी र आफन्तको घरमा घुइँचो लागेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका कान्छा छोरा अग्निप्रसाद लिम्बू समेत बाबु घर आएको खबर सुनेपछि आकस्मिक बिदा मिलाएर घर आए । अहिले उनीहरू पारिवारिक खुसियालीमा छन् । ‘यतिका वर्षसम्म घर नआएका बाबु जीवित हुनुहुन्छ भन्ने कमै मात्र आशा थियो’ अग्निप्रसाद भन्छन्, ‘घर आएको सुनेपछि तत्काल बिदा मिलाएर आएँ ।’
यामप्रसाद यतिबेला जीवनकै सबैभन्दा खुसी महसुस भइरहेको बताउँछन् । ‘म जीवत नै छु भन्ने परिवारलाई आस्वस्त पार्न घर आएका हुँ’ लिम्बूले भने, ‘घरमा आउँदा त गाउँघर सबै बिरानो भइसकेको रहेछ । नातिनातिना समेत धेरै भइसकेछन् । सबैसँग भेटघाट भयो म असाध्यै खुसी छु ।
घर छाड्दा ३७ वर्षका लिम्बू फर्कदा ७५ वर्षीय वृद्ध छन् । पत्नी, २ छोरा र ४ छोरीको अभिवाभक उनी घर फर्कदा पत्नीलाई जीवित भेटेनन् । पत्नी जहानमाया लिम्बूको ०६४ सालमा नै बितिसकेकी छन् । वृद्ध अवस्थामा घर फर्किएका लिम्बूलाई कमैले मात्र चिने । सुरुमा परिवारका सदस्यले समेत चिनेनन् । ‘मैले घर छोड्दा छोराछोरी मसिना, थिए’ उबेलाको समय स्मरण गर्दै भन्छन्, ‘कान्छी छोरी त ३ वर्षकी मात्र थिई । अहिले म तपाईको छोरी, छोरी वा नातिनातिना हो भन्दै आउँछन् । उनीहरूले भनेकै आधारमा मैले चिन्ने गरेको छु ।’
लामो समय बेपत्ता लिम्बू भारतको आसाममा बस्दै आएका थिए । खोटाङका एक तामाङ जातिका साथीसँग सामान्य व्यवसाय गरेर बसेका उनी बताउँछन् । यसअघि पनि घर फर्कन धेरै कोसिस गरेपनि भाडा पैसा नभएकै कारण आउन नसकेको उनी बताउँछन् । ‘सुरुका २/४ वर्ष त परिवार र घरको यादले साह्रै सतायो । तर, के गर्नु भाडा तिर्ने पैसा कमाउन नै सकिएन’ लिम्बू भन्छन्, ‘पछि बिस्तारै बिस्तारै बिर्सदै गइएछ । त्यसपछि त ३८ वर्ष बितेको थाहै भएन ।’
साथीहरूसँगको लहैलहैमा भारत भासिएको बताउने लिम्बूले तीन वर्ष भारतको हिमाञ्चल प्रदेशमा बिताए । त्यसपछि तीन वर्ष नागाल्यान्डमा बिताए । पछिल्लो ३२ वर्षदेखि उनी आसाममा बस्दै आएका थिए । उनी त्यहाँ सामान्य खेतीपाती र स–साना व्यापार गर्दै आएका थिए । वृद्ध अवस्थामा लिम्बू जन्मघरमा नै प्राण जाओस् भनेर आफू घर फर्किएको बताउँछन् ।

प्रतिक्रिया