पानीका लागि नदीमा आश्रित

Pani-In-Surkhetसुर्खेत, ८ वैशाख । तरंगा–७ साँझघाटका धनबहादुर गुरुङ त्यहाँ बस्न थालेको ३६ वर्ष भयो । गुरुङले सो ठाउँ बस्दादेखि नै भेरी नदीको बग्ने पानी पिउँदै आएका छन् ।

मुहानको पानी पिउने चाहान गुरुङलाई भए पनि बाध्यताले बग्ने नदीको सहरामा गुजरा टार्नुपरेको छ । सम्पन्न परिवारले नदीको पानीलाई शुद्धीकरण गरेर पिउँदै आए पनि विपन्न वर्गले भने सिधै नदीको पानी पिउँछन् । ‘रोग लाग्छ भन्ने थाहा छ,’ गुरुङले भने, ‘विकल्प नभएपछि नदीको भरमा बाँच्नुपरेको छ ।’
सदरमुकामदेखि ३५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको विकट गाविस तरंगाका करिब पाँच सय घरधुरी भेरी नदीको पानी प्रयोग गर्दै आएका छन् । भौगोलिक विकटता र सरकारी संयन्त्रको ढिला सुस्तीका कारण विगत लामो समयदेखि उनीहरू नदीको भर पर्नुपरेको छ । तरंगामा विकासे योजना परे पनि प्राथमिकता दिएर काम नगरेका कारण हालसम्म गाउँमा खानेपानी सुविधाको भरपर्दो व्यवस्था हुन सकेको छैन ।
गाविसका वडा नम्बर ३ को चन्द्रेबाज, छाप्रे, ४ को साँझघाट, कुटा र ५ को तरंगा गाउँका स्थानीयवासीहरू नदीकै भरमा बाँच्नुपरेको छ । गाउँमा जिल्लाको विकास निर्माणमा सरोकार राख्ने निकायले आयोजना गाउँमा लगेको बताए पनि हालसम्म कुनै योजना सम्पन्न भएको रेकर्ड छैन । पुस्ताले नदीको पानी प्रयोग गरेर गए पनि अहिलेको वस्तीले समेत स्वच्छ पानी पाउने अपेक्षा नरहेको स्थानीयवासी बताउँछन् ।
‘अहिलेसम्म स्वच्छ पानी पिउन पाएका छैनौं,’ तरंगा–४ कुटाका सूर्यबहादुर सुनारले भने, ‘कहिले आयोजना सम्पन्न भएर हामीले स्वच्छ पानी पाउने हो, पत्तो छैन ?’ साँझघाट गाउँका लागि तरंगा २ मा रहेको सुकरमालाको मुहानबाट पानी ल्याउन नेवा संस्थाले निर्माण जारी राखेको ८ वर्ष भयो । तर, साँझघाटका स्थानीयवासी हालसम्म नदीकै सहरामा बाँचिरहेका छन् । तरंगा गाउँसम्म पानी आएको भए पनि बाढीले काम नलाग्ने गरी योजना असफल बनाउँदा थप निराशा छाएको स्थानीयवासी गुरुङको भनाइ छ । ‘तत्काल पानी आउने आशा छैन,’ उनले भने, ‘पुनः आयोजना निर्माण हुन ५ वर्ष लाग्ने होला त्यसबेलासम्म के हुने हो, पत्तो छैन ।’
भेरी नदीको पानी प्रयोग भएकाले अझै शुद्धपानी प्रयोग गर्ने आशा नरहेको स्थानीयवासी बताउँछन् । ‘आजसम्म यही पानी प्रयोग गर्दै आयौं,’ स्थानीयवासी लावरे बडुवालले भने, ‘तत्कालै आयोजना सम्पन्न भएर कसरी शुद्धपानी प्रयोग गर्न पाइएला र ?’ हिउँदको समयमा भेरी नदीमा स्वच्छ पानी भए पनि वर्षाको समयमा धमिलो पानी पिएरै बस्नुपरेको गुनासो तरंगावासीको छ । स्वास्थ्यको दृष्टिले खोला, नदी वा तालको पानी सिधै प्रयोग गर्न नहुने जानकारी तरंगाका नागरिकमा भए पनि बाध्यताले उनीहरूले सो पानी प्रयोग गर्नुपरेको बताए ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका सिनियर डिभिजनल इन्जिनियर आवेद हुसेनले तरंगावासीमा स्वच्छ पानी पु¥याउन काम जारी रहेको दाबी गरे । ‘क्रमागत योजनाको निर्माण कार्य जारी छ,’ सिनियर डिभिजनल इन्जिनियर हुसेनले भने, ‘गाविसमा पानी नभएका क्षेत्रमा पानीको स्रोत खोज्ने काम, इन्टेक र पाइपलाइन विस्तारको काम गरिरहेका छौं ।’ तर, उनले कहिलेसम्म तरंगावासीले पानी पाउँछन् भन्ने सवाल केही खुलाउन चाहेनन् । गत साउन अन्तिम साताको बाढीले तरंगामा मात्र ४० लाख बराबरको क्षति पु¥याएको भन्दै बजेट निकासा हुने क्रम जारी रहेकाले तत्काल बाँकी काम सञ्चालन हुने आश्वासन दिए ।
स्रोतका अनुसार बाढीले क्षति पु¥याएको खानेपानी संरचनाको यकिन विवरण संकलन नगरेका कारण पुनः स्टिमेट तयार गरेर पठाएको छ । कहिले योजना स्वीकृति भएर तरंगामा खानेपानी आयोजनाको काम सुरु हुने भन्नेबारे केही भन्न नमिल्ने स्रोतको ठहर छ ।

प्रतिक्रिया