रुकुम जिल्लाको एक अवलोकन

KB-Mashal

के.वि.मसाल

रुकुम जिल्लालाई ५२ पोखरी र ५३ टाकुरी भनेर पनि चिन्हे गरिन्छ । रुकुममा धेरै प्राकृतिक सम्पदाहरू छन् जुन सम्पदाले सबैको मन लोभ्याउछ । तर, रुकुमको बारेमा अध्यन, अनुसन्धान हुन धेरै सम्पदा बाँकी छन् । हालै केहि साहसी हिमाल आरोहीहरूले सिस्ने हिमालको आरोहन गरे पनि अन्य हिमालको बारेमा अझैपनि आरोहनको लागी अध्यन हुन बाकी छ । स्यार्फु र कमलदह को बाहेक दर्जनौ दहको नामाकरण हुन सकेको छैन । रुकुम जिल्लामा अन्य जिल्लाको मानिस पुग्यो भने पनि सदरमुकाम र आसपासका गाउँको मात्र अध्यन र अनुगमन गरेर फर्कने धेरै मानिस हुन्छन् । रुकुमकोट र त्यस भन्दा माथीका दुर्गम बस्तीहरूमा धेरै मानिसहरू पुग्ने गर्दैनन । हामी नेपाली अरुको मात्र राम्रो लाग्ने । पोशाक, घर, गाउ, सहर आºनो भन्दा अरुको राम्रो देख्ने बानी परेका हामी नेपाली । शहरी भूगोल, सम्म मैदानी स्थान, मोटर गाडिको सुविधा, ठूला शहर घुम्ने बानी परेका हामी नेपालीहरू । आºनै देश भित्रका प्राकृतीक मनोरम पहाडी श्रृखला, हिमाल र दुर्गम ग्रामीण बस्तीहरूको दृश्यावलोकन गर्न भने पछाडी परेका छौ ।
रुकुमकोट रुकुम जिल्लाको पुरानो सदरमुकाम पनि हो । रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरूको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सस्कृतीको अध्यन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरूको क्षेत्र पर्यटकहरूका लागी महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि मानिन्छ । भाषा, सस्कृती मात्र होइन यस क्षेत्रमा प्राकृतीक सम्पदामा रहेका खानीहरूको अवस्था र अध्यन गर्न रुचि भएका पर्यटकहरूको लागी यो क्षेत्रको भ्रमण उपयोगी हुनेछ । त्यसैले खामबस्तीको क्षेत्र आन्तरिक एवं वाह्य पर्यटन विकासको लागी प्रशस्त सम्भावनाहरू भएको ठाउ मानिन्छ । रुकुम जिल्ला खाम भाषीहरूको सास्कृतीक पहिचान भएका गाउ र बस्तीहरूको रमणीय, ऐतिहासिक र प्राकृतीक छटाले श्रृगारिएको स्थल हो । इतिहास हेर्ने हो भने रुकुमकोटमा मगर राजा,बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान पनि हो । पछि शाही राजाहरूको राज्य भयो । अझै पनि ती राजाहरूको दरबारका भग्नावशेषहरू रुकुम पुग्ने मानिसहरले देख्न सक्दछन । बाउन्न टाकुरी त्रिपन्न पोखरी नामबाट प्रख्यात रुकुमकोट होचा अग्ला थुम्काहरूबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका हो । जुन ठाउमा बाहिरका मानिसहरू पुगेपछि त्यसको दृष्य बाट आनन्द लिन सक्दछन । प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरूले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्यनको लागी महत्वपूर्ण स्थल मानिन्छ । बाउन्न टाकुरीका थुम्काहरू बिच–बिचमा लुकेका साना ठुला पोखरी आकारका फाटहरूका बस्तीहरूले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने जो कोहिलाई पनि आकर्षण गराउछ ।
इतिहास अध्ययन गर्ने हो भने अहिलेको रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि पश्चिम नेपालमा बाईसे र मध्यय नेपालमा चौविसे राजाहरूले तिन सय वर्ष सम्म राज्य चलाएका थिए । इतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । त्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको इतिहास छ । त्यसपछि बाईसे राजाहरूमा गजनीबम, जलालबम, जसबम, हुदै जयतबम हरूले रुकुममा राज्य गरेका थिए । दरबारको झै झगडा र भाईहरूको विच द्धन्द्ध बढन थालेपछि जयत बमका छोराहरूका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोताम कोट र जाहारीकोटमा बिभाजन हुन पुगेका इतिहास छ । नेपालको प्रशासनिक भूगोलको फेरवदलमा वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने क्रममा रुकुम जिल्लाको नामाकरण भएको हो ।
रुकुम जिल्लाको भुगोल सामुन्द्री सतहबाट ७५४ मिटर देखि ६००० मिटरसम्म रहेको छ । हिमाल, पहाड, बेसी र फाँटको भुगोलमा रहेको रुकुमको सदर मुकाम मुसीकोट १४४८ मिटरको उचाईमा छ । सदरमुकाम मुसिकोट बाट डिग्रेमन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रा गरेपछि पुगीने जन्तीबस्ने ढुङ जिल्लाकै ऐतिहासिक स्थल मानिन्छ । यो स्थल पर्यटकहरूको लागी प्राकृतीक टावरको रूपमा प्रयोगमा आउछ । मुसिकोट बाट केवुल कारको निर्माण गर्न सके जन्तीबस्ने ढुङ देखि पर्यटकहरू लाई जिल्लाको दर्जनौ स्थल अवलोकन गर्न सकिने छ । पर्यटन विकासको लागी जिल्लाका कार्यरत राजनैतिकदल, समाजसेवी र अन्य निकायहरले यस तर्फ ध्यान दिन जरुरी देखिन्छ । यहा बाट स्यार्फु तालको पुर्णआकार पुरानो सदरमुकाम रुकुमकोट वस्तीको सम्पुर्ण दृश्य, सिस्ने हिमाल, पुथा हिमाल लगाएतका दर्जनौ प्रकृतिक मनोरम दृश्यदेख्न सकिन्छ । त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृखला पनि अवलोकन गर्न सकिन्छ ।
अहिले रुकुम जिल्लामा सडक विकासका पूर्वाधार धेरै भएका छन । निर्माण्ाँाधिन मध्य पहाडि लोकमार्ग र दाङ चुनबाङग रुकुमकोट मोटर समेत बन्न लागेको छ । त्यसैगरी जिल्लाको मुसिकोट, सोलाबाङग बाट रुकुमकोट सम्म र पूर्बतिरको काक्री र लुकुम हुदै तकसेरा सम्म हिउदको समयमा यातायात का साधन सञ्चालनमा आएका छन । यो बाहेक निर्माणधिन मध्य पहाडी लोकमार्गमा पनि यातायात सञ्चालन हुन लागेको छ । रुकुमकोटमा उद्योग, ब्यापार र अन्य ब्यवसायीहरूको सख्या बढन थोलेको छ । जसले गर्दा पर्यटन ब्यवसायमा स्थानीय बासीन्दाहरूमा रुचि बढन थोलेको छ । रुकुम जिल्लाको बर्तमा अवस्थामा मुसिकोट, स्यार्फु, रुकुमकोट, र चौरजहारी बाहेक अन्य ग्रामीण बस्तीहरूमा पर्यटकहरू लाई खान बस्नको लागी होटलको व्यवस्था छैन । पर्यटन विकासको लागी रुकुम जिल्लाले ग्रामीण क्षेत्रमा होम स्ट्रे को विकास गर्न जरुरी छ । ग्रामीण बस्तीमा आन्तरिक अथवा वाह्य पर्यटकहरू पुर्‍याउन पहिला खाना, बस्न र सुरक्षाको विस्वास दिन सक्नु पर्दछ । निर्माण भएका सडकहरू लाई पक्की बनाउदै जाने र ग्रामीण भेगका खोलाहरूमा पुलको व्यवस्था गर्दै जाने हो भने रुकुम जिल्लामा पर्यटकहरको सख्या बढने सम्भावना धेरै देखिन्छ ।
रुकुम जिल्लामा भएका सिस्ने हिमाल देखि रन्मा मैकोटको पुथा हिमाल सम्मका डोल्पासंग जोडिएका हिमाली श्रृखलाहरू त्यहाका रङगिन ताल तलैयाहरू, लोटसल्ला जस्ता बहुमूल्य उपयोगी जडिबुटी बनस्पतिहरू भएको, लालपाटन, बुकिपाटन लेकाली बनहरू ,नावर, कस्तुरी, रेडपण्डा, डाफे, मूनाल जस्ता हिमाली वन्यजन्तु र पंन्छी भएको ढोरपाटन जस्ता प्राकृतकि सम्पदा सम्म पुग्ने सडकको सुधार हुन जरुरी देखिनछ । सडक राम्रो भएन भने पर्यटकहरू जान मन गर्दैनन । पर्यटनको विकासको लागी सडकनै मुख्य सुधार कार्यमा पर्दछ । त्यसैगरी प्रत्यक गाउको सस्कृतीको पहिचान दिन लाई आफ्नो सस्कृती लाई बचाउन पर्दछ । अहिले रुकुम जिल्लाको सेरोफेरोमा गाईने टप्पा अथवा सिघाँरु गितको भाका लाई रुकुमेलीहरूले संरक्षण गर्नु पर्दछ । सामान्यता यो गितको लय नेपालको अन्य जिल्लामा नगाइने हुदा रुकुम नगएको मानिसका लागी नौलो मानिने छ ।

प्रतिक्रिया