रहेनन् खेलकर्मी लक्ष्मण श्रेष्ठ

काठमाडौं, १४ असोज । नेपाल ओलम्पिक कमिटीका सदस्य लक्ष्मणकुमार श्रेष्ठको आइतबार निधन भएको छ । सिन क्योकुसिन करातेका संस्थापक तथा नेपाल आर्चरी संघका अध्यक्षसमेत रहेका श्रेष्ठको उपचारका क्रममा माइतीघर मण्डलास्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ नेपाल खेलकुद महासंघका प्रथम उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य थिए । यसका साथै उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पनि थिए । मस्तिष्कमा नसासम्बन्धी समस्या भएपछि विगत चार महिनादेखि उनको काठमाडौं र दिल्लीमा उपचार भइरहेको थियो ।
विभिन्न राजनीतिक दलका नेता, खेलकर्मीलगायत सयौँले दशरथ रंगशाला पुगेर आइतबार श्रेष्ठप्रति समवेदना व्यक्त गरेका थिए । श्रेष्ठको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार अपराह्न ४ बजेदेखि डेढ घन्टा दशरथ रंगशालामा राखिएको थियो ।
नेपाली फुल कन्ट्याक्ट करातेका अग्रणी व्यक्तित्व ४८ वर्षीय श्रेष्ठको आइतबार साँझ नै हिन्दु सस्कारअनुसार पशुपती आर्यघाटमा दाहसंस्कार गरियो । श्रेष्ठ पाल्पाको तनहुँमा २०२२ सालमा जन्मिएका थिए ।
श्रेष्ठको निधनमा खेलकुद महासंघले शोकवक्तव्य जारी गरी खेल क्षेत्रले एक कुशल नेतृत्व गुमाएको उल्लेख गरेको छ । महासंघले तीन दिनसम्म संघको झन्डा झुकाउने र महासंघ मातहतका सबै कार्यलयमा शोकपुस्तिका राखी श्रद्धाञ्जली व्यक्त गर्ने जनाएको छ । दिवंगत श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् ।
श्रेष्ठले नेतृत्व गरेयता पाँच वर्षदेखि नेपालमा आर्चरी खेलले पुनर्जीवन पाएको थियो । यसैगरी, श्रेष्ठ नेतृत्व तहमा रहेपछि महासंघ नेपाली खेलकुदको प्रभावकारी संगठनका रूपमा स्थापित भएको थियो । एक दशकभन्दा पनि लामो समयको अन्तरालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदा श्रेष्ठले व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
खेलप्रेमीमाझ मिलनसार, अनुशासित र भद्र छविका रूपमा चिनिएका उनी नेपाली करातेमा धेरैका लागि आदर्शका रूपमा स्थापित थिए । आइतबार नै विभिन्न संघ, संस्थाले विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले नेपाली खेलकुदमा अपूरणीय क्षति भएको जनाएका छन् ।

प्रतिक्रिया