एकअर्ब ८ करोडको भावना हिन्दू राष्ट्र रहोस्

विराटनगर, २ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री भए नेपालमा राजसंस्था फर्कने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (शनिबार) पत्रकारसँग कुरा गर्दै थापाले मोदीले नेपाललाई राजतन्त्रसहितको हिन्दू राष्ट्र बनाउन सहयोग गर्ने बचन दिएको बताए । उनले भने, ‘नरेन्द्र मोदी प्रधानमन्त्री बन्नु भयो भने नेपालमा राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउन सहयोग गर्नु हुन्छ ।’
दसैंको बीचमा आफू र मोदीबीच भेट भएको भन्दै थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता मोदीले जनाएको बताए ।
मोदीले यसअघि पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अभिव्यक्ति दिई सकेका छन् ।
‘विश्वभर छरिएर रहेका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्र रहोस् भन्ने छ,’ अध्यक्ष थापाले भने, ‘नरेन्द्र मोदीजीले मसँगको भेटमा नेपाललाई पुन: हिन्दू राज्यमा फर्काउन सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।’
उनले आफ्नो पार्टीले संविधानसभा निर्वाचन र त्यसबाट गठन हुने संविधानसभालाई हिन्दू राष्ट्र बनाउने अवसरका रुपमा उपयोग गर्न लागेको बताए । ‘निर्वाचनबाट राप्रपा नेपाल वैकल्पिक शक्तिका रुपमा स्थापित हुन्छ,’ उनले भने ।

प्रतिक्रिया