काठमाडौं, ११ मंसिर । दोस्रो संविधानसभा निर्वाचनमा खेलक्षेत्रसँग सम्बन्धित अधिकांश खेल पदाधिकारी पराजित भएका छन् । अघिल्ला निर्वाचनको तुलनामा यसपटक खेल क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तित्व उम्मेदवार बनेका थिए । तर दुर्भाग्यवस एक दुई जनाबाहेक अन्य कसैले पनि खेल क्षेत्रको इज्जत जोगाउन सकेनन् ।
चर्चाको शिखरमा रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ, नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ, नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङलगायत व्यक्तित्व पराजित भए । केही उम्मेदवारले प्रतिस्पर्धाका बाबजुद हार बेहोरे भने केहीले तेस्रो स्थानमा सम्म पनि नाम लेखाउन सकेनन् । नेकपा एमाले खेलकुद विभाग प्रमुख कर्ण थापा बाजुराबाट विजयी भए ।
त्यस्तै बारा क्षेत्र नम्वर ६ बाट नेकपा एमालेका उम्मेदवार तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल पनि जितको माला पहिरन सफल भए । त्यस्तै नेपाल इक्विस्ट्रियन संघका उपाध्यक्ष तथा नेपाली कांग्रेसको तर्फबाट जाजरकोट क्षेत्र नम्वर २ का उम्मेदवार राजिव शाह पनि जितको हकदार बने । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान नवलपरासी क्षेत्र नम्बर ४ र ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । तर उनी ती दुवै क्षेत्रबाट तेस्रो स्थानको प्रतिस्पर्धामा समेत उक्लन सकेनन् । नवलपरासीको क्षेत्र नं ४ मा एमालेका वैजनाथ चौधरी थारू विजयी भए । थारूले १० हजार ७ सय ५० मत प्राप्त गरे ।
छैटौँ स्थानमा रहेका राप्रपा उम्मेदवार प्रधानले १३ सय ९४ मत मात्र प्राप्त गरे । उनी नै उम्मेदवार रहेको क्षेत्र नम्वर ५ मा नेपाली कांग्रेसका विक्रम खनाल विजयी भए । खनालले ९ हजार २ सय ४ मत प्राप्त गरे । सो क्षेत्रमा पाँचौ स्थानमा रहेका प्रधानले २६ सय ४५ मत प्राप्त गरे । काठमाडौँ क्षेत्र नम्बर ८ का उम्मेदवार जीवनराम श्रेष्ठ नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भए । सो क्षेत्रमा जोशीले १३ हजार ७ सय ७४ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका जीवनरामले ६ हजार ३ सय ६७ मत प्राप्त गरे । ताप्लेजुङ क्षेत्र नम्बर २ का उम्मेदवार एमाओवादी उम्मेदवार टंक आङबुहाङ यसपटक तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । टंक उम्मेदवार रहेको सो क्षेत्रमा एमालेका डम्बरध्वज तुम्बाहाम्फे विजयी भए ।
डम्बरले ७ हजार ३४ मत प्राप्त गरे । टंकले भने ४ हजार ५ सय ५७ मत मात्रै प्राप्त गरे । त्यस्तै चितवन क्षेत्र नम्बर ५ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले पनि दोस्रो स्थानमा चित्त बुझाए । सो क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले जित दर्ता गराए । पाण्डेले १० हजार ८ सय ५८ मत प्राप्त गरे । तामाङले ८ हजार ४ सय ६ मत मात्रै प्राप्त गरे । नेपाल सुटिङ स्पोर्टस संघका अध्यक्ष किशोरबहादुर कार्की पनि यो संविधानसभामा
राप्रपाको तर्फबाट उम्मेदवार भएका थिए ।
सर्लाही २ बाट उम्मेदवार बनेका कार्कीले पनि पराजयको पीडा बेहोर्नु पर्यो । सो क्षेत्रमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भए । चौधरीले ६ हजार ४ सय ७ मत प्राप्त गरे । कार्कीले आठौँ स्थानमा चित्त बुझाउँदै १८ सय २ मत प्राप्त गरे । तर खेल क्षेत्रसँग सम्बन्धित भएर खेलक्षेत्रलाई माया गर्ने केही व्यक्तित्वले जितको माला पहिरिएका छन् । बलबहादुर केसी, पुर्णबहादुर खड्का, दिपक बोहरालगायत व्यक्तित्वले यसपटक संविधानसभामा खेल क्षेत्रको प्रतिनिधित्व गर्ने भएका छन् ।
प्रतिक्रिया