मृत्यु पर्खेर बसेकी हिमा

hima-bk-Deukhuriदाङ, ८ वैशाख । बाँच्ने आशा त्यत्तिकै छ, संसार देख्ने मन पनि उत्तिकै छ तर विडम्बना उपचार गर्ने एक पैसा पनि छैन । बिहेका लागि कुरा पनि नचलेका होइनन् तर बिहेको लगन गाँठो भने जुरेन ।

दाङ रामपुर–२ चाकलीघाट हाल लमही–११ मा बस्दै आएकी ३१ वर्षीया हिमा विकलाई उमेरमै रोगले च्यापेपछि उनमा यस किसिमको निराशा छाएको हो । उनको मुटुको भल्ब खराब भएपछि उनी बिरामी परिन् । दुई वर्षदेखि उनलाई मुटु रोगले छोएको हो ।

तर, रोग निको बनाउन औषधि गर्ने एक सुको पैसा नभएपछि दिदीको घरमा मृत्यु पर्खेर बस्नुबाहेक अरू विकल्प उनको रहेन । ‘बाँच्ने आशा छ, मेरो मुटुमा नसा च्यापिएको छ रे,’ हिमाले भनिन्, ‘हामी गरिबलाई रोग लाग्यो भने बाँच्ने आशा नराखे हँदोर‘छ ।’

मृत्युलाई पर्खेर बसेकी हिमाको उपचारका लागि अहिलेसम्म तीन लाख रुपैयाँ खर्च भइसक्यो । बाख्रा बेचेर र ऋण काढेर उनकी दिदी सीता विकले अहिलेसम्म बहिनीको उपचार गर्दै आएकी छन् । ‘उपचार गर्न चाहिने पैसा सकियो, अब कहाँबाट पैसा जुटाउने हो,’ उनले भनिन्, ‘बहिनीको उपचार जसरी पनि गर्छु भन्ने लाग्छ तर केही उपाय निस्किएको छैन ।’

सरकारले मुटुरोगीको उपचारका लागि सहुलियत दिने सुनेपछि सीताले लमही नगरपालिकाबाट सिफारिससम्म बनाइन् । बाँकी प्रक्रियाका बारेमा केही थाहा छैन, उनलाई । ‘हामी गरिब दुःखीलाई किन रोगले सताउँदो हो,’ उनले भनिन्, ‘आफ्नो आँखाअघि बहिनी जीवन र मृत्युसँग संघर्ष गरेको कसरी देख्न सकुँला ।’

वैंसमै रोगले बहिनीलाई च्यापेपछि बिहे पनि हुन सकेको छैन । ‘सुरुमा बहिनीले बिहे गर्न मानिनन्, अहिले बिहे गर्छु भन्दा पनि रोगले च्यापेकाले बिहेका लागि कोही पनि आउँदैनन्,’ सीताले भनिन्, ‘बहिनीको उपचार गरेर विवाह बन्धनमा बाँधिदिने मेरो चाहना छ ।’ घरमा आमा, बहिनी र एक दाजु छन् । दाजु छुिट्टएर बसेपछि बहिनीको उपचारका लागि केही सहयोग गरेका छैनन् ।

‘बुबा बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए,’ सीता भन्छिन्, ‘अहिले बहिनी मेरो घरमा बस्दै आएकी छे ।’ सीताका केही बाख्रा छन् र त्यही बाख्रा जीवन धान्ने उनीहरूको आधार बनेको छ । ‘यही बाख्रा हो घर खर्चको आधार,’ उनी भन्छिन्, ‘यही बेचेर साँझ बिहानको छाक टार्ने कि बहिनीको उपचार खर्च जुटाउने ?’

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंले अप्रेसन खर्चबापत् तीन लाख रुपैयाँ मागेपछि उनीहरू घर फर्किएका हुन् । उपचारका लागि त्यति धेरै रकम नभएपछि उनीहरू घर फर्कनुपरेको हो । ‘कहाँबाट त्यति धेरै रकम ल्याउनु ?,’ उनले भनिन्, ‘रोग लागेको थाहा पाएर पनि पैसा नभएकाले लुकाएर बस्नुपरेको छ ।’

प्रतिक्रिया