बल्ल बन्यो कांग्रेसको संसदीय समिति

Nepali Congressकाठमाडौं, ८ असोज । चर्को विवाद झेलेपछि बल्ल कांग्रेस संसदीय समितिको टुंगो लागेको छ । सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाबीचको लामो रस्साकस्सीपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले समिति गठन गरेको हो ।

पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापतिको प्रस्ताव अनुमोदन गरी १४ सदस्सीय समिति बनाएको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए । ‘सभापतिज्यूले प्रस्ताव गर्नुभएका नामलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो,’ नेता गिरीले भने, ‘अब संविधानसभा चुनावका लागि उम्मेदवार छनोट सहज हुनेछ ।’
संसदीय समितिमा सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरु डा.रामशरण महत, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, सुजाता कोइराला र फरमुल्लाह मन्सुर चयन भएका छन् । पौडेल, सिंह, सिटौला, डा. महत, केसी, ढुंगाना, सुजाता र मन्सुर कोइरालानिकट तथा खड्का, यादव, निधि, श्रेष्ठ देउवानिकट मानिन्छन् ।
क्षेत्र र जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारका नामावलीलाई अध्ययन गरेर समितिले अन्तिम टुंगो लगाउनेछ । कांग्रेसको विधानमा पदाधिकारी र संसदीय दलको नेता समितिमा पदेन सदस्य रहने व्यवस्था छ । समितिले सिफारिस गर्ने उम्मेदवारलाई मनोनयन पत्र दिने अधिकार भने सभापति कोइरालालाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
‘२०७० मंसिरमा हुने संविधानसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट खडा गरिने उम्मेदवारलाई पार्टीको तर्फबाट दिने मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति सुशील कोइरालालाई अधिकार दिइएको कुरा सर्वसम्मतिले पारित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, बैठकले पूर्णबहादुर खड्कालाई सहमहामन्त्रीमा नियुक्त पनि गरेको छ ।
एकाएक समितिमा
कांग्रेस केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र सुजाता कोइराला संसदीय समितिका लागि सोमबार दिउँसो २ बजेसम्म सभापति कोइरालाको सूचीमै थिएनन् । अकस्मात् नेता केसी बेलुका कार्यसमिति बैठकमा हँसिलो मुद्रामा सहभागी भएका थिए । त्यत्ति मात्रै होइन, केसी कोइरालाको समूहबाट समिति सदस्य नै बन्न पुगे । केसीलाई समितिमा राख्न उपसभापति पौडेलको भूमिका रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यस्तै, समिति सदस्यमा सोमबार २ बजेसम्म सिफारिसमै नपरेकी सुजाताको नाम सभापति कोइरालाले बैठकमा प्रस्ताव गरेका थिए । त्यसअघि समितिमा कोइरालाले शशांक कोइरालाको नाम राखेका थिए । शशांकको नाम हटाएर सुजातालाई समितिमा राखिएको स्रोतको भनाइ छ ।
समिति सदस्यका लागि सिफारिसमै नपरेपछि नरहरि आर्चाय, प्रदीप गिरी, शेखर कोइराला, गगन थापा र दीपकुमार उपाध्यायले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । नेतृत्वले निर्णय लिँदा नेताहरूको मूल्यांकन गर्न नसकेको उनीहरूको गुनासो छ ।
‘चाकडी र दबाबका भरमा समितिमा सदस्यको प्रस्ताव भएको हो,’ नेताहरूले बैठकमा राखेको धारणाबारे जानकारी दिँदै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीभित्रको अन्तर्घात रोक्न नसके त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ ।’ उनीहरूले चुनावका लागि आचारसंहिता बनाउन र पार्टी एकताको सन्देश लैजान पनि सुझाव दिएका थिए ।

प्रतिक्रिया