डेन्टल पढाइका लागि मान्यता दिने क्रम तीव्र

काठमाडौं, २७ फागुन । सरकारी र निजी क्षेत्रबाट अस्पताल खोल्ने होडबाजीसँगै शिक्षा मन्त्रालय, विभिन्न विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले एमबिबिएस र डेन्टल पढाइका लागि मान्यता दिने क्रम बढेको छ ।

२०३४ देखि मान्यता दिन सुरु गरेको मन्त्रालय, विश्वविद्यालय र काउन्सिलले हालसम्म २३ कलेजलाई मान्यता दिइसकेको छ ।

मान्यता दिइएका कलेजमध्ये १२ वटाले काठमाडौं विश्वविद्यालय र नौ वटाले त्रिभुवन विश्वविद्यालयको स्वीकृतिमा र दुईवटा आफैं संस्थानका रुपमा पढाइ सञ्चालन गर्दै आएका छन् ।

देशमा रहेका सबै मेडिकल कलेजले वार्षिक दुई हजार ६३५ लाई एमबिबिएस र डेन्टल शिक्षा दिँदै आएको मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामा बताउनुहुन्छ । यसमध्ये सबैभन्दा धेरै नोबेल मेडिकल कलेज विराटनगर, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, नेपाल मेडिकल कलेज जोरपाटी र कलेज अफ मेडिकल साइन्सेस भरतपुरले २०० लाई पठनपाठन गराउँदै आएका छन् । सबैभन्दा कम एमबी केडिया डेन्टल कलेजले ३५ जनालाई पठनपाठन गराउने गर्दछ ।

काउन्सिलले विभिन्न कलेजलाई अनुमतिपत्र दिने, नियन्त्रण गर्ने, शैक्षिक गुणस्तरका लागि शिक्षक योग्य भए नभएको बुझ्ने काम गर्ने गरिआएको उनले बताए ।
अहिले देश र विदेशमा पढेर आउने वार्षिक एक हजार २०० देखि एक हजार ५०० चिकित्सकले अनुमतिपत्र लिने गरेको छन् ।

प्रतिक्रिया