थ्री–स्टारको लज्जास्पद हार

Footballकाठमाडौं : एएफसी प्रेसिडेन्ट कपमा नेपालको थ्री–स्टार क्लबले कमजोर सुरुआत गरेको छ । पहिलो खेलमा व्यहोरेको लज्जास्पद हारपछि थ्री–स्टारको फाइनल पुग्ने संभावनासमेत लगभग सकिएको छ । मलेसियाको मेलकास्थित जाङ जेवात रंगशालामा सोमबार समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन थ्री–स्टार तुर्केमिनिस्तानको बाल्कान एफसीसँग ६–० को भारी गोलअन्तरले पराजित भयो । पराजयसँगै ११ राष्ट्रिय खेलाडीले भरिएको थ्री–स्टारको फाइनल खेल्ने सम्भावना समीकरणमा मात्र सीमित छ । अर्काे खेलमा इर्चिमलाई भारी गोलअन्तरले पराजित गरेमा थ्री–स्टारको फाइनल खेल्ने सम्भावना बाँकी रहनेछ । तर, त्यसको लागि इर्चिमले बाल्कानलाई पनि उस्तै ढंगबाट पराजित गर्नु पर्नेछ । गोलअन्तरमा भर पर्ने यो समीकरण पूरा गर्न पहिलो खेलमै आधा दर्जन गोल खाएको थ्री–स्टारलाई फलामको चिउरा चपाए सरह हुनेछ ।
खेलको सुरुआत नै थ्री–स्टारले खेलमा अत्तिएर खेल्दा बाल्कानले पकड जमाएको थियो । छैटाँै मिनेटमै बाल्कानले गरेको उत्कृष्ट क्रसलाई सन्दीप राईले क्लियर गर्दै थ्री–स्टारको संकट टारेका थिए । १७औँ मिनेटमा बाल्कानले डिबक्सभित्र पाएको अर्काे अवसर सदुपयोग गर्न सकेन । २२औँ मिनेटमा बाल्कानले खेलमा अग्रता लियो । विराज महर्जनले बाल्कानका खेलाडीलाई सजह रूपमा क्रस गर्न दिएपछि सेचेन्कोले बललाई जाली चुमाए । दुई मिनेटपछि थ्री–स्टारको रक्षापंक्ति फेरि पनि सम्हालिन नसक्दा बाल्कानले अग्रता दोब्बर पार्‍यो । लगातार दुई गोल खाएपछि थ्री–स्टारले खेलमा केही सुधार ल्याएको थियो । तर, अग्रपंक्तिमा सन्तोष साहुखल र डोडोजले प्राप्त अवसरलाई सदुपयोग गर्न पटक–पटक चुके । उनीहरूले पहिलो हाफमा एक आक्रमण पनि बुन्न सकेनन् ।
दोस्रो हाफको सुरुआत पनि केही राम्रो पास खेले पनि थ्री–स्टारको विस्तारै खेल खस्किएको थियो । ५९औँ मिनेटमा सापारोभले हेडमार्फत गोल गर्दै बाल्कानलाई ३–० ले अघि बढाए । त्यसपछि बाल्कान सामु थ्री–स्टार निहिर देखियो । ६४औँ मिनेटमा सन्दीप राईको गल्तीमा सेमोटोभले अर्काे गोल थप्दा बाल्कानले ४–० को अग्रता लियो । ७८औँ मिनेटमा गुर्बानीले पेनाल्टीमा गोल गर्दै बाल्कानको लागि पाँचौ गोल गरे । ८३औँ मिनेटमा थ्री–स्टारले एक गोल फर्काउने अवसर सदुपोग गर्न सकेन । वान भर्सेस वानको अवस्थानमा सन्तोष साहुखलको प्रहारलाई बाल्कानका गोलकिपरले क्लियर गरे । ८६औँ मिनेटमा चेन्कायेभले डिबक्सबाहिरबाट हानेको प्रहारलाई सिधै पोस्टमा छिर्दा बाल्कानले ६–० को अग्रता लियो । चेन्कायेभको प्रहारलाई थ्री–स्टारका गोलकिपर किरण चेमजोङले रोक्ने कुनै मौका नै पाएनन् । (सौस)

प्रतिक्रिया