बहिरा क्रिकेटमा कास्की र सुनसरी फाइनलमा

1426504469064_GPP-Morang-cricketमोरङ, ३ चैत । नेपाल बहिरा क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी छैटौँ राष्ट्रिय प्रतियोगिताको सम्पन्न भएको खेलमा कास्की र सुनसरी विजयी भएका छन् ।

सोमबार पहिलो खेलमा कास्की बहिरा क्रिकेट सङ्घले नक्साल बहिरा क्रिकेट क्लब काठमाडौंलाई ८१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कास्कीले १९ दशमलब ४ बलमा सबै विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको थियो ।

जसमा उत्तम महर्जनले सर्वाधिक १८ रनको योगदान गरेका छन् । काठमाडौंका रिङ्कु अग्रहरीले सर्वाधिक ३ विकेट लिएका थिए । एक सय १९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १० दशमलव २ बलमा सबै विकेट गुमाइ ३७ रनमा सिमित हुन पुग्यो ।

काठमाडौंका कुनै पनि खेलाडीले दोहोरो अङ्कलाई छुन सकेनन् । कास्कीका म्यान अफ म्याच रञ्जित दास र कृष्ण क्षेत्रीले ३–३ विकेट लिएका थिए ।

त्यसैगरी दोस्रो खेलमा सुनसरी बहिरा क्रिकेट सङ्घले काठमाडौं बहिरा क्रिकेट सङ्घलाई ८ विकेटले पराजित गरी लगातार दुई खेलमा विजयी भई फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले १८ दशमलव ५ बलमा सबै विकेट गुमाइ ८६ रन बनाएको थियो । जसमा सन्तोष गुप्ताले सर्वाधिक २६ रन योगदान दिएका थिए ।

सुनसरीका म्यानअफद म्याच रूपेश चौधरीले ३ ओभरमा १० रन दिएर ४ विकेट लिएका थिए । ८७ रनको विजयी लक्ष्य पछ्याएको सुनसरीले ११ दशमलव ५ बलमा २ विकेट गुमाएर सो विजयी लक्ष्य भेटाएको थियो ।

जसमा महेन्द्र लिम्बूले २४ रन बनाएका थिए । काठमाडौंका ध्रुव कँुवरले २ विकेट लिएका थिए ।

चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरी बहिरा क्रिकेट सङ्घ, मोरङ बहिरा क्रिकेट सङ्घ, झापा बहिरा क्रिकेट सङ्घ, कास्की बहिरा क्रिकेट सङ्घ, काठमाडौं बहिरा क्रिकेट सङ्घ र केन्द्रीय बहिरा उच्च मावि गरी ६ टिमको सहभागिता भएको छ ।

दुईवटा समूहमा विभाजित भएर खेलाएको प्रतियोगितामा दुवै समूहबाट पहिलो हुने टिमले फाइनल खेल्ने भएको छ ।

 

प्रतिक्रिया