अस्तायो खेलकुदको एउटा धरोहर

Laxmankumar-Shresthaपशुपति आर्यघाट सधैँजस्तै छ– मानिसहरू भए शान्त र दु:खद् कोलाहलपूर्ण, अन्यथा बगरजस्तो मौन । असोज १३ गते आइतबारको रातिको आर्यघाट यसभन्दा फरक केही थिएन । मौन र उदास मानिसहरूको आवत–जावत अनि कोही देवाधिदेव महादेवका भक्तजनहरूको ‘जय शम्भो’ र ‘हर हर महादेव’ को समवेत् स्वरको सामूहिक आवाज । कतै मानव शरीर खरानीमा मिल्न आगोको लप्कासित खेलिरहेको छ त कतै आफ्नो प्रिय पारिवारिक सदस्यकोअन्तिम संस्कार कुर्नेहरूको लस्कर थियो । त्यही आर्यघाटमा पञ्चभूत तत्त्वमा मिसिन व्यग्र एउटा चितामा जलिरहेको थियो वरिष्ठ खेलकर्मी लक्ष्मणकुमार श्रेष्ठको पार्थिव शरीर ।

ती लक्ष्मण श्रेष्ठ जो कसैका मायालु पति थिए, जो छोरी–छोराका स्नेही पिता थिए, जो साथीहरूका दिलदार सहयोगी मित्र थिए र जो नेपाली खेलकुदका एक उज्ज्वल भविष्य थिए, क्रमश: आगोको लप्काको तातो र चिसो परालबाट निस्केको बाक्लो धुवाँका बीचमा कतै हराउँदै थियो । आफन्त र निकट परिचितहरूका आँसु थामिन मानिरहेकै थिएनन् । नेकपा एमालेका जोधाहा कार्यकर्ता उनलाई पार्टीका अध्यक्ष झनाथ खनाल र कतिपय युवा नेताहरूले लाल सलामको अन्तिम श्रद्धाञ्जली पनि दिए । सारा खेलक्षेत्र शोकमग्न भयो तर बाँच्नेहरूको मनको पीडालाई बुझ्ने कसले ? त्यहाँ कतै कोही हनुमान थिएन, जसले आफ्नो छाती चिरेर सारा दुनियालाई ‘ल हेर, शोक पीडा र दु:ख के हो’ भनेर देखाउन सकोस् †
०००
दशरथ रंशाला उस्तै थियो, जस्तो सधैँ हुन्थ्यो– खेल प्रतियोगिता भइरहेको बेला भरिलो र उल्लासमय, प्रतियोगिताहरू नभएको बेला मौन, शान्त र भूतामा हवेलीजस्तो । तर १३ असोजको साँझ केही बेग्लै थियो । रंगशालाभित्र एएफसी यु–१६ अन्तर्गत नेपाल र तुर्कमिनिस्तानबीचफुटबल म्याच चल्दै थियो र बाहिर राखेप पौडीपोखरीनजिकको प्रांगणमा थियो एकजना खेलाडी, खेलनेता र खेलायोद्धाको निर्जीव, पार्थिव शरीर । केही महिना पहिलेसम्म त्यही खेलकुद परिसरमा हाँस्दै–खेल्दै सबैसँग भलाकुसारी गर्दै र समस्या बुझ्दै हिँड्ने व्यक्तित्व ‘कराते गुरु’ लक्ष्मणकुमार श्रेष्ठ नपत्याउने गरी, अनायास पार्थिव शरीरमा फेरिएका थिए । उनलाई रुचाउने, उनका शुभचिन्तक, उनका प्रशंसक मनग्गे थिए, विरोधी गन्नुपरेमा औँला भाँच्नुपर्ने अवस्था रहन्थ्यो । तर भन्छन् नि– माथि परलोकमा ईश्वरले पनि राम्रा मानिसलाई नै छिटो आफूसमक्ष बोलाइहाल्छन् । हो, लक्ष्मण ईश्वरका एकजना परमप्रिय थिए †
०००
करिब एक वर्ष पहिले उनलाई भेटेर मैले उनीसित उनको जीवन, देशको समसामयिक राजनीति र खेलक्षेत्रका विविध पक्षहरूबारे लामो कुराकानी गरेको थिएँ । उनले मसित धेरै कुरा गरेका थिए । उनलाई आर्यघाटमा अलबिदा भनेर आएपछि अहिले म उनीसित भएका ती कुरा सम्झिरेहेको छु । केही महिनापहिले यी कुराहरू जस्ताको तस्तै छापिएका पनि थिए ।
०००
कुनै बेला एउटा सामान्य उत्साही बनेर लक्ष्मण श्रेष्ठ खेलकुदमा प्रवेश गरेका थिए । ‘जगत गौचनको कराते’ खोज्दै उनले दशरथ रंगशालाको गेट छिचोलेका थिए । धेरै हावा–हुन्डरी अनुभव गर्दै उनी पछि त्यही ‘जगत गौचन कराते’ का नेपालप्रमुख पनि भए । आजको स्थितिमा उभिएर त्यो विगततिर हेर्दा त्यसयता मात्र झन्डै तीन दशक लामो समय बितिसकेछ । र, उनी पछि त्यही खेलकुदको नेतृत्वदायी निकायसम्म पुग्न सफल भए । गाउँले परिवेशबाट आएको एउटा सामान्य व्यक्तिका लागि यो यात्रा चानचुने महत्त्वको हुन सक्दैन ।
समयले सायद भूमिका परिवर्तनको माग गरिरहेको हुन्छ । त्यसैकारण लक्ष्मणले खेलकुदसम्बन्धी नीतिगत कुराहरूमा निकै चासो लिने गरेका थिए । स्पष्ट भन्ने गर्छन्, ‘तीस वर्षसम्म पञ्चायतबाट हेपिएका, पेलिएका, दबिएका र अपमानित भएका नेताहरू छयालीस सालपछि ह्वात्त सत्तामा आए । उनीहरूले के बुझे भने खेलकुद भनेको गुन्डाहरूको अखाडा हो । अनि उनै बहुदलवादी नेताहरूले पनि आ–आफ्नो स्वार्थनिम्ति खेलाडी प्रयोग गर्न थाले । खेलकुद भनेको राष्ट्रिय गौरव र प्रतिष्ठाको विषय हो भनेर उनीहरूले कहिल्यै सोचेनन्, बुझेनन् पनि ।’
उनी करातेमा ब्ल्याकबेल्ट चौथो डानप्राप्त वरिष्ठ खेलाडी एवं प्रशिक्षक हुन् । आर्चरीतर्फ भने उनी अन्तर्राष्ट्रिय (एसियास्तरीय) निर्णायक, कन्टिनेन्टल जज, हुन् । उनलाई धेरै अनुभव पनि छ नेपाली टोलीलाई विदेशमा हुने प्रतियोगिताहरूमा सहभागी गराउन टिम लिडर बनेको । खेलकुद प्रतियोगितामा प्रतिस्पर्धी बनेको मात्र होइन, खेलकुदको प्रशासनिक एवं व्यवस्थापकीय भूमिका निर्वाह गरेको अनुभव पनि उनले सँगालेकै छन् । यस आधारमा सम्पर्क, सम्बन्ध र अनुभवले उनलाई खेलक्षेत्रमा उपेक्षा गर्नै नमिल्ने व्यक्तित्व बनाइसकेका छन् । उनलाई लाग्छ, ‘राम्रो नराम्रो जे भए पनि शरदचन्द्र शाहले खेलकुदका लागि जे योगदान गरेका थिए, त्यो उचाइमा पुग्ने अथवा खेलकुदलाई त्यो उचाइसम्म पुर्‍याउने नयाँ नेतृत्व आएकै छैन । खेलकुदको संरचना अझै पनि उही शरद शाहकालीन छ । त्योबेला भएको खेलकुद विकास ठ्याक्कै त्यहीँ रोकियो, अगाडि बढ्न सकेन । अँ, खेलकुदलाई पुरानो संरचना परिवर्तन गरेर नयाँ उचाइमा लाने प्रयास जीवनराम श्रेष्ठले गरेका थिए तर सकेनन्, उनी असफल रहे ।’
०००
उनी अहिले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य छन् । एनओसीमा उनले नेपाल आर्चरी संघको अध्यक्षका रूपमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । यसबाहेक उनी जापानको क्योकुसिन काइकान करातेको नेपाल ब्रान्च चिफ हुन्, नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस) का पूर्वमहासचिव र हालका प्रथम उपाध्यक्ष पनि हुन् । नेकपा एमाले उपत्यका समन्वय कमिटीको सदस्यसमेत रहेका उनी पछिल्लो समय जीवनराम श्रेष्ठ सदस्य–सचिव रहेका बेला राखेपमा वरिष्ठ सदस्य थिए र सबैजना उनलाई ‘छाया सदस्य–सचिव’ भन्ने गर्थे, त्यसै रूपमा बुझ्ने गर्थे । आखिर खेलकुद क्षेत्रमै बिताएका लामा वर्षहरूले उनलाई त्यस्तो हैसियत दिएकै त छन् ।
उनको अनुभव बोल्न थाल्छ, ‘खेलाडी संख्या बढाउँदै खेलको विकास हुँदैन, खासमा त क्वालिटी ट्ेरनिङ चाहिन्छ । प्रशिक्षक पनि उत्तिकै दक्ष चाहिन्छ । खेलाडीले बिहान दुई घन्टा खेल्ने, दुई घन्टा क्याम्पस जाने र दुई घन्टा राजनीति गर्ने प्रचलन रहेमा त्यसले खेलकुद राष्ट्रिय गौरव भनेर खोक्रो नारा मात्र हुन्छ । खेलाडीले समर्पित भएर खेल्नकै लागि अगाडि सर्ने र त्यस्तालाई खेलकुदमै लाग्छु भनेर लाग्ने वातावरण बनाइदिनु पर्छ, यदि खेलकुदको साँच्चै विकास गर्ने हो भने ।
‘विदेशमा नेपालीको सम्भावना भएको खेल भनेको इन्डिभिजुअल गेमहरू हो । जस्तो– मार्सल आर्ट्स, बक्सिङ, सुटिङ, आर्चरी, लङ डिस्टान्स रनिङ आदि । यस्ता एकल खेलहरूमध्ये पनि विशेषगरी वजन समूह –वेट क्याटागोरी– मा नेपालीहरूको सम्भावना अन्यको दाँजोमा बढी रहेको मान्नु पर्छ ।’
यसै सन्दर्भमा उनी अगाडि थप्छन्, ‘भन्न त राखेपलाई खेलकुद विकास गर्ने संस्था भनिएको छ तर त्यो विकास कहाँ के कसरी गर्ने भनेर कहीँ कतै केही लेखिएको छैन । यसले गर्दा राखेप त केवल बेरोजगारहरूलाई भत्ता दिने संस्थाजस्तो भएको छ । खेलकुद विकासको सवालमा राखेपले केही सोच्नै र ठोस भूमिका निर्वाह गर्नै सकेन । यसमा दोष राखेप नेतृत्वको मात्र होइन, त्यहाँ त एक हजारभन्दा बढी कर्मचारी छन् । सबै उत्तिकै जिम्मेवार छन् । खाली जागिरे मानसिकता मात्र हाबी छ । आखिर राखेपमा बीसौँ वर्ष जागिर खाएकाहरूले खेलकुदप्रति आफ्नो भूमिका त पूरा गर्नु पर्‍यो नि † तर खास समस्या चाकडी प्रथा हो, जुन पञ्चायतकालदेखि नै मौलाउँदै आएको हो । सदस्य–सचिवलाई चाकडी गर्न निजले भनेपछि मात्र काम गर्ने प्रवृत्ति देखिएको हो ।’
०००
पाल्पाको ताहुँबाट उनको जीवनयात्रा सुरु हुन्छ । ५ जेठ २०२१ मा आमा स्व. तानकुमारी र पिता स्वयंबहादुर श्रेष्ठका चार छोरा र चार छोरी सन्तानमा सातौँ शिशु ‘साहिँलो छोरा’ भएर उनले पहिलोचोटि संसार हेरे । उनलाई सानैदेखि खेलकुदतिर अनौठो झुकाव थियो । तिनताका गाउँमा भलिबलको निकै क्रेज थियो । लक्ष्मण पनि स्कुलबाट भागी–भागी भलिबल खेल्न अनेक ठाउँ पुगिरहेका हुन्थे । स्कुलस्तरका जिल्ला, क्षेत्रीय र राष्ट्रिय अनि शिक्षा दिवसका अवसरमा हुने भलिबल प्रतियोगिताहरूमा उनले जमेर सहभागिता जनाउँथे र जित्थे पनि । परिवारमा धेरैजनाले गाली गर्थे ‘पढाइ बिगारेर खेलकुदतिर लागेर बिग्रियो’ भन्दै । तर, दाइ कालिदासले हौसला दिँदै भलिबलको कोचिङ ट्ेरनिङ गर्न सुझाव दिए । एसएलसी सकेर क्याम्पस पढ्न काठमाडौं आइसकेका लक्ष्मणले यहाँ थाहा पाए– राखेपमा कोचिङ ट्ेरनिङ दिने प्रचलन छैन, बरु उतै आफ्नै अञ्चलमा जानुपर्छ ।
भलिबलबाहेक मार्सल आर्ट्समा पनि उनलाई रुचि थियो । दमालीहरूसित मिलेर उनीहरू ब्रुस लीका फिल्म हेर्थे, किताबहरू पढ्थे र अन्य सचित्र पुस्तक पनि हेर्दै जानीनजानी कराते ‘सिकेजस्तो’ गर्थे । राखेपमा भलिबल कोचिङ ट्रेनिङ नपाएपछि उनी राखेप पुगे र सोधे, ‘जगत गौचनको कराते कहाँ छ ?’ संयोगले त्यो बेला जगत काठमाडौंमा रहेनछन् । उनको ठाउँमा भाइ उदय गौचन र अर्का गुरु खड्गबहादुर दाहालले क्योकुसिन कराते सिकाउने रहेछन् । दाइको ठाउँमा भाइ भए त्यही पनि ठिक छ भन्ने ठहर गर्दै लक्ष्मणले २०४० सालदेखि ‘मेन डोजो’ मै दोस्रो ब्याच प्रशिक्षार्थीका रूपमा कराते सिक्न थाले । रामजी बज्राचार्यहरू पहिलो ब्याचका थिए । तिनताका खासै प्रतियोगिता आयोजना हुँदैन थिए । वर्षभरिमा हुने एकाध प्रतियोगितामा रामजीकै वर्चस्व रहन्थ्यो ।
यस्तैमा, गुरु जगत गौचन पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार घटनामा मुछिएर ०४३ मा जेल परे । त्योबेला ब्ल्याक बेल्टभन्दा तल्लो वरीयता ब्राउन बेल्ट भए पनि क्योकुसिन मेन डोजो चलाउने जिम्मा लक्ष्मणले पाए । करिब पाँच वर्षपछि ०४८ मा उनले एडभान्स ट्ेरनिङका लागि निजी खर्चमा जापान जाने अवसर पाए । आफू फर्की नआउँदासम्मका लागि डोजोको रेखदेख र सञ्चालनको जिम्मा दीपक खरेललाई सुम्पेर उनी ‘उदाउँदो सूर्यको देश’तिर उडे ।
छयालीस सालको आन्दोलन दबाउन खेलाडी प्रयोग गरिएका थिए । खेलाडीहरूलाई निर्देशन नै थियो । अहिलेको जस्तो तीव्र राजनीतीकरण भएको थिएन । गुरुले भनेको मान्नुपर्ने चलन थियो भने तत्कालीन अधिराजकुरमार धीरेन्द्र शाह संरक्षक भएकाले राखेप दरबारबाट सोझै सञ्चालित थियो । धेरै खेलाडीलाई भत्ता दिइने लोभमा आन्दोलन दबाउन प्रयोग गरियो । कति खेलाडीले भत्ता पाए, कतिले पाएनन् । कतिपय नाइकेहरू भत्ता बाँड्न दिइएको एकमुस्ट रकम नै कुटुरो पारेर भूमिगत पनि भए । यस्तोबेला लक्ष्मण टाइफाइडले थलिएर दुई महिना जति ‘बेड रेस्ट’ मा बस्नुपरेको थियो । एकपटक बाहिर निस्कँदा पाटनमै पक्राउ परेछन् तर खेलाडी भनेपछि तत्कालै छाडिएका पनि थिए । त्यसो त अघिपछि पनि चुनाव वा अन्य बेला पैसा दिन सक्नेहरूले खेलाडीलाई आ–आफ्ना निर्वाचन क्षेत्र वा अन्य प्रयोजनका लागि लैजाने गर्थे ।
जापानमा पाँच वर्ष बस्दा ब्ल्याक बेल्ट पहिलो डानसमेत हासिल गरेर उनी नेपाल फर्किए । त्यही वर्ष २०५३ मा राखेपमा क्योकुसिन करातेको ‘प्रमुख प्रशिक्षक’ पदमा अस्थायी नियुक्ति पाए, जुन पछि स्थायी पनि भयो । त्यसैताका उनी राखेप कर्मचारी संघमा दुई वर्षको एक कार्यकाल अध्यक्ष भए । तीन वर्षपछि विनोदशंकर पालिखे सदस्य–सचिव भएका बेला ३९ अस्थायी र तीनजना स्थायी गरी ४२ जना प्रशिक्षक–कर्मचारीको जागिर खोसियो । जागिर गुम्नेमा उनी पनि परे । त्यसपछि उनी बेतलबी क्योकुसिन करातेका स्वयंसेवक ब्रान्च चिफ र चिफ कोच बने, अद्यापि छँदै छन् ।
यसैबीच ०६४ मा लक्ष्मण राखेप सदस्य नियुक्त भए । त्यहाँ बसेर उनले राखेपका सक्रिय र निष्क्रिय संघहरूको अवलोकन गरे । त्यसैक्रममा त्यही वर्षदेखि आर्चरी संघको अध्यक्ष पनि भए । अनि आर्चरी क्रमश: मुलुककै सक्रिय संघमध्ये एक हुन पुगेको छ । ओलम्पिक स्पोटर््सको रूपमा रहेको आर्चरीमा अहिले नेपालमा एक सयको हाराहारीमा खेलाडी छन् । ढाकामा भएको ११औँ साग खेलकुदमा पुरुषहरूले टिम इभेन्टमा कांस्यपदक ल्याएका थिए भने जमसेदपुरमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तीन रजत पदक जितेको थियो ।
अहिले पनि ‘भिजन एसियाड २०१४’ भनेर कोरियाली आर्चरी गुरु ली चुङ वुङको प्रशिक्षणमा सातामा ६ दिन आठ घन्टा विशेष प्रशिक्षण भइरहेको छ इन्चियोन सिटी मेयरले गरेको यो सहयोग प्रशिक्षणमा नेपालका आठजना आर्चर सहभागी छन् ।
०००
खेलकुद विकासको मापन यदि केही हो भने निश्चित रूपमा त्यो हो– नतिजा । लक्ष्मण भन्छन्, ‘युवा पुस्तामा कोही न कोही, केही न केही खेलिरहेका हुन्छन् तर त्यसले मात्र खेलकुदको विकास हुँदैन । खासमा खेलक्षेत्रमा नतिजा आउनुपर्छ । समस्या के हो भने त्यो नतिजा ल्याउने गरी नेपालमा खेल नै भएको छैन– न त्यो सोच विकास भयो न खेलाडीमा नै त्यो सोच आयो । त्यहीकारणले हामीकहाँ खेलविकास नभएको हो । राज्यले त्यसका लागि समुचित वातावरण बनाइदिनु पर्छ ।
‘अहिले खेलकुदको सबैभन्दा ठूलो समस्या, यहाँ दक्ष प्रशिक्षक छैनन् । उनीहरूलाई नियमित रिफ्रेसर कोर्स छैन । तसर्थ उनीहरू अपडेटेड छैनन् । टेक्नोलजी र टेक्निक थाहा पाइरहन प्रशिक्षकहरूलाई विदेश पठाइरहनु पर्छ । मैले खेलक्षेत्र हाँक्ने अवसर पाएँ भने विद्यमान खेलसंरचना नै परिवर्तन गर्छु किनभने विद्यमान संरचनाले खेलकुदको विकास हुँदैन । मेरो विचारमा, संघहरूलाई स्वायत्तता दिनुपर्छ । कोचहरू संघको मातहत र सबै खेलाडी कोचको मातहत हुनुपर्छ । कोचको अनुशासनमा नबस्ने खेलाडीलाई के गर्ने/नगर्ने अथवा कोचले संघका नीति निर्देशन पालन नगर्दा के गर्ने/नगर्ने सबै अधिकार संघ र कोचलाई नै दिनुपर्छ । त्यसो भएमा सबै कुरा चेन अफ कमान्डमा रहन्छ ।
‘राखेपले स्पोर्ट्स एकेडेमीहरू चलाउने हो, खेलाडी उत्पादन गर्ने हो, शिक्षालयहरूमा खेलको अवस्था हेर्ने हो । खेल, खेलाडी र संघलाई महत्त्व दिएर कार्यक्रमहरू ल्याउने हो । लङ टर्म स्ट्रयाटेजी अनुरूप कम्तीमा चार वर्षको टार्गेट राखेर ट्ेरनिङ कार्यक्रम ल्याउनुपर्छ । राखेपले कोच पालेर बस्ने होइन । धेरै कर्मचारी पनि चाहिँदैनन् । मूल कुरा नेपालमा खेलकुद विकासको मुख्य आधार भनेकै संघहरूको स्वायत्तता हो । त्यसो भएमा संघहरूले आ–आफ्नै किसिमले स्रोत–साधन जुटाएर सम्बन्धित खेलको विकासमा ध्यान दिनेछन् । निजी क्षेत्रलाई पनि खेलकुदतिर आकर्षित गर्न सजिलो हुन्छ ।’
०००
साताको लगभग हरेक दिन दशरथ रंगशालामा सुन्न सकिन्थ्यो जतिबेला कोही भन्थे, ‘गुरु, हुस्…।’
कोही भन्थे, ‘नमस्ते गुरु †’
कोही भन्थे, ‘गुड मर्निङ, ओ गुरु †’
… … यस्तै … यस्तै… । …
अब यी केही कुरा सुन्न पाइने छैनन् । दशरथ रंगशाला त्यहीँ हुनेछ तर प्रिय खेलकर्मी लक्ष्मण अब कहिल्यै त्यहाँ देखिने छैनन् । लक्ष्मणप्रतिको अन्तिम श्रद्धाञ्जलीको समयमा उनका (र मेरा पनि) गुरु जगत गौचनले मसित भनेका थिए, ‘जयदेव भाइ † मलाई दु:ख छ, तिमीले एकजना असल र नजिकको साथी गुमायौ । मैले पनि एकजना मेरो एकदमै योग्य र सच्चा चेला गुमाएको छु । तर, जिन्दगी यस्तै हो, चल्दै जानु पर्छ । रोग लाग्ने कुरा आफ्नो ठाउँमा छ तर सबैभन्दा ठूलो कुरा हामीले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ ।’
मैले ‘हो गुरु’ भन्ने भावमा टाउको हल्लाएँ किनभने मसित जवाफमा अभिव्यक्त हुने शब्दहरू मुखबाट निस्कन सक्ने अवस्था थिएनन् । मेरो गला अवरुद्ध थियो र सायद आँखाबाट चुहिरहेका पानीका थोपाले अन्य धेरै कुरा बयान गरिरहेका थिए ।
०००
बिदा सहृदयी मित्र, अभिभावक र दूरद्रष्टा । अलबिदा कमरेड लक्ष्मणकुमार श्रेष्ठ । हामी सधैँसधैँ हरेक ठाउँ र हरेक अवसरमा तिमीलाई ‘मिस’ गरिरहेका हुनेछौँ ।

प्रतिक्रिया