अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : तेस्रो एनएसए नेपाल आइस पौडी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन आइतबार तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । लिंकनकी अदिती धिताल, नेपाल प्रहरी क्लबका शिरीष गुरुङ र लिंकनकी सोफिया शाहले आइतबार कीर्तिमान रचेका हुन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको खुलातर्फ महिलाको ८ सय मिटर फ्रिस्टायलमा ११ मिनेट ४०.४५ सेकेन्ड समय निकाल्दै अदितीले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । अदितीले करिश्मा कार्कीले श्रीलंकाको कोलोम्बोमा भएको १०औँ साफमा बनाएको ११ मिनेट ४६.२२ सेकेन्डको कीर्तिमान भंग गर्दै करियरको दोस्रो कीर्तिमान आफ्नो नाममा लेखाइन् । पाठशालाकी राशिका पौडेल दोस्रो तथा नेपाली सेनाकी यमकुमारी घले तेस्रो भए ।
खुलामा पुरुषको ४ सय मिटर व्यक्तिगत मिड्लेमा शिरीषले यसै प्रतियोगिताको दोस्रो संस्करणमा बनाएको ५ मिनेट २१.२० सेकेन्डको कीर्तिमानलाई सुधार्ने क्रममा ५ मिनेट २०.३९ सेकेन्ड समय खर्चे । सेनाका चित्रबहादुर पौडेल दोस्रो तथा सेनाकै जनक राई तेस्रो स्थानमा रहे ।
महिलाको २ सय मिटर फ्रिस्टायलमा सोफिया शाहले पनि २ मिनेट ३०.९३ सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै आफ्नै कीर्तिमानमा सुधार गरिन् । २ मिनेट ३१.७९ सेकेन्डको कीर्तिमान सोफियाकै नाममा थियो । सोफियाले उक्त कीर्तिमान यसै वर्ष स्पेनको बार्सिलोनामा भएको १५औँ फिना विश्व पौडीमा बनाएकी थिइन् । लिंकनकी अदिती दोस्रो र जेभियर एकेडेमीकी शीला गुरुङ तेस्रो बने ।
अन्तिम दिन शिरीषले कीर्तिमानी स्वर्ण बाहेक खुलामा तीन र उमेरसमूहमा एक गरी थपचार व्यक्तिगत स्वर्णसमेत जिते । शिरीषले खुलातर्फ ४ सय मिटर फ्रिस्टायलमा ५ मिनेट १५.२४ सेकेन्ड, १ सय मिटर बटरफ्लाइमा १ मिनेट ०८.५० सेकेन्ड र १ सय मिटर फ्रिस्टायलमा १ मिनेट ०१.२४ सेकेन्ड समय निकाल्दै स्वर्ण हात पारे । उमेरसमूहको १७ वर्षमुनि केन्द्रीय विद्यालयको प्रतिनिधित्व गरेका शिरीषले १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट २१.९४ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थान हात पारे ।
खुलातर्फ महिलाको २ सय मिटर ब्याकस्ट्रोकमा जेभियरकी शिला गुरुङ (३ मिनेट ०९.६५ सेकेन्ड), पुरुषको २ सय मिटर ब्रेस्टस्ट्रोकमा सेनाका रूपेश चौधरी (३ मिनेट ०४.४७ सेकेन्ड), महिलाको १ सय मिटर ब्रेस्टस्ट्रोकमा सेनाकी सब्बु बिष्ट (१ मिनेट ३७.६० सेकेन्ड) तथा पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा जयन्तप्रकाश गुरुङ (३४.६३ सेकेन्ड) पहिलो स्थानमा रहे ।
महिलाको चार गुणा ५० मिटर रिलेमा लिंकन पहिलो, काठमाडौं नाइट दोस्रो र सेना तेस्रो भए । पुरुषको ४ गुणा ५० मिटर मिड्ले रिलेमा वेल माछा पहिलो, सेना ‘ए’ दोस्रो र सेना ‘बी’ले तेस्रो स्थान हासिल गरे । सोही स्पर्धाको महिलामा लिंकन पहिलो, काठमाडौं नाइट दोस्रो र पफ्फिन एलए तेस्रो भएका छन् ।
ह्ब्लिचेयरको महिला २५ मिटर फ्रिस्टायलमा सोनिका ढकाल पहिलो, येमी मगर दोस्रो र लक्ष्मी कुँवर तेस्रो बने । त्यसै स्पर्धाको पुरुषमा राजु कट्वाल, ओम पुन र कुलबहादुर ठकुरी क्रमश: शीर्ष तीन स्थानमा रहे ।
उमेरसमूहको १० वर्षमुनि ५० मिटर फ्रिस्टायलमा नोब्सकी स्वर्णिमा तामाङ (४९.८४ सेकेन्ड)ले पहिलो स्थान हात पार्दै व्यक्तिगत स्वर्ण संख्या दोब्बर बनाइन् । नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको उमेरसमूहमा लिटिल एन्जल्स ९५ अंक जोड्दै टिम च्याम्पियन बन्यो । ५६ अंकसाथ लिंकन दोस्रो भयो भने तेस्रो स्थानको दीक्षान्त एकेडेमीले ५४ अंक बटुल्यो ।
उमेरसमूहको १० वर्षमुनि ब्वाइजमा एलएका प्रशान्त दुमी राई र गल्र्समा नोब्सकी स्वर्णिमा तामाङ, १२ वर्षमुनि ब्वाइजमा एलएका रोजन दुमी राई र गल्र्समा अनलज्योतिकी सब्बु बिष्ट, १४ वर्षमुनि ब्वाइजमा होली गार्डेनका देवेश मानन्धर र गल्र्समा एलएकी श्रितिका सिंह तथा १७ वर्षमुनि ब्वाइजमा केन्द्रीय विद्यालयका शिरीष गुरुङ र गल्र्समा जेभियर एकेडेमीकी शीला गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, आयोजक पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया