एपिएफद्वारा रिलेमा नयाँ राष्ट्रिय कीर्तिमान

APFकाठमाडौं, ६ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ३९ औं राष्ट्रिय एथलेटिक्सको तेश्रो तथा अन्तिम दिन सोमबार महिला ४ गुणा ४ सय मिटर रिलेमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ ।
प्रमिला रिजाल, दिलमाया कार्की, सविता चौधरी र विन्द्रा धन्के श्रेष्ठ सम्मिलित एपीएफ टोलीले निर्धारित दूरी ४ मिनेट ०८.५ सेकेन्डमा पूरा गर्दै १९९८ मा काठमाडौं मै भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा बनेको कीर्तिमान भंग गरे । त्यति बेला देवीमाया पनेरु, सुस्मिता थापा, विनिता श्रेष्ठ र समिज्ञा शाक्यको टोलीले ४ मिनेट ०८.९१ सेकेन्डको कीर्तिमान स्थापित गरेका थिए ।नेपाली सेना दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । सोही स्पर्धाको पुरुषमा सेना, नेपाल प्रहरी क्लब र मध्यमाञ्चल क्रमश: शीर्ष तीन स्थानमा रहे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष २ सय मिटर दौडमा प्रहरीका यामसाजन सुनार पहिलो भए । १ सय मिटर दौडका कीर्तिमानधारी यामले निर्धारित दूरी तय गर्न २१.५ सेकेन्ड समय खर्चे । मध्यमाञ्चलका आशिष चौधरी (२२.३ सेकेन्ड) दोश्रो र सेनाका मीनबहादुर चौधरी (२२.४ सेकेन्ड) तेश्रो भए ।
त्यसै स्पर्धाको महिलामा २६.४ सेकेन्ड समयसाथ एपीएफकी दिलमाया कार्कीले स्वर्ण जितिन् । सेनाकी दुर्गा देवकोटा (२७.२ सेकेन्ड) दोश्रो र मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरी (२८.३ सेकेन्ड) तेश्रो बने ।
पुरुषको ८ सय मिटर दौडमा सेनाका मुक्ति खड्का पहिलो भए । उनले निर्धारित दूरी १ मिनेट ५६.९ सेकेन्डमा सिध्याए । पश्चिमाञ्चलका विनोद गुरुङ (२ मिनेट ००.२ सेकेन्ड) दोश्रो र एपीएफका लक्ष्मण मल्ल
(२ मिनेट ०३.७ सेकेन्ड) तेश्रो भए ।
उक्त स्पर्धाको महिलामा सेनाकी लक्ष्मी पाण्डेले बाजी मारिन् । लक्ष्मीले २ मिनेट २२.१ सेकेन्ड टाइमिङ निकाल्दै शीर्ष स्थान हात पारिन् । प्रहरीकी मानमति विष्ट (२ मिनेट २८.५ सेकेन्ड) दोश्रो तथा एपीएफकी विन्द्रा धन्के श्रेष्ठ (२ मिनेट ३१.४ सेकेन्ड) तेश्रो भए ।
पुरुषको १० हजार मिटर दौडमा सेनाका हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ३१ मिनेट ५८.२ सेकेन्ड समय लगाए । एपीएफका गोपीचन्द पार्की (३१ मिनेट ५८.५ सेकेन्ड) दोश्रो तथा सेनाका कल्याण बानियाँ (३१ मिनेट६०.० सेकेन्ड) तेश्रो भए ।
१० हजार मिटरकै महिलामा एपीएफकी कान्छीमाया कोजु प्रथम भइन् । कान्छीमायाले ३७ मिनेट ५३.० सेकेन्ड समय निकालिन् । सेनाकी विश्वरुपा बुढा (४० मिनेट ३८.३ सेकेन्ड) दोश्रो तथा मध्यमाञ्चलकी सरस्वती खड्का (४२ मिनेट २८.६ सेकेन्ड) तेश्रो भए ।
ट्रिपलजम्पको पुरुषमा प्रहरीका चन्द्रदेव जोशी (१४.१० मिटर) पहिलो, सेनाका भविन्द्र गिरी (१३.८४ मिटर) दोश्रो तथा सेनाकै डिल्ली खत्री (१३.७० मिटर) तेश्रो भए । त्यसैको महिलामा प्रहरीकी केशरी चौधरी (११.७२ मिटर) पहिलो, सेनाकी कृष्णा चौधरी (१०.७९ मिटर) दोश्रो तथा एपीएफकी शिला चौधरी (१०.६३ मिटर) तेश्रो भए ।
पुरुषको ज्याभ्लिन थ्रोमा सेनाका धीरेन्द्रजंग शाहले स्वर्ण चुमे । उनले ५४.४७ मिटर टाढा फाले ।प्रहरीका नरेन्द्रजंग शाह (५१.०९ मिटर) दोश्रो र एपीएफका बालकृष्ण चौधरी (५०.२१ मिटर) तेश्रो भए । महिलामा३५.६८ मिटर टाढा फालेकी सीमाकुमारी थारु पहिलो भइन् । प्रहरीकी चन्द्रकला लामगाहा (३३.८३ मिटर) दोश्रो तथा सेनाकी सीता राई (३३.७९ मिटर) तेश्रो भए ।

प्रतिक्रिया