काठमाडौं, १ मंसिर । टि ट्वान्टी विश्व कप क्रिकेटको छनौट चरणमा नेपालले आफनो जीतको क्रम शुरु गरेको छ । संयुक्त अरव इमिरेट्स (युए ई) मा शुक्रवारबाट सुरु भएको ट्वान्टी–२० विश्वकप छनोट अन्र्तगतको पहिलो खेलमा नेपालले जीत दर्ता गरायो । नेपालले शुक्रवार डेनमार्कलाई ५ विकेटले पराजित गरेको छ ।
डेनमार्कले प्रस्तुत गरेको ८० रनको लक्ष्य नेपालले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो । दुवई स्थीत आईसीसी एकेडेमी ओभल २ मा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको डेनमार्कले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रन बनाएको थियो । नेपालका लागि सागर पुनले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । बसन्त रेग्मीले २ दशमलव४ ओभर बलिङ गर्दै ८ रन दिएर २ विकेट लिए । जितेन्द्र मुखियाले पनि ३ ओभरमा १६ रन दिएर २ विकेट लिए । कप्तान पारस खड्का र शक्ति गौचनले पनि एक एक विकेट लिए । अमृत भट्टराईले ३ ओभरमा १० रन मात्रै दिएपनि विकेट झार्न सकेनन् ।
८० रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालको शुरुवात राम्रो हुन सकेन् । खराव सुरुवात गरेको नेपालको पारी कप्तान पारस खड्का र सुवास खकुरेलले सम्हालेका थिए । शुरुवाती ब्याटसम्यान प्रदीप ऐरी पहिलो ओभरको चौथो बलमा शुन्य रनमा आउट भए । दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि खाता नै नखोली पभेलियन फर्के । नेपालले दोश्रो ओभरको चौथो वलमा मात्रै रन बनाउन सकेको थियो । कप्तान पारस खड्काले पाँच छक्का र एक चौकासहित ४८ रन बनाए । पारससँग ६४ रनको साझेदारी गरेका सुवास १६ रनमा आउट भए । पारसको स्थानमा आएका विनोद भण्डारी पनि शुन्यमै आउट भए । सरद भेसवाकर ५ र सागर पुन २ रनमा अविजित रहे ।
नेपालले अव शनिबार हुने दोस्रँे खेलमा केन्याको सामना गर्नेछ । नेपाल रहेको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । अर्को समुहमा आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
प्रतिक्रिया