आयुर्वेद र ज्योतिषको अन्तरसम्बन्ध

Deepak-Subediस्वास्थ्य तथा चिकित्साको विषयमा आयुर्वेद र ज्योतिष दुबै त्रिदोष सिद्धान्तमा आधारित छन् । पूर्वीय दर्शन भित्रको चिकित्सा पद्धति आयुर्वेदविज्ञान र समयविज्ञान ज्योतिषबीच निकटतम अन्तरसंबन्ध रहेको छ । ज्योतिष शास्त्रमा ग्रहका प्रकृति र स्वभाव तथा तिनले मानव शरीरमा देखाउने त्रिदोषात्मक प्रभावको बारेमा पाईने चर्चा पाइन्छ भने आयुर्वेद चिकित्सा पद्धतिको रोग निदानको प्रमुख सिद्धान्त नै त्रिदोष सिद्धान्त हो ।
राशि तथा ग्रहका त्रिदोषत्मक आ–आफ्ना प्रकृति र मानव शरीरभित्र पार्ने प्रभाव शुभाशुभ दुबै हुन्छन् । अनुकूल प्रभावलाई बढाउन र प्रतिकूल दुष्प्रभावलाई निवारण गर्नका लागि ज्योतिष शास्त्रमा निर्देशन गरिएको रत्न चिकित्सा र आयुर्वेदमा प्रयोग हुँदै आएको रत्न तथा खनिजहरूको भष्मको प्रयोग सम्बन्धित देखिन्छ । त्यस्तै ज्योतिष शास्त्रमा निर्देशित बनस्पतिका जडादि धारण तथा ग्रहस्नानका लागि प्रयोगमा आउने बनस्पति द्रव्यहरू र आयुर्वेद चिकित्सामा औषधि निमार्ण–उपचारमा प्रयोगमा आउने औषध द्रव्य जडिबुटिको छनौटको सिद्धान्तमा समेत एकता पाईन्छ ।
खगोलीय ग्रह नक्षत्रादि स्थितिको सबै प्राणीमा शुभाशुभ असर हुन्छ भन्ने मान्यताबमोजिम आयुर्वेद शास्त्रमा रोगिको औषधोपचार गर्नु पूर्व ज्योतिषीय मापदण्डहरू अवलम्वन गर्न उपदेश गरिएको छ । जस्तै– ग्रहेषु प्रतिकूलेषु नानुकुलं हि भेषजम्, ते भेषजानां वीर्याणि हरन्ति बलवन्त्यपि, याप्या: केचित् प्रकृत्यैव केचिद्याप्या उपेक्षया, प्रतिकृत्य ग्रहानादौ पश्चात् कुर्याश्चिकित्सितम् –भै.र. । अर्थात “ग्रह प्रतिकुल भएमा औषधि अनुकूल हुन सक्दैन, ग्रहले औषधिको बलवान वीर्यलाई नष्ट गरिदिन्छ । त्यसकारणले गर्दा सर्वप्रथम ग्रहको प्रतिकार गरेर चिकित्सा प्रारम्भ गर्नु” । उपर्युक्त श्लोकमा भनिए जस्तो सर्वप्रथम प्रतिकुल ग्रहको प्रतिकार गरी रोगको औषधोपचार गर्दा पीडितलाई बढी राहत मिल्नसक्छ र चिकित्सामा लक्ष्य हासिल गर्न सजिलो हुनसक्छ । समाजमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आयुर्वेद र ज्योतिषीय पद्धति दुवैको माध्यमबाट उपचार हुँदै आएको कुरा सर्वविदितै छ । अन्य उपचार गरी थकित भैसकेपछि धेरैजसो व्यक्तिहरू ज्योतिषीको शरणमा जाने, ज्योतिषीय सल्लाह लिने र ज्योतिषीय पद्धतिबाट उपचारको उपाय खोज्ने गर्दछन् ।
विफर, दादुरा/ठेउला जस्तो सरुवा तथा माहामारी फैलने रोगको कारण समेत आयुर्वेदमा शनि आदि कुनै क्रुरग्रहको कारणले हुन्छ भन्ने ज्योतिषीय मान्यतालाई स्वीकार गरिएको छ । त्यस्तै यसप्रकारको रोग लाग्नबाट बच्नको लागि गर्नपर्ने ज्योतिषीय उपचार पनि बताईएको छ । जस्तै–चैत्रासितभूतदिने रक्तपताकान्विता स्नुही भवने, धवलित कलसे न्यस्ता पापरोगं दूरतो धत्ते –भै.र.। अर्थात “चैत्रमास कृष्णपक्षको चतुदर्शीको दिन घरमा श्वेतकलशमा रातोध्वजा सहितको सिउँडीको हाँगा स्थापना गर्नाले विफरको आक्रमण हुँदैन” ।
त्यस्तै उल्कापातादि अशुभ लक्षण तथा शकुन आदिको बारेमा ज्योतिष र आयुर्वेदको उपदेश एकआपसमा मिल्दोजुल्दो पाईन्छ । चरकसंहिताको विमानस्थानमा भनिएको छ–दृश्यन्ते हि खलु सौम्य ! नक्षत्रग्रहचन्द्रसूर्यानिलानलानां दिशां …… किंचित्प्रतीकारगौरवं भवति । अर्थात “अकारक अवस्थामा स्थित नक्षत्र तथा ग्रहले अग्नितत्त्व र दिशाहरूको ऋतुलाई विगार गर्ने प्रभाव अवश्यनै गर्दछन् । यस समयमा पृथ्वी पनि शीघ्ररूपमा औषधिको रस वीर्य विपाक तथा प्रभावलाई यथावत उत्पन्न गराउन सक्तिनन् । रस वीर्य आदिको यथावत नहुनाले प्राय रोगहरू हुनु स्वाभाविकै हो । अत: जनपद विनास हुनु भन्दा पहिला र भूमी रसरहित हुनुपूर्व तथा औषधिको रस वीर्य विपाक नष्ट नहुँदै संग्रह गर्नु । औषधिको सम्यक् प्रकारबाट संग्रह गरी सम्यक् प्रकारको कल्पना गरि तथा राम्रोसँग सोंचविचार गरिकन प्रयोग गर्नाले जनपद्नाशक (महामारीजन्य रोगको) विकारलाई प्रतिकार गर्न कुनै गाह्रो पर्दैन” । यो भगवान आत्रेय र शिष्य अग्निवेश बिचको संवाद हो । औषध द्रव्यको संकलन गर्न ज्योतिष ज्ञानको राम्रोसंग अनुसरण गर्न आवश्यकता पर्दछ भन्ने अर्थ यसबाट बुझ्नसकिन्छ ।
त्यस्तै चरक संहिताकै विमानस्थानमा पृथ्वी, पर्यावरण एवम् खगोलीय स्थिति र जीवजन्तुमा मा देखिने अस्वाभाविक अपशकुनजन्य स्थिति पनि अहितकर सम्झनु भन्ने उपदेश गर्दै “विकृतवर्णगन्धरसस्पर्श क्लेदबहुलमुपसृष्टं ….. गुह्यकाचारितमिवाऽऽक्रन्दितशब्दबहुलं चाहितं विद्यात्” भनिएको छ । यस प्रकारको उपदेश ज्योतिषको वृहत संहितादि ग्रन्थ र आयुर्वेदका ग्रन्थ दुबैमा अधिकांश पक्षमा समान भेटिन्छन् ।
औषधि निर्माण तथा संकलनमा आयुर्वेदमा निश्चित नक्षत्रमा नै गर्नु भन्ने उपदेश छ जस्तै पुष्यानुग चूर्ण । यो औषधि आयुर्वेदको एउटा प्रमुख औषधि हो जसलाई निर्माण गर्दा चाहिने द्रव्यहरू पुष्य नक्षत्रको दिन संग्रह गर्नु भन्ने आयुर्वेद शास्त्रहरूको निर्देशन छ । त्यस्तै चरक संहितामा अपस्मार निदान शीर्षक अन्तर्गत भनिएको छ कि चन्द्र सूर्य ग्रहणादि अवस्था भनेको अदृश्य शक्तिको आघातकाल हो । त्यस्तै भैषज्य रत्नावली अपस्माराधिकार: अध्यायमा भनिएको छ “पुष्य नक्षत्रमा आफै मरेको कुकुरको पित्त निकालेर अञ्जन गर्नाले तथा त्यस पित्तलाई घ्यूको साथमा मिश्रित गरेर धूपन गर्नाले अपस्मार रोग भाग्दछ । त्यस्तै पुष्य नक्षत्रकै दिन दारुहल्दिलाई महमा घोटेर अञ्जन लगाउनाले उन्माद रोग ठिक हुन्छ ।
ज्योतिष शास्त्रको मान्यता अनुसार तीक्ष्ण, उग्र र शतभिषा नक्षत्रमा आसव तथा अरिष्ट जन्य औषधिको निमार्ण गर्नु राम्रो हुन्छ । त्यस्तै लघु, मृदु र चरसंज्ञक तथा मूल नक्षत्र, द्विस्वभाव लग्नमा, १२, ७ र ८ भाव शुद्ध गरि जन्म तिथिबाहेक शुभ तिथिका शुक्र, चन्द्र, बृहस्पति, बुध र आईतवार पारेर रोगीलाई औषधि शुरु गर्दाको पहिलो मात्रा दिनु उत्तम मानिन्छ । रोगको निदान हुन गाह्रो परेका रोगको निदान गर्दा ज्योतिष शास्त्रले बताए अनुसार रोगका कारकग्रह र ती ग्रहबाट स्वास्थ्यमा पर्ने त्रिदोष विकृतिको अध्ययन गरी रोगको निदान र सोही अनुसारको उपचार गर्नसकिन्छ । नाडी, नख, जिव्हा, नेत्र आदि परिक्षणको अलवा हाम्रा तत्त्व द्रष्टा पूर्वीय विज्ञानका वैज्ञानिक ऋषिमुनीले शकुन, श्वर, ग्रहगोचर, मुहूर्त, देश, कालपरिस्थिति आदिको बारेमा राम्रोसँग चिन्तन मननपूर्वक सिमित साधनश्रोतबाटै मानव शरीरमा देखा पर्नसक्ने विभिन्न रोगको उपचार गर्न–गराउन सक्षम उपाय अवलम्बन गरेका थिए । जुन पद्धति अनुकरण गर्दा आजको मानवसमाजलाई फाइदै हुने देखिन्छ ।
ज्योतिष र आयुर्वेदको अन्तर्संबन्धलाई व्यवहारमा उतारे वैदिक चिकित्साले तुलनात्मरूपमा सफलता पाउने कुरामा द्विमत हुँदैन । वैदिक चिकित्साको प्रसंग उठ्दा योग दर्शनलाई पनि जोड्न जरुरी हुन्छ ।
हिताहितं सुखं दु:खमायुस्तस्य हिताहित्, मानं च तच्च यत्रोक्तमायुर्वेद: स उच्यते । अर्थात “जीवन यापनकालागि हित, अहित, सुख, दु:ख दिने आहारविहारादि विषय र आयु तथा आयुकोलागि हितकर तथा अहितकर द्रव्यको गुणकर्म र त्यसको अवधि एवं परिमाणको बारेमा बर्णन हुने ग्रन्थ तथा विधाको नाम आयुर्वेद हो” । आयुर्वेदको यो परिभाषा अनुसार संसारमा आयुको हितको पक्षमा जति पनि विषयवस्तु तथा विधा छन् ती सबै आयुर्वेद अन्तर्गत पर्दछन् । तसर्थ आयुर्वेदले पूर्वीय वाङमयका विधाहरूसँग सहयात्रा गर्न सिक्नुपर्छ जसमा ज्योतिष पनि एउटा महत्वपूर्ण र अनिवार्य हुन्छ ।
साध्य, याप्य या असाध्य आदि रोगको निदान, उपचार सम्बन्धी सीमा, दिन वार तिथी, लग्न, दिशा, ज्योतिषशास्त्रले निदृष्ट गरेका जडिवुटि औषधि तथा रत्न चिकित्सा र औषधी सेवनको प्रथम मुहूर्त, विधि, मन्त्र, ईष्टदेव स्तुति आदि विभिन्न पक्षका संबन्धमा समेत आधिकारिक तवरबाट अध्ययन अनुसन्धानका कार्य गरी यसका वास्तविक वैज्ञानिकतालाई व्यवहारमा ल्याई जनोपयोगि बनाउँदै लैजान पर्ने कर्तव्यलाई सम्बन्धितक्षेत्रले स्वीकार गर्नै पर्छ । कालाङ्ग, तत्व, सप्त धातु आदिलाई शुभाशुभ प्रभाव गर्नेे ग्रहस्थितिको बारेमा उपयुक्त तरिकाबाट अनुसन्धान गरी ज्योतिषीय तथा आयुर्वेदीय परिधिभित्र रहेर धेरै आशा नगरिएका सफलताहरू चिकित्सा सेवाको क्षेत्रमा प्राप्त गर्न सकिने सम्भावना देखिन्छ । ज्योतिष स्वास्थ्य (ब्कतचय(:भमष्अब)ि शिक्षाको अबधारणा आईरहेको यस परिपेक्षमा ज्योतिष र आयुर्वेद तथा योग बीच एक आपसमा परिपुरकको भूमिका निर्वाह हुनजाने कुरामा द्विमत छैन । कुनै पनि राम्रो नराम्रो घटना आदि घट्नुको पछाडि ग्रहको हात छ अत: कुनै पनि रोग लाग्नुको पछाडि पनि ग्रह नै कारक हुन्छ तसर्थ ग्रह असरको राम्रो अध्ययनको अभ्यास गर्दै अनुसन्धानात्मक तरिकाबाट अगाडि जाने हो भने ज्योतिष ज्ञानको सायताबाट विभिन्न खाले समस्यारूपी रोगलाई चिन्नसक्ने र आयुर्वेदबाट त्यस्ता रोगको निराकरण गर्न–गराउन सकिन्छ भन्न हिच्किचाउन पर्दैन ।
एवम् प्रकारले आयुर्वेद र ज्योतिषबीचका अन्तर्संबन्ध धेरै फेला पर्छन, जसले जनसेवामा ठूलो भूमिका निर्वाह गर्नसक्छन् । जति पनि यस प्रकारका शास्त्रीय अन्तर्संबन्ध एवम् मार्गदर्शन छन् ती कतिपय लेखनकालको समय र परिस्थिति सापेक्ष ढङ्गका हुनसक्छन् भने कतिपय सबै समयका लागि ग्रहणीय हुनसक्छन् जसको बारेमा सम्बन्धित क्षेत्रले आवश्यक अध्ययन, अनुसन्धान, शोधखोज र व्यवहारिक प्रयोगका लागि आवश्यक भूमिका निर्वाह गर्नपर्ने जरुरी देखिन्छ ।

-सह–महामन्त्री : नेपाल आयुर्वेदीय संस्था, 
तथा पूर्वसंगठनसचिव : दक्षिण एशियाली ज्योतिष महासंघ

प्रतिक्रिया